धवलमा देबशमशेरको बिम्ब

नेपालगञ्ज- अमेरिकामा पढेर नेपालको पहिलो ‘कृषि इन्जिनियर’ बनेपछि कैलाशशमशेर राणाको सपना थियो– तराईका उर्वरभूमिमा कृषिक्रान्ति गर्ने । यसका लागि दुई छोरा सुमेरशमशेर र धवलशमशेर पनि कृषि मेलोमै लागून् भन्ने उनी चाहन्थे तर कैलाशले सोचेजस्तो भएन । जेठा सुमेर बुवाको बाटोमा हिँडे पनि धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीति मार्फत विकासमा कायापलट गर्ने योजना बनाए । औपचारिक रुपमा २०४९ सालमा राप्रपाको युवा संघमार्पmत राजनीतिक यात्रामा हिँडेका उनी साढे तीन दसकपछि फेरि महत्वपूर्ण पदमा पुगेका छन् । २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको मेयर बनेका उनी हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वा्चित भए ।
धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुन् । देवशमशेरका छोरा मसुरीशमशेर नेपालगन्ज आएपछि पश्चिम तराईमा राणा खानदानको बीउ रोपियो । मसुरीशमशेरमाथि आफ्नो पालामा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेको श्रेय जान्छ । मसुरीशमशेरका छोरा कैलाशशमशेरले पनि कृषिलाई प्राथमिकता दिए । १०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका एक हुन्– धवलशमशेर ।
पहिलोपटक २०५४ सालमा नेपालगन्जको मेयर बन्दा धवल ३२ वर्षका थिए । उनले नेपालगन्जमा विकास झल्किनेगरी केही उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक विकास, महेन्द्र पार्क (मिनीजू) निर्माणजस्ता थुपै काम गरे । आपूmले मेयरबापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अञ्चल अस्पतालमा प्रतीक्षालय निर्माण गरे । अहिले पनि उनले नेपालगन्जमा मुस्लिम विश्वविद्यालयको महत्वाकांक्षी सपना देखेका छन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भए । त्यही छविकै कारण धवल २० वर्षपछि पनि मेयरको कुर्सीमा बस्न सफल भएका हुन् ।

परिवारमा ‘राजा’
नेपालगन्ज सहरका ‘सदाबहार मेयर’ धवल परिवारभित्र ‘राजा’ भनेर सम्बोधन गरिन्छन् । पत्नी प्रतिमाका अनुसार धवल राजनीतिक चरित्रले भरिपूर्ण व्यक्ति हुन् । बिहे गरेको दुई वर्षमै उनी सक्रिय राजनीतिमा होमिए । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनैपर्ने स्वभावका कारण उनी राजनीतिमा पनि सफल भएका प्रतिमा बताउँछिन् । राजनीतिमा हात हालेको दुई वर्षमै (२०५१ सालमा) उनी संसदीय निर्वाचन लडे । सुरुमा असफलता हात लागे पनि २०५४ को स्थानीय निकाय निर्वाचनमा भने नेपालगन्जको मेयर बन्न सफल भए । ‘उहाँले राजनीतिमा लाग्दा जहाँ जुन जिम्मेवारी पाउनुभयो, त्यसलाई सफलतापूर्वक निर्वाह गर्नुभयो,’ पत्नी प्रतिमाले भनिन्, ‘सायद त्यही भएर हुनुपर्छ, यसपटक पनि ‘राजा’लाई सफलता मिलेको छ ।’
प्रतिमाको विचारमा धवलको सफलतामा सबैभन्दा बढी उनको आफ्नै राजनीतिक स्वभाव महत्वपूर्ण छ, त्यसमाथि परिवारले अनुकूल वातावरण निर्माण गरिदिँदा यात्रा सुगम भयो । ‘चुनावको बेलामात्र होइन, हरेक राजनीतिक गतिविधिमा परिवारले उहाँलाई ‘फिजिकल्ली र मेन्टल्ली’ सहयोग गरिरह्यो,’ उनले भनिन्, ‘त्यसैको परिणाम आज आएर फेरि देखिएको छ ।’

राजनीतिक स्वभाव
राणाको राजनीतिक यात्रामा महत्वपूर्ण सहयोगी रहेका राप्रपाका जिल्ला नेता ऋषिराज देवकोटा राणाको व्यक्तिगत व्यवहार र पारिवारिक वातावरण प्रेरणादायी रहेको बताउँछन् । उनी राणा खानदानको भए पनि व्यवहारमा भने त्यो झल्किँदैन । ‘उहाँको बेडरुममा पार्टीको जोसुकै कार्यकर्ता पनि सजिलै जानसक्छ, राणा खलकको कुनै संकेतसम्म देखिँदैन,’ उनी भन्छन्, ‘सरल, मिजासिलो र नम्र स्वभावले जोकसैलाई सजिलै आकर्षित गर्नसक्छ ।’
प्रतिस्पर्धी दलका नेता–कार्यकर्ता पनि उनको राजनीतिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्छन् । नेकपा एमाले उपमहानगर सचिव दत्तप्रसाद आचार्य धवललाई राजनीतिक रुपमा सफल व्यक्तित्व ठान्छन् । ‘उहाँले अहिलेसम्म गरेका राम्रा काम हेरेरै यसपटक नेपालगन्जबासीले फेरि मौका दिएका छन्,’ उनले भने, ‘यो उहाँको लागि अवसर र चुनौती दुवै हो ।’

