जन्मदाता बृद्धाश्रममा, सन्तान महलमा

  • दिला शाह

शारदा नगरपालिका वडानम्बर १५ माल्नेटा सल्यानमा रहनुभएका मेरो बुवा मान बहादुर शाह र मुवा देवा शाहको नाममा परोपकारी कार्य गर्ने उद्धेश्यले ‘मानदेवा’ परोपकारी अक्षयकोष मेरो पहलमा स्थापना भएको हो । २ लाख ५० हजारको यो अक्षयकोषलाई बिस्तारै बढाएर लैजाने हाम्रो सोच छ ।

शारदा नगरपालिका वडानम्बर १५ माल्नेटा सल्यानमा रहनुभएका मेरो बुवा मान बहादुर शाह र मुवा देवा शाहको नाममा परोपकारी कार्य गर्ने उद्धेश्यले ‘मानदेवा’ परोपकारी अक्षयकोष मेरो पहलमा स्थापना भएको हो । २ लाख ५० हजारको यो अक्षयकोषलाई बिस्तारै बढाएर लैजाने हाम्रो सोच छ ।

बुवा आमाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई हामी सन्तानहरुले कहिल्यै पनि भुल्नु हुँदैन । बुवा आमालाई मरणोपरान्त होईन यहि संसारमा हुँदानै सम्मान गर्नु पर्छ भन्ने सोचका साथ उहाँ प्रति गरिएको यो एउटा सम्मान हो । हाम्रो समाजमा जातियताको नाममा सम्पन्नता र विपन्नता छुट्याईन्छ । कुनै व्यक्ति भनिने उच्च जातीमा जन्मदैमा सम्पन्न हुन्छ भन्ने सोचाई गलत हो । राजधानीमा बस्ने ठकुरीहरु सम्पन्न छन्, थिए भन्दैमा सबै सम्पन्न हुन्छन् भन्ने छैन ।

दुरदराजका गाउँहरुमा अत्यन्तै दयनिय अवस्थामा जीवनयापन गर्ने ठकुरीहरु पनि छन् । जहाँ साँझ बिहान हातमुख जोड्न र सन्तानको शिक्षा दिक्षाका लागि अत्यन्तै संघर्षका दिनहरु बिताउन बाध्य धेरै छन् । त्यस्तै सम्पन्न जातिको गरिव परिवारबाट कठिन परिस्थीतिमा हुर्केको समाजको एक पात्र म पनि हुँ । साझ बिहान घाँस दाउरा गरेर भएपनि दिउसो स्कुल पढ्न पाउनु मेरा लागि खुसिको कुरा थियो । आफु नपढेको भएपनि हामी सातै जना सन्तानलाई बिद्यालय पढाउनु बुवा मुवाको महानता थियो । १० कक्षा सम्म त गाउँकै बिद्यालयमा दुःख, सुख गरेर पढियो तर एसएलसी पछिको उच्च शिक्षा हासिल गर्ने मेरो रहरमा त्यहि गरिवीनै तगारो बनेको थियो । संगै पढेका साथीहरु क्याम्पस भर्ना भए शहर गए तर मैले पढ्न पाईन, कारण थियो त्यही पैंसा ! अभाब थियो त्यहि पैँसाको ! कारण जान्दा जान्दै करकाप गरेर बुवालाई दुःखी गराउन चाहिन तर आफुले पढ्न नपाउनुको पीडाले मनभरी घाउ बनेर चहराइरहन्थ्यो, दुःखिरहन्थ्यो । ती दिनहरुमा म धेरै भाबुक भए । जीवन र अभावलाई अझ नजिकबाट नियालें । यसरी १ बर्ष बित्यो फेरी पनि कलेज भर्नाको समय आउन थाले पछि बुवासँग रुदै अनुरोध गरें —मलाई ऋण काडेर भएपनि कलेज भर्ना हुने पैसा दिनुस् म हजुरको ऋण तिर्ने छु थाहा थिएन खै कसरी ऋण तिरुला भनेर तर इच्छाशक्ति भयो भने सबै कुरा सम्भब हँदोरहेछ ।

म कलेज भर्ना भएँ मेहनत र लगनका साथ पढेर म कलेज टप भए साथै बेस्ट स्टुडेन्टको उपाधी स्वरुप ५ हजार ६००  रुपैया पुरस्कार पाए । त्यो नै मेरो जीवनको सबैभन्दा महत्वपुर्ण उपहार थियो । मेरो बुवाले मेरो इच्छा पूरा गर्नलाई पुष माघको चिसो सिरेटाहरुमा आफ्ना हातहरु बजार्दै पसिना बगाएर कमाएर दिएको अमुल्य पैंशाको ऋण तिर्न सफल भए सायद उहाँहरुले हामी प्रति गरेको गुणको ऋण तिर्न त कहिल्यै सकिदैन ।  छोरीलाई असल संस्कार र शिक्षा, दिक्षा दिनु अनि बिहेदान गर्दिनु एक कर्तव्यवान पिताको धर्म हो । आफ्नो धर्म पुरा गर्नलाई बुवा आफैले रोजेको केटासंग बिवाह गर्नु छोरीको कर्तव्य हुन आउँथ्यो ।

