बाँके जिल्लाको समग्र पत्रकारिता

— नमस्कार शाह —
— २०५७ सालको कुरा हो, म लगाएत मेरा साथीहरुमा पत्रकारिता गर्ने हुटहुटि भएका कारण स्थानीय पत्रपत्रिकाका कार्यालयमा हामी गईराख्थ्यौं । मेरा मित्र बालकृष्ण जोशी र म एक दिन एउटा स्थानीय पत्रिकाको कार्यालय गएका थियौं । पत्रिकाको फाईल फर्काउँदै हेरेर बसिरहेका थियौं । एकाएक पत्रिकाका हर्ताकर्ता पत्रकार आईपूगे र भने तिमीहरुले कसलाई सोधेर यहाँ भित्र आयौं झर्किदै भने —आउट । हामी नाजवाफ आउट भईदियौं ।

— २०५८ सालको कुरा हो, एक दिन म नेपालगञ्जबाट प्रकाशन हुने बागेश्वरी टाईम्स दैनिकको कार्यालयमा गएको थिएँ । पत्रिकामा कार्यरत पत्रकार दाई झलक गैरेले मलाई मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयले पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको भन्दै कार्यक्रममा सहभागि गराउन सँगै लगेर गए । पत्रकार सम्मेलनमा मेरो जीवनकै पहिलो सहभागिता थियो त्यो दिन । म आतुर थिएँ पत्रकार सम्मेलनका बारेमा जान्न, बुझ्नका लागि । कार्यक्रम शुरु नहुँदै एक जना अग्रज पत्रकार दाई भेट्एि । मैले उनलाई अभिबादन गर्न नपाउँदै उनले मुख अमिलो पारे र भने —तिमी पनि पत्रकार सम्मेलनमा रु जसको मैले जवाफ दिन सकिन । उनको सोधाईको तात्पर्य थियो —तिमी पनि पत्रकार बन्न थाल्यौ । आफ्नो भागनैं खोस्न थालेझैं रिस र भय उनको अनुहारमा देखिन्थ्यो । करिब डेढ घण्टाको पत्रकार सम्मेलनमा भएका कुराहरु मेरो मस्तिष्कमा घुसेनन्, मेरो मानसपटलमा खाली तिमी पनि पत्रकार सम्मेलनमा भनेर सोधिएको प्रश्न मात्रै खेलिराख्यो ।

— २०५९ साल तिरको कुरा हो, म नेपालगञ्जको एक दैनिक पत्रिकामा काम गर्थें । सिक्ने क्रममा थिएँ म त्यतिबेला । अन्य पत्रिकाहरुमा देखेको, हेरेको आधारमा मैले लिएको एउटा अन्तवार्ताको भूमिकामा मैले हाम्रा सहकर्मी ………..ले लिएको अन्तवार्ता यहाँ प्रस्तुत गरिएको भन्ने बाक्य लेखेको थिएँ । सम्पादको काम सम्पादन गर्ने हो, संसोधन गर्ने हो त्यो सम्पादकिय अधिकार पनि हो । तर म काम गर्ने पत्रिकाको सम्पादकले त मलाई खाउँला जस्तै गरे र भने मेरो साथी हो तिमी, सहकर्मी भनेर लेख्ने । म ट्वाल्ल परें ।

