आन्तरिक पर्यटनलाई बढावा दिने प्याकेज ल्याउनुपर्छ


राजेन्द्र कुँवर । नेपाल कै पर्यटकीय केन्द्र ठमेलमा विगत २२ वर्षदेखि पर्यटनसँग सम्बन्धित रहँदै आएका व्यवसायी । नेपाल भित्रने हरेक पर्यटकहरूले एकपटक पाइलो हाल्ने ठमेलमा विगत १८ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै ट्राभल एजेन्सीमार्फत समेत पर्यटकको सहायतामा जोडिँदै आएका कुँवर पछिल्ला दिनमा सामाजिक सेवाको अभियानमा जोडिएका छन् । उनले हालै मात्र पश्चिम ठमेल पर्यटन परिषद् गठनपछि सहकोषाध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । सरकारद्वारा कोरोना नियन्त्रणका लागि घोषित गरेको आज ५३औँ दिनसम्म लगाताररूपमा सामाजिक कार्यमा खटिएका कुँवरले आफूले सकेसम्म गरिव एवं मजदुरी गर्ने वर्गको हितमा लागि रहने प्रण गरे । लकडाउनका कारण आफूलगायत सम्पूर्ण व्यवसायीलाई परेको आर्थिक संकटमा सरकारले सम्बोधन गर्ने माग गर्दै, समयमा कर तिर्दै आएको भन्दै अप्ठेरो अवस्थामा सरकारले व्यवसायीको मागमा सम्बोधन गर्नुपर्ने उनले बताए । प्रस्तुत छ, उनीसँग व्यवसाय र हालको परिवेशका सम्बन्धमा रहेर प्रभाव दैनिकका लागि गरिएको कुराकानीको सारसंक्षेपः

हाल विश्वमा फैलिएको कोभिड–१९ को महामारीले पर्यटन खास गरी होटेल व्यवसायलाई कस्तो असर पुगेको छ ?
— कोरोना भाइरसको असर सबै उद्योग र ब्यवसायलाई परेको छ सबैभन्दा ठूलो नकारात्मक असर पर्यटन व्यवसायको होटेल व्यवसाय धरासायी अवस्थामा पुगेको छ । यो व्यवसाय शुद्ध सेवामूलक पर्यटक तथा यात्रीलाई आवास, खानपान, मनोरन्जन गराउने हो । महामारीको नियन्त्रणका लागि बाह्य तथा आन्तरिक उडान, यातायात, आवातजावतमाथि पूर्णप्रतिबन्ध लागेको अवस्थामा होटेल व्यवसाय चल्न सक्ने प्रश्नै आउँदैन । एकातर्फ होटेलको आम्दानी शून्य छ भने अर्कोतर्फ कर्मचारी व्यवस्थापन र उनीहरूको रोजगारीको सुनिश्चितता, घर तथा व्यवसाय सञ्चालन भाडा, बैंकको किस्ता र ब्याज, बत्ती, पानी आदिको शुल्क समायोजना गर्न अति कठिन छ ।

कोभिड–१९को असरले थला परेको होटेल ब्यवसायलाई उकास्न सम्बन्धित निकाय जस्तै पर्यटन विभाग, मन्त्रालयले कस्तो किसिमको भूमिका निर्वाह गर्नुपर्छ ?
– होटेल व्यवसाय आफै धेरै रोजगारी दिने धेरै राजश्व उठ्ने ब्यवसाय हो । यसलाई टिकाई राख्न सरकारले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ जुन अहिले सबै होटेल ब्यबसायी यसको अपेक्षा गर्दछन् । अहिलेको यस बिषम परिस्थिती र यसले पार्ने दीर्घकालीन असरलाई ध्यानमा राखी बैंकको ब्याज तथा सावाँमा छुट, घर भाडा छुट र कर्मचारीलाई तलब सुबिधाको समायोजन आदी तुरुन्तै गर्न आवश्यक छ नत्र धेरै ब्यबसायी पलायन हुने परिस्थिती आउने सम्भावना देखिन्छ । कतिपय घर तथा जग्गा धनीहरूको आयआर्जनको श्रोत नै घर भाडा हुनसक्छ । तर, कतिपयलाई केही समयका लागी भाडा छुट दि“दा पनि असर नपर्ने किसिमका छन् । ती सबैको उचित पहिचान गरी सरकारी स्तरबाटै आग्रह नभै कडा निर्देशन दिइनु जरुरी छ । त्यसैगरी होटेलमा आश्रित मजदुरहरूलाई बिषम परिस्थितीको अवधी भर १२ प्रतिशत तलब सुबिधा दिने होटेल एसोसिएसन नेपालको निर्णय लागु हुनुपर्दछ । बिनियोजित १२ प्रतिशत अपुग भएमा सरकारी स्तरबाटै उनीहरूको समस्या समाधान गरिनुपर्दछ ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्न कस्ता तयारीहरू गर्नुपर्दछ र यसमा देखिने चुनौतीहरू कसरी समाधान गर्न सकिन्छ ?
— नेपाल मध्यम तथा निम्न आय आर्जित बर्गका पर्यटकहरूको गन्तब्यको रूपमा चिनिन्छ । कोभिड–१९ को असर दीर्घकाल लम्बिने हु“दा ती बर्गका मानिसहरूको रोजगारी गुम्ने, आस्रित ब्यबसाय अनुकुल नहुने र कोरोना भाईरस ब्यक्तिब्यक्तिको संक्रमणको डर आदी कारणले वाह्य पर्यटकको आगमन प्रायः अनिश्चित छ । एक अध्ययन अनुसार नेपाल आउने वाह्य पर्यटक भन्दा नेपालबाट वाह्य मुलुकमा जाने पर्यटक बढी छन् र खर्च पनि । नेपालभित्रै नयाँ–नयाँ गन्तब्यको पर्याप्त प्रचार–प्रसार गर्ने । सरकारी, अर्धसरकारी, गैह्र सरकारी निकायका कर्मचारीहरूलाई नेपालभित्र कै ठाउँहरूमा जान प्रोत्साहित गर्नु पर्दछ । ‘जाउँ है पोखरा’, जाउँ है चितवन’, जस्तै ‘जाउँ है खुम्बु,’ ‘जाउँ है डोल्पा’ जस्ता अभियन चलाउन जरुरी छ । नेपालका पर्यटकीयस्थलका रूपमा चितवन र पोखरालाई मात्र परिभाषित गर्नुभन्दा नयाँ नयाँ गन्तव्यको पहिचान गरी ती ठाउँहरूप्रति पर्यटकलाई आकर्षित गराउनेतर्फ ध्यान दिनु जरुरी हुन्छ ।

