अलपत्र नेपालीको अवस्था जटिल बन्दै


दोहा– युएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत नेपालीहरूको अवस्था जटिल बन्दै गएको छ । कोरोना भाइरसको कारण चार महिनादेखि बन्द रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत २ हजार ५०० जना नेपाली कामदारहरूले खान र बस्नको समेत सुविधा नपाएपछि उनीहरूको अवस्था जटिल बन्दै गएको हो ।
उनीहरूका अनुसार विगत लामो समयदेखि कामविहीन भएको कारण मानसिक तनाव सिर्जना हुन थालेको बताउँछन् । कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार रहेको र ती कामदारहरू मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत कामविहीन भएर कोठामै बस्न बाध्य छन् ।
यता, ट्रान्सगार्ड ग्रुप कम्पनीको तिजरा क्याम्पमा बुधबार साँझ नेपाली कामदार र कम्पनी प्रशासनबीच झडप भएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिएका छन् ।
नेपाली कामदारले कि त हामीलाई काम देऊ, होइन भने घर पठाऊ भन्दै कम्पनी प्रशासन कहाँ पुगेपछि झडप भएको थियो । उनीहरूका अनुसार नेपाली कामदारहरू मात्र भएको कारण कम्पनी पनि बेवास्ता गरेको जनाएका छन् ।
झडपलगत्तै कम्पनीको म्यानेजर आएर नेपालको फ्लाइट खुलेको छैन, इन्डियनको ङ्खलाइट खुलेको छ बरु इन्डिया पठाउन सक्छौँ भनेपछि नेपालीहरू थप आक्रोशित बनेका उनीहरू बताउँछन् ।
उनीहरू कम्पनीको एचआरमा गएर बुझ्दा हामीले २ हजार ४ सय ७९ जना नेपालीको नामावली युएईस्थित नेपाली दूताबासमा बुझाइसकेका छौँ, बाँकी काम दूताबासले गर्छ कम्पनीको भनाइ उद्धृत गर्दै एक नेपालीले भने ।
केही दिनअगाडि युएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र भन्ने समाचार बाहिरिएसँगै कम्पनीले विशेष ध्यान दिएको काभ्रेका जयराम नेपालले बताएका छ ।
समाचार बाहिरिएपछि दूताबासले पनि ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूताबासमा राखेको र दूताबासमा श्रमिकको नामसमेत परराष्ट्र मन्त्रालयमा पठाइसकेको दूताबासले जानकारी गराएको उनीहरू बताउँछन् ।
कम्पनीले दूताबासमालाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने भनेर नामावली पठाए पनि दूताबासबाट कुनै अनुमति नआएको क्याम्प व्यावस्थापनले जनाएको छ ।
नेपाल सरकार र नेपाली दूताबासकै कारण आफूहरूको उद्धारमा ढिलाइ भइरहेको उनीहरूको भनाइ छ । ट्रान्सगार्ड ग्रुप युएईको सबैभन्दा ठूलो सप्लाई कम्पनी हो । विभिन्न क्षेत्रमा गरी युएईमा करिब ३ लाख ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।

Published On: Time : 6:39:36  

तपाईको प्रतिक्रिया