यी तीन वटा घटना मैले आफै भोगेका प्रतिनिधिमूलक घटना हुन् । यि घटनाहरुबाट थाहा पाउन सकिन्छ । आज भन्दा १५/१६ बर्ष पहिले बाँके जिल्लामा पत्रकारिता गर्न आउने नवआगन्तुकलाई प्रोत्साहन होईन, निरुत्साहित गरिन्थ्यो भनेर । सिमित संख्यामा रहेका पत्रकारहरु मध्ये केही बाहेक धेरै जसो पत्रकारहरु पत्रकारितामा थप व्यक्तिहरु नथपिउन्, आफूनैं सर्बेसर्बा भईराखौं भन्ठान्थें । तर अहिले अवस्था परिवर्तन भएको छ । पहिलेको जसो पत्रकारितामा नवआगन्तुकहरुको सँख्या उत्साहजनक छैन । तर आउन चाहनेहरुलाई प्रोत्साहित गर्ने र उत्प्रेरित गर्ने कार्य सबै तिरबाट हुन्छ । अग्रज पत्रकारले आगन्तुकलाई गर्ने व्यवहारमा परिवर्तन आयो तर पत्रकारिताको व्यवसायिकता, मर्यादामा परिवर्तन आउन सकिरहेको छैन ।प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, अग्रज पत्रकार पूर्णलाल चुके, हेमन्त कर्माचार्य लगाएतका अग्रज पत्रकारहरु अहिले पनि क्रियाशिल भईरहेको जिल्ला हो बाँके । त्यति मात्र नभई मन्त्री, प्रधानमन्त्रीको प्रेस सल्लाहकार, मूल धारका पत्रिका, अनलाईन, रेडियो, टेलिभिजनको मूख्य पदमा पूगेका दर्जनौं पत्रकारहरुले पत्रकारिता सुरुवात गरेको जिल्ला हो बाँके । यस जिल्लामा पत्रकारिताको समग्र बिकास हुँदै नभएको होईन भएको छ । दर्जन बढि रेडियो, दैनिक पत्रिका, त्यत्तिकै सँख्यामा साप्ताहिक, आधा दर्जन जति अनलाईन, २ वटा टेलिभिजन सञ्चालन हुनुलाई पत्रकारिताको सँख्यात्मक बिकासको रुपमा चाहिँ पक्कै पनि लिन सकिन्छ त्यति मात्र नभई मूल धारका कान्तिपुर, नागरिक पत्रिका यहि जिल्लाबाट प्रकाशन हुनु र अझैं २÷३ वटा राष्ट्रिय स्तरका पत्रिकाहरु प्रकाशनको तयारीमा हुनुलाई राम्रै रुपमा लिन सकिन्छ ।

मध्य र सुदुरपश्चिमको व्यापारिक केन्द्रबिन्दु हो— नेपालगञ्ज । जहाँ बिशिष्ठ, अति बिशिष्ठ व्यक्तिहरुको दिनहुँ आगमन भईरहने कारणले पनि यहाँका पत्रकारहरु बढि औपचारिक कार्यक्रममा व्यस्त हुनु पर्ने बाध्यता छ । राजधानीको जस्तो बिट पत्रकारिता मोफसलमा गर्न सजिलो छैन । तर बिट पत्रकारिताको अभ्यास बिभिन्न बिट सम्बद्ध सँगठनहरु स्थापना गरेर गरेको पाईन्छ । अन्य जिल्लाहरुको तुलनामा यहाँका पत्रकारहरुको कलम खोजी पत्रकारिताका लागि चल्ने गरेको, राष्ट्रिय स्तरका छापाहरुमा नेपालगञ्जले पाउने स्थानबाट यहाँको पत्रकारहरुको रिर्पोटिङ्ग र लेखन क्षमता प्रश्टै झल्किन्छ । त्यस्तै स्थानीय सञ्चार माध्यमहरुले पनि बिषयबस्तुको छनौटलाई अब्बल तरिकाले गरेको पाईन्छ । बाँकेबाट पत्रकारिताको क्यारियर शुरुवात गर्ने पत्रकारहरुलाई सम्बद्ध सञ्चार माध्यमले हेड डेस्कमा जिम्मेवारी दिनुलाई पनि सुखद बिषयकै रुपमा लिनु पर्दछ ।

पत्रकारिताको धर्म, व्यवसायिकता, निर्भिकता पालना गर्दै पत्रकारिताका आचारसंहिताको मातहतमा रहि पत्रकारिताको बिकास गर्न तर्फ यहाँका पत्रकारहरु अग्रसर छन् तथापि केही समस्याहरु बाँकेको पत्रकारितामा छन् । जसलाई निरुपण गर्ने कोशिस सबै तिरबाट हुन जरुरी
छ । पत्रकारितामा जहिले शुद्धिकरणको चर्चा चल्छ तर व्यवहारमा लागु हुँदैन यो बाँके जिल्लाको मात्र समस्या होईन सिँगो देशकै समस्या
हो । प्रजातन्त्रमा बिभिन्न सँघ, सँगठन स्थापना गर्न पाईन्छ, आबद्ध हुन पाईन्छ, यो नैसर्गिक अधिकार हो । पत्रकारहरु पनि बिभिन्न सँघ, सँगठनमा आवद्ध हुनेनैं भए तर सँघ, सँगठनका नाममा गैर पत्रकारहरुलाई पत्रकारको पगडि गुथाउनु हुँदैन । जुन कुरा पत्रकारितामा भईरहेको छ ।