छोरी भएकै कारण आफ्नो बुवा मुवा र जन्मघरलाई छोडेर पराई घर जानुपर्ने पीडाले मन दुःखिरहन्थ्यो तर पनि एक असल कर्मशील आफ्नो जस्तै परिवारिक पृष्ठभूमीबाट हुर्केको जीवन साथी  जसले हरपल साथ, सम्मान, माया र हौसला दिएर जीवनलाई अर्थपुर्ण तरिकाले जिउन सिकाए । हिजोका अभावका ती दिनहरुको सम्झना आउँदा अहिले पनि भावुक हुन्छौं ।  बिवाह पश्चातका दिनहरुमा पनि धेरै नै संघर्ष गर्नुपर्यो । जिम्मेवारी थपिदै गए एक छोरीबाट श्रीमती, बुहारी, आमा भएर गर्नुपर्ने भुमिकाले झनै जिम्मेवारी बनाउदै जाँदोरहेछ ।

दिनहरु बितीनै रहे तर पनि बुवा—मुवाले आफ्नो लागि गरेको कठिन मेहनलाई भुल्न सक्दिनथे । उहाँहरुको सम्मानमा केही गरुँ जस्तो लागिरहन्थ्यो । सल्यान देखि २०६० सालमा नेपालगञ्जमा बसाइसराई गरेर आए पछि यहाँ बागेश्वरी मन्दिर परिसरमा माग्दै हिडेका बालबालिका र बृद्धबृद्धालाई देख्दा मन पोल्थ्यो । सोच्थें अभाव र गरिव त गाउँमा मात्र हुन्छ होला । तर सहरमा त झनै हुँदोरहेछ । लागेको थियो कुनै दिन बुवा मुवाको नाममा परोपकारी अक्षकोष खोलेर अभावमा बाँचिरहेका अति विपन्न बालबालिका र असायहरुलाई सेवा गर्न सकुँ ।

धेरै पछि भएपनि आफ्नो प्यारोे सपनालाई पुरा गर्न सफल भएको छुँ  । मैले जस्तै सयौ जनाले सोचेपछि अभावमा बाँचिरहेका तर केही गर्न चाहाने व्यक्तिहरुलाई सहयोग पुग्थ्यो यो संसारमा पैसाले कसलाई पो पुगेको छ र ? धन भएर पनि मन भएन भने त्यो धन के गर्नु । गलत गरेर अरुलाई ठगेर लुटेर धन कमाउनु पाप हो । मेहनत गरौं, राज्यलाई कर तिरौं, राष्ट्र पनि सम्पन्न बन्छ ।

आफ्नै देशमा उद्योग धन्दा ब्यवसाय गर्ने अवसर मिलेमा देशको मुल जनशक्तिहरु बिदेश पलायन हुनुपर्ने थिएन । बाहिर सम्पन्न राष्ट्रहरुमा आफ्नो काम र ब्यवसायको ५० प्रतिशत कर राज्यलाई तिर्छन् र पो राज्य धनी बन्छ । सन्तानलाई सहि शिक्षा र अधिकार दिनुपर्छ तर पुस्तौ पुस्ता सम्मको लागि सम्पती संगालेर राखिदिनु गलत हो । गलत गरेर संगालेको धनसम्पतीले मान्छेलाई खुशी मिल्दैन । एकदिन मरिजाने जीवनमा पनि भ्रष्टाचार गर्दै अपराधहरु गरिरहेको देख्दा दुःख लाग्छ । भगवानले सबैभन्दा राम्रो रचना गरेर हामीलाई बनाउनुभयो । हामीनै स्वार्थी बन्दै गईरहेको छौ ।

हामीलाई जन्म दिने भगवानलाई बृद्धाश्रममा छोडेर महलमा कसरी बस्न सक्छौ हामी ? बुढेसकालमा आमाबुवाको सहारा सन्तान भएनौं भने हाम्रा सन्तानले पनि हामीलाई त्यसरी नै लत्याउने छन् ।  मलाई गर्व लाग्छ मेरो बुवा बुवासंग प्रसस्त धन नभए पनि ठुलो मन थियो । र  हामीलाई सक्षम बनाउनुभयो । सबै सन्तानहरु सहि बाटोमा छौं । हिजोको दुःखका दिनहरुलाई भुल्न सक्ने सुख प्राप्त भएको छ । संसारका सबै मनोरन्जन ठाउँ र धाम उद्यानहरु घुमाएका छौँ सबैले माया र सम्मान गर्छौं । बुवा मुवाको लागि सबै भन्दा ठुलो सुख सन्तान सुख पनि हो । सबै जनाले असल कामको लागि आफ्नो कमाईको थोरै अंश समाज सेवामा लगाउनु पर्दछ ।

समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्दछ । थोपा थोपा मिलेर सागर बन्छ मेरो एक थोपामा मेरो जस्तै मन भएका हजारौ दाताहरुको सहयोग चाहन्छु । आशा छ भोलीका दिनहरुमा यो सानो कोषलाई वृहत बनाउने छौं र असहाय अति विपन्न समुदायलाई सहयोग गर्नेेछौं । मेरो आशा र सपनालाई पुरा गर्न सहयोग गर्ने सुनौलो माध्यम बनेको संस्था बास र बासका सम्पुर्ण कर्मशील युवा साथीहरुलाई विशेष धन्यवाद दिदै हमेशा समाजका गलत कर्महरुलाई चिरफार गर्दै सत्यकामको सम्मानमा लागि रहन शुभकामना दिदै हरपल सहयोगको अपेक्षा गर्दछु ।

(शाह मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक हुन् । अक्षय कोषको व्यवस्थापन बासले गरिरहेकोछ—सम्पादक)

Published On: Time : 12:27:39  

तपाईको प्रतिक्रिया