पर्यटन प्रवद्र्धनमा लकडाउनपछि व्यवसायी र सरकारको तयारी कस्तो हुनुपर्छ ?
— पहिलो कुरा सरकारले व्यवसायीलाई व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाबाट मुक्त गराउनुपर्दछ । सरकारले कुनै व्यवसायीको समस्यालाई सम्बोधन नगर्ने हो भने व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ । सरकारले कुनै न कुनै माध्यमबाट व्यवसायीलाई राहत एवं व्यवसायीको समस्यामा साथ दिने प्रयास गर्नुपर्छ । साथै, नयाँ नयाँ पर्यटकीय स्थलको पहिचान गरी त्यस स्थानहरूको प्रवद्र्धन गर्नुका साथै व्यवसायीले पनि नाफामुखी मात्र नभएर पर्यटकलाई भरिपूर्ण मनोरञ्जनका साथै पूर्ण सन्तुष्टि दिलाउने प्याकेज बनाउनु पर्दछ । अब विश्वनै कोरोनाका कारण समस्यामा परेको हुनाले नेपाल भ्रमणका लागि विदेशबाट पर्यटक आउने संख्यामा कमी हुने निश्चित छ, त्यसैले सरकार र व्यवसायी मिलेर नेपालकै आन्तरिक पर्यटकलाई टार्गेट गरेर विभिन्न योजना र प्याकेजहरू ल्याउनुपर्दछ ।

लकडाउनको समयमा के गर्दै हुनुहुन्छ ?
— यो बन्दाबन्दीको अवस्थामा घरैमा आइसोलेसन भएर बस्नु पर्ने हो यद्यपी म आङ्खनो समय लकडाउनको कारणले रोकिएका पर्यटक र दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका मजदुरहरूको उद्धारमा लागेको छु । केही हप्ताअघि होटेल नपाएर रोकिएका पर्यटकको उद्धार गरी मेरै होटेलमा बस्ने तथा खाने व्यवस्था गरेँ । केही पर्यटक सुरक्षित रूपमा आङ्खनो मुलुक फर्कीसकेका छन् भने केही अझै होटेलमा नै छन् । त्यसकाममा सहयोग गरेका सम्बन्धित देशका दूताबासहरूले धन्यवाद समेत दिएकाले सामाजिक काममा लाग्नुपर्ने थप प्रेरणा मिलेको छ ।

तपाईं संलग्न संस्था पश्चिम ठमेल पर्यटन परिषद्ले बन्दाबन्दीको समयमा के गर्दै हुनुहुन्छ ?
— पश्चिम ठमेल पर्यटन परिषदको अगुवाइमा बिगत ४० दिनदेखि दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका मजदुर, अत्यन्त निम्न आयआर्जन गर्ने वर्ग, सडक बालबालिका आदीलाई दैनिक २०० भन्दा बढीलाई बिहान बेलुका खाना खुवाउने राहत सामग्री बितरण गर्ने कार्य जारी छ । कुनै कुनै समय दिउँसोको खाजा समेत खुवाउने ब्यबस्था गर्दै आएका छौं । पश्चिम ठमेल पर्यटन परिषद्को यस अभियानमा जुनेली नेपाल, तातोखाना र लकडाउन लञ्च नामक संस्थाहरूले साथ दिँदै आएका छन् । वडा कार्यालयको समन्वयमा दैनिक चारसय भन्दा बढीलाई खाना खुवाइरहेका छौं । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित कालधारा, पकनाजोल, क्षेत्रपाटी र सोह्रखुट्टेलगायत क्षेत्रलाई स्यानिटाइज्ड गर्ने काम पनि गरिएको छ । अब आजदेखि सधैं खान आउने निम्नवर्गीय व्यक्तिहरूलाई कुपन सिस्टम लागू गर्नुपर्ने बाध्यता आएको छ ।

Published On: Time : 5:51:17  

तपाईको प्रतिक्रिया