नेपाल पत्रकार महासँघको सदस्यता लिन कुनै सँगठनको सदस्यता लिनु पर्ने बाध्यता छैन, तर व्यवहारतः पत्रकार महासँघको सदस्यता भागवण्डामा बाँडिने भएका कारण सदस्यता नपाएका पत्रकारहरुले कसै न कसैको सदस्यता लिनै पर्ने बाध्यता अन्य जिल्ला जस्तै बाँकेमा पनि छ, केही सक्रिय, क्रियाशिल पत्रकार बाहेक धेरै नयाँ सदस्यहरुले कुनै न कुनै सँगठनकै सिफारिसबाट सदस्यता पाउने गरेका  छन् । नेपाल पत्रकार महासँघ बाँकेमा रहेका सदस्यहरुको संख्या नयाँ सिफारिस सहित २४७ बढि छ । ४० को हाराहारिमा सदस्यता नपाएकाहरु छन् के ति सबै पत्रकारितामा सक्रिय छन् रु उत्तर खोज्ने हो भने धेरैले नाख खुम्च्याउनु पर्ने अवस्था छ । किनभने भागवण्डा गर्दा यहाँ धेरै गैर पत्रकारहरुले सदस्यता हत्याउने अवसर पाएका छन् । दिनभर व्यापार, व्यवसायमा सँलग्न हुने, दिनहुँ पार्टीको काममा दौडधुप गर्ने, पत्रकारितामा कुनै भूमिका नभएकाहरुले महासँघको सदस्यता पाएर जवरजस्त पत्रकार भएका छन् । पत्रकार, कलाकार, साहित्यकार कुनै पार्टीका हुंदैनन्, यि सबै कारहरु स्वतन्त्र हुन्छन्, सबैका साझा हुन्छन् मैले बुझेको कुरा यहि हो । तर खै आज सबै कारहरु कतै न कतै बिभक्त छन्, किन रु के कुनै दल निकट सँगठनको सदस्यता नलिएर कामै गर्न सकिदैन रु हो राजनीतिक परिपाटी भएका मुलुकमा राजनीतिक आस्था राख्न पाईन्छ, आस्थाका आधारमा मतदान गर्न पनि पाईन्छ, त्यो प्रजातान्त्र्रिक अधिकार पनि भयो । तर पेशा र व्यवसायमा राजनिती हाबि हुँदा उ कत्तिको स्वतन्त्र हुन सक्दछ रु यो बहसको बिषय हो । संख्यात्मक हिसावले करिव ३०० बढि पत्रकारहरुको फेहरिस्त बाँकेमा तयार भएपनि क्रियाशिल पत्रकारहरुको सँख्या असाध्यै कम छ । नाम चलेका धेरै जसो पत्रकारहरु पत्रकारिताकै क्रममा राजधानी गईसकेका छन् । नामका धेरै, कामका कम पत्रकार बाँकेमा भएकाले स्थानीय सञ्चार माध्यमहरुले काम गर्ने पत्रकारनैं पाउने गरेको छैन । काम गर्ने व्यवसायिक पत्रकारहरु नहुँदा धेरै पत्रपत्रिकाहरु बन्द भईसकेका छन् । स्थानीय सञ्चार माध्यम त्यसमा पनि छापा माध्यमका लागि आवश्यकता आह्वान गर्दा आवेदननैं नपर्ने अवस्था छ । जसका कारण १/२ जना जनशक्तिको संलग्नतामा स्थानीय पत्रिकाहरु प्रकाशन हुने गरेका छन् । अझ साप्ताहिक पत्रिकाको अवस्था त झन बिजोगपूर्ण छ । पछिल्लो समय दैनिक पत्रिका, अनलाईन, रेडियो र टेलिभजिनले साप्ताहिक पत्रिकाहरुलाई ओझेलमै पारिदिएको छ । साप्ताहिक तर्फ नवआगन्तुक पत्रकारको मात्रै होईन आम पाठकहरुकै आकर्षण कम छ । यसमा साप्ताहिक पत्रिकामा प्रकाशन हुने सामाग्रि, बिषयबस्तुपनि एउटा कारण हो । साप्ताहिक पत्रिका सम्पादकका भरमा प्रकाशन भईरहेको अवस्था छ । रेडियोहरु प्रायः मनोरञ्जन तर्फ बढि केन्द्रित छन् । रेडियो प्रस्तोताहरु पनि त्यहि मनोरञ्जन, साँगितिक कार्यक्रम तर्फ बढि आकर्षित छन् । सन्देशमूलक कार्यक्रम र समाचार तर्फको आकर्षण कम छ । उसो त स्थानीय सञ्चार माध्यमहरुले पारिश्रमिक न्यून दिनुका साथै नियमित नदिने गरेको गुनासो बेलाबखतमा सार्वजनिक हुने गरेका छन् । व्यवसायिक पत्रकारहरुको बर्चश्व स्थापित हुन नसक्दा पत्रकारिता गर्नेहरु सबैलाई एउटै डालोमा हालेर हेर्ने गरिन्छ ।

