सञ्चारकर्मीहरू र रौतहटबासीलाई निःशुल्क दन्त सेवा


काठमाडौं–तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरू र रौतहटबासीलाई शुक्रबारबाट निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ ।
ओम डेन्टल समाज होमका डाक्टरहरूको सहयोगमा सञ्चारकर्मीहरूलाई उक्त सेवा प्रदान गर्न सञ्चार केन्द्र नेपालले दन्त सेवा कार्यको सुरुवात गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले दन्त सेवा परीक्षण स्टलको उद्घाटन गर्दै कोरोना भाइरस (कोभिड १९)को संन्त्रासका बीच पनि समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरूलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताए ।
मुखको सफाईले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै नेता नेपालले सञ्चारकर्मीहरूलाई ध्यानमा राखेर उपचार कार्यक्रमको आयोजना गर्नु उपयुक्त समयमा महत्वपूर्ण कार्य भएको बताए ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल कम संक्रमित भएको देशका रूपमा रहनु सुखद भएको बताउँदै भावी दिनमा समेत संकट टार्नको लागि सबैले सचेतना अपनाउन आग्रह गरे ।
अहिलेको अवस्थामा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको नेता नेपालको भनाई थियो ।
कार्यक्रममा ओम डेन्टल समाज होमका डाक्टर सुवास घिमिरेले केही गरौँ भन्ने भावनाका साथ आफूहरूले निशुल्क रूपमा यो सेवा प्रदान गरेको बताए । आफूहरूले विगतमा पनि मुलुक संकटमा पर्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जानकारी गराउँदै सञ्चार केन्द्र नेपालस“गको सम्झौता गरेअनुरूप उपत्यकाका सबै सञ्चारकर्मीहरूको निःशुल्क दन्त परीक्षण र उपचार गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रमुख अतिथि नेपालसहित वरिष्ठ पत्रकारहरू पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर प्रसाद दवाडी, सागर पण्डित, विएन दाहाल, टंक पन्तसहित दुई दर्जन पत्रकारहरूले दाँतको उपचार गराएका थिए । सो क्रममा बोल्दै डा. घिमिरेले मानव स्वास्थ्यका लागि दाँत सफाई महत्वपूर्ण हुने भन्दै सफाईका तरिकासमेत बताए ।
कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाचार संकलनमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू र रौतहटबासीहरूसमेत लाभान्वित हुने गरी कार्यक्रम राखिएको बताए । उपत्यकामा खटिने सम्पूर्ण सञ्चारकर्मीहरूलाई यो सेवा लिनका लागि विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा सबैलाई आमन्त्रण गर्दै चौलागाईंले भने, ‘लकडाउनका बीचमा दाँतको दुखाईमा पर्नु भई हिँड्डुल गर्न नसक्ने सञ्चारकर्मीहरूको घर घरमै डाक्टरसहितको टिम नै परिचालन उपचार गर्न सकिने व्यवस्था मिलाएका छौँ, समस्या परे खबर गर्नुहोला ।’

Published On: Time : 7:24:33  

तपाईको प्रतिक्रिया