प्रगतिशिल र गणतान्त्रिक मञ्चबीच एकीकरण


काठमाडौं– तत्कालीन नेकपा एमालेनिटक प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र माओवादी केन्द्रनिकट नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चबीच एकीकरण भएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालय धुम्बाराहीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा आयोजित एकीकरण भेलाले नयाँ संगठनको नाम प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नै राखेको छ ।
दुई संगठनको एकीकरण भएपछि तत्कालीन माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसादको संयोजकत्वमा ५६ सदस्यीय कार्यसमिति चयन भएका छन् । उनीहरुलाई शुक्रबार नै मन्त्री यादबले शपथ गराए ।
शुक्रबार फरक फरक दलका दुई वैदेशिक रोजगार व्यवसायी एक भएसँगै नयाँ बनेको कार्यसमितिको सहसंयोजको जिम्मेवारी तत्कालीन नेकपा एमालेनिकट प्रगतिशिल मञ्चका राजेन्द्र भण्डारीले पाएका छन् । मन्त्री यादवबाट शपथग्रहणपश्चात् संयोजक भान्तना र सहसंयोजक भण्डारीले संगठनलाई अर्थपूर्ण रुपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ गठन भएको संघको नामाकरण तत्कालीन एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नामबाट गरिएको एकीकरण तथा शपथ कार्यक्रममा घोषणा गरिएको थियो । साथै, प्रगतिशीलका तत्कालीन उपाध्यक्ष राजेन्द्र भण्डारीलाई भान्तनापछि दोस्रो बरियतामा सहसंयोजकको भूमिका दिइएको पनि घोषणा गरिएको थियो ।
शुक्रबारको एकीकरण तथा शपथ कार्यक्रम भव्य बनाउने उद्देश्य सोचेभन्दा व्यापक तरिकाले भएको मञ्चको दाबी छ । शुक्रबारको एकीकरण तथा शपथ कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली तथा पुष्पकमल दाहाल दुवैलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । तर, दुबै जना कार्यव्यस्तताका कारण अनुपस्थित रहेको मञ्चले जनाएको छ ।
शुक्रबार एकीकृत कार्यसमितिमा प्रगतिशिलका ३४ र गणतान्त्रिकका २१ व्यवसायीहरु समेटिएका छन् । यद्यपि, मञ्चको सचिवालय गठन र अन्य जिम्मेवारी बाँडफाड भने गरिएको छैन ।
तत्कालीन नेकपा एमालेनिकट प्रगतिशील मञ्च नेपाल ०६५ सालमा र माओवादीनिकट गणतान्त्रिक मञ्च ०६३ सालमा स्थापना भएका थिए । बामपन्थी राजनीतिक आस्था राख्ने दुवै संगठन दुई पार्टी एक भएस“गै एक हुन बाध्य भएका थिए ।
नया“ कार्यसमिति गठन हुनुअघि दुई संघमा विभिन्न व्यक्तिले जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रगतिशिल मञ्च नेपालका संस्थापक अध्यक्ष सरोज पोखरेल हुन् । उनीपछि मञ्चमा बलबहादुर तामाङ, टंक राउत, नरेश गेलाल, हरिबहादुर पाण्डे क्षत्री र हाल चित्रगुप्त सा“वा लिम्बूले नेतृत्व गरिरहेका छन् । त्यस्तै, व्यवसायी दिलप्रसाद पोखरेलको अध्यक्षमा गठित गणतान्त्रिक मञ्चको नेतृत्व प्रेमबहादुर कटुवाल, भान्तना र भुवनविक्रम घिमिरेले गरिसकेका छन् ।
शुक्रबार बामपन्थी दलनिकट दुई रोजगार व्यवसायी एक भएसँगै अन्य राजनीतिक दलसँग आबद्ध रहेका व्यवसायीहरु पनि एकजुट हुनेतर्फ अग्रसर भएको बताइएको छ । अहिले वैदेशिक रोजगार क्षेत्रमा समाज सेवा, जातीय, भूगोल, संस्कृति संरक्षणलगायत काम गर्ने उद्देश्यसहित विभिन्न जातीय, क्षेत्रीय तथा भेगीय संघ संस्था आबद्ध छन् । तराई मधेस वैदेशिक रोजगार मञ्च र जनता समाजवादी पार्टीनिकट व्यवसायीहरु पनि एकीकरणका लागि संगठित भइरहेको बताइन्छ ।

Published On: Time : 5:10:26  

तपाईको प्रतिक्रिया