केही बर्ष अघि जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख भएर आएका एसपिले पत्रकार सम्मेलनमैं पत्रकारहरुलाई यसो चिया, सिया खुवाईदिएपछि उनीहरुले हामीलाई गोप्य सूचनाहरु पनि दिईहाल्छन् भनेर भने । यो भनाईलाई पत्रकार सम्मेलनमा सहभागि भएका पत्रकारहरुले आपत्ति त जनाए तर उनको भनाईमा केही सत्यता पनि छ भन्ने कुरा हामीले भुल्न नहुने कुरा हो । अर्को तर्फ पत्रकारिता नगर्नेहरु नेपाल बन्द लगाएतका कार्यक्रममा सवारी साधनहरुमा प्रेस लेखेर, पत्रकार महासँघले दिएका ज्याकेटहरु लगाएर उपद्रो गर्दछन्, त्यस्तालाई पनि अब तह लगाउन जरुरी छ । पत्रकारका नाममा महिनावारी उठाउने, धाक, धम्कि देखाई नाजायज फाईदा लिने, पत्रकारको पगडि भिँडेर बिभिन्न स्वार्थका लागि पत्रकार महासँघको सदस्यता भजाउनेहरु पनि छन् बाँकेमा । २ जना पुराना पत्रकार छन्, जो अहिले अभ्यासमा छैनन्, जसको नाममा दर्ता भएका पत्रिकाहरु प्रकाशन नभएकै बर्षौं भईसक्यो । तर उनीहरुले आफूलाई पत्रकार भन्न र पत्रकारका नाममा भजाउन छाडेका छैनन् । उनीहरुको दिनचर्या अरु भन्दा फरक छ । पत्रकारिता गर्दैनन् तर पत्रकारिता गरिरहेको भन्दै असुल्न भने छाड्दैनन् । कुनै सरकारी कार्यालयमा कार्यालय प्रमुख नयाँ आएको सुईंको पाउने बित्तिकै उनीहरु कार्यालय पूगिहाल्छन्, परिचय गर्छन्, २/३ दिन पछि पुनः जान्छन्, भुक्तानी माग्न । उनीहरुको पत्रिकानैं प्रकाशन हुँदैन, बिज्ञापन प्रकाशन गरेको बिल पेश गर्दछन् । पत्रिका माग्दा पहिलेको प्रमुखलाई दिएको भन्दै, दिनहुँ धाउँदै अलि, अलि रकम झारेरै छाड्छन् । यस्ता अनेक गलत प्रबृत्तिका कारण पत्रकारहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्ने गरेको छ । पत्रकार आचारसंहिताको उलँघन पत्रकारहरुबाट भईरहेकोछ, तर पिडित भएको भनिएकाहरु कानुनी बाटो अवलम्बन गर्दैनन् । आफ्ना बिरुद्ध समाचार छापिए चित्त नबुझे खण्डन गर्ने र सो पनि नभए कानुनी उपचार खोज्दै प्रेश काउन्सिल, जिल्ला प्रशासन, अदालत जाने गरेका घटनाहरु बाँकेमा एकदमै बिरलै छन् । धेरै पत्रकारहरु पत्रकारिता आचारसंहिताका बारेमा जानकार छैनन् । जानकार भएकाहरु पनि आचारसंहिता पालना तर्फ सचेत छैनन् । आचारसंहिता उलँघन गर्नेहरु बिरुद्ध कार्वाही गर्न, गराउन तर्फ अग्रसरताको अभाब छ ।

