१६२ पटक गर्दा पनि उठ्दैन दूताबासको फोन


योगेन्द्र योगी
दोहा– नेपालले वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला । तर, पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित यहाँ खोलिएका दूताबासहरू प्रायजसो रमितेजस्तै बनेर बसिरहेको नेपालीहरूले आरोप लगाइरहेका छन् ।
गत हप्ता एउटा भिडियो भाइरल भयो, त्यो भिडियो थियो युएईस्थित नेपाली दूताबासमा आफ्नो समस्या लिएर पुगेका शिव बच्चन शाहको । उनी कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि आङ्खनो समस्याको पोका बोकेर दूताबास पुगे । तर ,दूताबासका कर्मचारीहरूको रुखो बोलीलगायत विभिन्न कारणले उनको समस्या सुनुवाइ भएन ।
उनी काठमाडौंको एक म्यानपावरमार्फत् एक लाख ५० हजार तिरेर दुबई पुगेका थिए । कोरोनाको कारण कम्पनीले कामबाट निकालेपछि उनी अलपत्र परे । उनले सोचे विदेशमा नेपालीहरूको एक मात्र सारथि भनेको दूताबास हो तर अहिलेसम्म ४० पटक दूताबास पुग्दा पनि बेवास्ता गरेको उनी बताउँछन् ।
यता नुवाकोटका कुलप्रसाद वस्तीको पनि समस्या उस्तै छ । उनी पनि घरपरिवारको समस्याका कारण नेपाल फर्किन भनेर दूताबासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूताबासले दोस्रोपल्कट प्रकाशित गरेको स्वदेश फर्किने सूचीमा उनको नाम आएन् ।
उनी भन्छन्, ‘दूताबासको नम्बरमा १६२ पटक फोन गरेँ, एकपटक पनि दूताबासले फोन उठाउँदैन, अब के गर्ने ?’ धेरै युवाहरूको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्तविक पीडितहरू भने खाडीमै रुमल्लिरहेका छन् ।
सरकारले उद्दार भने पनि टिकटको पैसा आफैँ तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने ? खाडीका अधिकांस नेपाली श्रमिकहरूले प्रश्न गरिरहेका छन् ।
यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि समस्या अरुको भन्दा कम छैन । उनी पनि कतार आएको पाँच दिनमै बिरामी परे । त्यसपछि ८ दिन आइसियुमा बसेर उपचार गरेपछि कम्पनीले दुई महिना आराम गर्न भन्यो ।
पछि कोरोना सुरु भएसँगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिनादेखि उनी बेरोजगारी भएर बसिरहेका छन् । बल्ल बल्ल कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो ।
तर, लकडाउन र उडान बन्द भए पछि टिकट काटेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूताबासमा फोन गरे तर दूताबासको फोन उठेन ।
‘एकपटक बल्लतल्ल उठ्यो, फारम भर्नु पर्छ भन्यो । अनलाइन फारम पनि भरेँ तर अहिलेसम्म नाम आएन अब के गर्ने आफैँ अलमल पारेको छु,’ उनले भने । यता दूताबासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्तविक पीडितहरू समस्या उस्तै देखिन्छ । खाडीका प्रायजसो दूताबासहरूको फोन नउठ्ने उनको गुनासो छ । यता, यी समस्या र गुनासोबारे सम्बन्धित दूताबासहरूमा सम्पर्क गर्दा सबै समस्याहरूको समाधान हुने र समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् ।

Published On: Time : 6:10:21  

तपाईको प्रतिक्रिया