आममाफी पाएका १६१ जना स्वदेश फिर्ता

दोहा– कतारमा आममाफी पाएका १६१ जना नेपाली स्वदेश फर्केका छन् । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार तीन वटा उडानमार्फत आममाफी पाएका १६१ जनासहित ४ सय ६३ जना नेपाली फर्किएका हुन् ।
कतारस्थित नेपाली दूताबासका अनुसार नेपाल एयरलाइन्सको उडानबाट ३ जना महिला र १ सय ४५ पुरुष रहेका छन् भने सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएको २ वटा नेपालीको शवसमेत रहेको छ ।
त्यसैगरी, दोहाबाट काठमाडौंका लागि उडेको अर्को हिमालय एयरलाइन्सको जहाजमा १ जना महिला र १ सय ५३ पुरुष रहेको दूताबासले जनाएको छ । दूताबासका अनुसार कतार एयरलाइन्सको उडानमार्फत कतारको फिर्ति केन्द्रमा रहेकाहरू मध्येबाट १ सय ६१ जना नेपाली पनि स्वदेश पठाइएको छ ।
प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडानमार्फत काठमाडौं पठाइएको दूताबासले जनाएको छ । उनीहरुलाई बिदाइ गर्न दूताबासका द्वितीय सचिव प्रवीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Published On: Time : 6:56:10  

तपाईको प्रतिक्रिया