पत्रिकाले ठुलो शिर्षकमा समाचार दिन्छ, समाचारसँग जोडिएकाहरु सो को बिरोध गर्न तम्सिन्छन् तर खण्डन गर्दैनन् न त कुनै कानुनी प्रक्रिया अवलम्बन गर्दछन् । कतिपय सचेत पाठक तथा समाचारका पिडितहरुले खण्डनको बाटो अबलम्बन गर्दा सास्ति भोग्नु परेको अवस्था पनि छ, जुन पत्रिकामा समाचार प्रकाशन भयो, चित्त नबुझे सप्रमाण तर्कबद्ध ढँगले सोही पत्रिकामा खण्डन दिनु पर्दछ र सो खण्डन प्रकाशन गरिनु पर्दछ, यो पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिता भित्रको कुरा हो तर कतिपय पत्रिकाहरुले त्यस्ता खण्डनहरुलाई स्थान नदिएको पाईन्छ । यसरी खण्डन सम्बन्धित पत्रिकामा प्रकाशन नभएपछि पिडितहरु अन्य पत्रपत्रिका गुहार्ने गरेको पाईन्छ तर अन्य पत्रिकाहरुले अर्को पत्रिकाको खण्डनको रुपमा नभनि खण्डनलाई बिज्ञापनको रुप दिई प्रेश बिज्ञप्तीका नाममा प्रकाशन गरेको पाईन्छ । जसबाट पिडीत थप आर्थिक रुपमा पिडीत भएको पाईन्छ भने पत्रपत्रिकाका बिचमा मनमुटाबको बाताबरण पनि सृजना गरिदिन्छ । यो राम्रो संस्कार होईन ।  गैर पत्रकारहरुले पत्रकारिताको पगडी गुथ्ने, केही पत्रकारहरुले महिनावारी संकलन गर्ने कारणले राम्रा पत्रकारहरु र पत्रकारिता जगतनैं बदनाम हुने गरेको अवस्था मध्यपश्चिममा छ ।

यो लेखको उद्धेश्य बाँकेको पत्रकारिताका नकारात्मक पक्षको उजागर गर्ने होईन, पत्रकारिताको बास्तबिक अवस्था उजागर गर्ने, समस्या र चुनौतीहरुको चर्चा गर्ने उद्धेश्य हो यो लेखको । माथि उल्लेखित समस्या, चुनौतीका अलवा अन्य समस्याहरुबाट पनि जकडिएको छ बाँकेको पत्रकारिता । पढेलेखेका, व्यवसायिक पत्रकारहरुको कमि, पत्रकारिता भन्दा पार्टीगत राजनीति गर्ने पत्रकारहरुको बिगबिगि, अस्वस्थ प्रतिष्पर्धा, पत्रकारिता बिषयको तालिमको अभावबाट सिँगो मुलुकको पत्रकारिता जकडिएकोछ । एउटाले लेखेको समाचार मन मिल्ने पत्रकारहरु सबैका लागि काम लाग्ने, रेडियोमा बजेको समाचार हुवहु पत्रिकामा प्रकाशन हुने, पत्रिकामा प्रकाशन भएको कुनै समाचार हुवहु रेडियोमा प्रशारण हुने अवस्थाले पत्रकारहरुलाई अल्छि बनाएको छ । औपचारिक पत्रकारिताले खोजी पत्रकारिता फस्टाउन सकिरहेको छैन । अर्को डर लाग्दो अवस्था भनेको समाचार र बिज्ञापनलाई छुट्याउन नसकिने अवस्था हो । अहिले पत्रिकाहरुले बिज्ञापनलाई समाचार, समाचारलाई बिज्ञापन बनाईरहेका छन् । यो पक्षसँग आर्थिक कुरा जोडिएको छ । अर्को तर्फ प्रायोजित समाचार तथा अन्य सामाग्रिहरु बढि प्रकाशन हुन थालेका छन् । यसबाट हाम्रो पत्रकारिता कता तिर जाँदैछ भन्ने भय सृजना हुन थालेको छ । केही पत्रकारहरुले गर्दा समाचार प्रकाशन गर्न पत्रकारलाई पैंशा दिनु पर्दछ भन्ने सन्देश प्रबाह गरिरहेका छन् । कतै यहि कारणले धेरै बिषयहरु ओझेलमा त परेका छैनन् भन्ने बिषय पनि उठ्न थालेको छ । त्यसैगरि ठूला होटेल, रेष्टुँरामा भएका कार्यक्रम, भत्ता जस्ता सेवा, सुविधा प्राप्त हुने कार्यक्रम तथा अभियानहरुमा मात्र पत्रकार सहभागि हुने गरेको आरोप पनि लाग्दै आएको छ । अर्को तर्फ मिसन पत्रकारिता संकटपूर्ण छ । कुनै एक पत्रकारले कुनै पक्षको सुधारका लागि समाचार लेख्यो भने अर्को पत्रकार त्यहि पक्षसँग चाकडि गर्दै मोलमोलाई गरेर सकारात्मक प्रायोजित समाचार प्रकाशन गरिदिन्छ । एउटा पत्रिकाले कुनै निकाय भित्र भ्रष्टाचार भएको उल्लेख गर्दै उच्च प्राथमिकताका साथ समाचार प्रकाशन गर्दछ अर्को दिन अर्को पत्रिका त्यहि निकायले असल कार्य गरेको भन्दै समाचार, अन्तवार्ता छाप्छ । अनि कसरी, कुन पत्रिकालाई आमपाठकलाई पत्याउने ?, अनि कसरी पत्रकारितालाई हेर्ने नजरिया सकारात्मक बन्न सक्छ रु व्यापारीले व्यापार गरि नाफा कमाउनेनैं हो, चिकित्सकले बिरामीको उपचार गर्नेनैं हो, पत्रकारले देखेको कुरा उजागर गर्नेनैं हो तर यहाँ पत्रकारले एउटा समाचार लेख्यो, त्यसको फ्लोअप समाचार लेख्यो भने, किन फलानो पत्रकार, फलानोको पछि लागेको छ रु, के कुरा मिलेर भन्ने खालको अफवाह फैलाईन्छ । यस्ता कुराहरुको प्रबद्र्धन स्वयं पत्रकारहरु भित्रैबाट हुन्छ ।