लोकप्रिय ‘धवल ब्रान्ड’
स्वतन्त्र उम्मेदवारको रुपमा २०५१ को संसदीय निर्वाचन लड्दा धवलशमशेर राणाको चुनावचिन्ह थियो– तराजु । उनी चिह्नको विशेषताझैँ चुनाव जितेर जनतालाई न्याय र समानताको अनुभूति दिलाउन चाहन्थे तर परिणाम उनको पक्षमा आइदिएन ।
त्यो अवसर पाउन उनले तीन वर्ष कुर्नुप¥यो । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेका तर्पmबाट नेपालगन्जको मेयर निर्वा्चित भए । राजनीतिक खेल मैदानमा उनको यो पहिलो ‘इनिङ’ थियो, जुन अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आपूmलाई एउटा राजनीतिक ‘ब्रान्ड’को रुपमा स्थापित गरे । २० वर्षपछि नेपालगन्ज उपमहानगरमा धवलको पुनः प्रवेश भयो । नेपालगन्जका जनताले दल हैन, लोकप्रिय ब्रान्ड रोजे । उनी आबद्ध दल राप्रपा उपमहानगरका २३ मध्ये तीन वडामा सीमित हुँदा धवलले भने सानदार जित निकाले ।

भरोसाको मत
धवलले पाँच वर्ष अवधि (२०५४–२०५९)मा नेपालगन्जको अनुहार बदल्ने प्रयास मात्र गरेनन्, स्थानीय निकाय सञ्चालन विषयमा विद्यावारिधिसमेत गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो । जनतामा भरोसा भर्ने काम ग¥यो । ‘अहिलेको चुनावमा अरु उम्मेदवारभन्दा धवलले जित्यो भने नेपालगन्जको विकासमा केही गर्छ भन्ने विश्वास देखियो,’ नेपालगन्ज–१८ कारकाँदोका विजय अर्यालले भने, ‘उहाँले पनि मतदातामा यो विश्वास भर्न सक्नुभयो ।’
करिब एक लाख ५० हजार मानिस बसोबास गर्ने नेपालगन्ज उपमहानगरमा ६२ हजार चार सय मतदाता छन् । चुनावमा दलभन्दा व्यक्ति हेर्ने नेपालगन्जीयाको पुरानै विशेषता हो । यहाँका झण्डै ३० देखि ४० प्रतिशत मतदाता कुनै दलप्रति आबद्ध नभई मौन बस्ने गरेका अनुमान गरिन्छ । हरेक निर्वाचनमा यिनै मतदाताले उम्मेदवारको दल हैन, अनुहार हेर्ने गर्छन् । यस पटकको निर्वाचनमा पनि मौन मतदाता धवलतिर ढल्किए । कतिपय पार्टीकै प्रतिबद्ध सदस्यले पनि अनुहारलाई प्राथमिकता दिए । ‘पहिले त मौन मतदातामात्र यताउति ढल्किन्थे, यसपटक भने पार्टीकै बफादार साथीहरुले समेत ‘रुखभन्दा मुख’ हेरेको देखियो,’ कांग्रेसका एक जिल्ला नेताले भने, ‘नेपालगन्जको राजनीतिक संस्कारै गलत भइदियो, यसले चनावमार्पmत केही हदसम्म राम्रा नेता छाने पनि दललाई भने दीर्घकालसम्म नोक्सान गर्ने निश्चित छ ।’
राप्रपाले हिन्दू राज्यको नारा लगाइरहँदा यसपटक उनका लागि मुस्लिम भोट प्रतिकूल हुने ठानिएको थियो । धवलले भने सोही समुदायबाट अपेक्षाभन्दा बढी भोट ल्याए । दुईवटा वडामा त राप्रपाका मुस्लिम उम्मेदवारले चुनाव जिते । उनी आफैले पनि धर्म–सम्प्रदायभन्दा माथि उठेर चुनावी अभियान चलाए । ‘उहाँले आफ्नो पहिलो कार्यकालमा पनि कसैलाई काखापाखा गर्नुभएन, सबै समुदायको मन जित्नुभयो,’ देवकोटा भन्छन्, ‘अहिले जसले जे भने पनि उहाँप्रतिको पुरानै जनविश्वासले चुनावमा काम ग¥यो ।’

अब तराजुको भूमिका
सबैले भन्छन्– नेपालगन्जमा धवलशमशेर एक राजनीतिक ब्रान्ड हुन्, चुनाव लड्न उनका लागि आफ्नो नामै काफी छ । दुई दसकअघि स्थापित यस ब्रान्डलाई यस पटकको निर्वाचनले लोकप्रिय भएको प्रमाणित गरेको छ । यसले स्वयं धवललाई पनि उत्साही बनाएको छ । ‘ब्रान्ड ! यो त अरुले भन्ने कुरा हो,’ जित निश्चित भइरहँदा सोमबार साँझ उनले भने, ‘मचाहिँ अझ कसरी राम्रो गर्ने भन्नेमा छु ।’
मतदाता पनि धवलबाट दुई दसकअघिको भन्दा अझ परिस्कृत ‘धवल’को अपेक्षा गरिरहेका छन् । यसको लागि उनले विकासमात्र हैन, चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर ‘नगरपिता’को अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेछ ।

(नागरिक परिवारबाट साभार)

 

Published On: Time : 6:41:44  

तपाईको प्रतिक्रिया