खेलकुद गतिविधि स्थगित गर्न राखेपको निर्देशन


काठमाडौं — राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को जोखिमबाट बच्न राखेपले मंगलबार एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।
कोरोना भाईरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।
यस्तै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरू, खेलसँग सम्वन्धित ब्यक्तिहरू र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।
यस अघि पनि राखेपले एक सूचना निकाल्दै सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । त्यससमय चलिरहेको प्रतियोगिताको हकमा भने बाध्यकारी रहेको थियो । तर, मंगलबार भने चलिरहेको प्रतियोगिता समेत रोक्न राखेपले निर्देशन दिएको छ । राखेपको यस निर्देशनसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको ‘बी’ डिभिजन लिग रोकिने सम्भावना बढेको छ ।

Published On: Time : 6:30:26  

तपाईको प्रतिक्रिया