सबै भन्दा कम एकता हुने क्षेत्र पत्रकारिता हो, पत्रकार माथि हुने आक्रमण, धम्कि जस्ता कुरामा एकता हुन्छ तर समग्र पत्रकारिताको मूल्य, मान्यता, अवधारणाका बारेमा एकता हुँदैन, न त आचारसंहिता, कुनै समाचार, बिषयबस्तु आदिका बिषयमा छलफलनैं घनिभुत रुपमा  हुन्छ । पछिल्लो समय रिस, राग, द्धेश पालेर पत्रकारिता गर्ने र पत्रकारिताका माध्यमबाट रिसईबि साँध्ने प्रचलन भने कम छ ।    पत्रकारहरुको न्यूनतम पारिश्रमिकको कुरा उत्पात तरिकाले उठ्छ, उठिरहेको छ । तर व्यवहारमा लागु छैन । यो पत्रकारिता व्यवसायिक हुन नसक्नुको एक प्रमुख कारण हो । यस बिषयमा सञ्चार माध्यमका मालिकहरु आफू पैंशा कमाउने र पत्रकारहरुलाई न्यून पारिश्रमिकमा काम गराउने ध्याउन्नमैं केन्द्रित भएको पाईन्छ भने पत्रकारहरु पनि पत्रकारितामा भबिष्य छैन, कमाई छैन भन्दै ह्वस मानसिकतामा काम गरिरहेको पाईन्छ । यसमा दुबै पक्षको त्यत्तिकै दोष छ । भबिष्य छैन पनि भन्ने पत्रकारिता पनि नछाड्ने कुरा आफैमा बिरोधाभासपूर्ण कुरा हो । पत्रकारिता गर्ने व्यक्ति पत्रकार हो जब उ पत्रकारितामा रहँदैन, पत्रकारिताको अभ्यास गर्दैन, स्वतः उ पत्रकार रहँदैन, पत्रकार
कहलिदैन । तर यहाँ त कुनै एक पटक पत्रकारिता गरेको व्यक्ति आजिबन पत्रकार भनि टोपलिन्छन् । अन्तमा पत्रकारिताका नाममा तडक, भडक गर्ने पत्रकारहरुको बिग, बिगिका कारण मर्यादित पत्रकारिता औपचारिकतामा मात्र सिमित छ । तर पत्रकारिताको पुरानो धँग–धँगि घट्दै गएकोछ । नयाँ क्षमतावान पुस्तामा पत्रकारिता पुस्तान्तरण हुँदैछ, सञ्चार माध्यमहरुको बढोत्तरीसँगै आधुनिकता र अबसर तर्फ पत्रकारिता अग्रसित हुँदैछ । यि बिभिन्न सम्भावनाहरुले खतरा र समस्यालाई बिस्तारै ओझेल पार्ने निश्चित छ ।

 —प्रेस काउन्सिलको प्रकाशन संहिता जर्नलबाट

 

Published On: Time : 14:12:08  

तपाईको प्रतिक्रिया