प्रधानमन्त्रीलाई गौरीको सुझाव

काठमाडौं– पुरानी अभिनेत्री गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छन् । अभिनेत्री मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिँदै लेखेकी छन, ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा रमाइलो गर्ने माध्यम भइरहेको होला अथाव बानी परिसकेको होला ।’

उनले अगाडि लेखेकी छन्, ‘तर, हामी सर्वसाधारणलाई साह्रै लज्जाबोध हुन्छ किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौँ, त्यो व्यक्ति हाँसोको होइन, गर्वको पात्र बनोस् । तर, बिडम्बना त्यस्तो दिन कमसेकम हाम्रो जीवनमा आउन सकेको छैन ।’

नेपाली श्रमिक रोगले होइन भोकले मर्न लागियो भन्दै भारत जान थालेपछि उनले आक्रोश पोखेकी छन् । भारतमा कोरोना प्रकोप बढिरहेको समयमा पनि नेपालीहरू धमाधम कामका लागि गइरहेको भन्दै उनले भारत फर्किदा राज्यले रोक्न नसकेको बताएकी छन् ।

भारतमा कोरोना बढ्दा आफ्ना नागरिकलाई नेपालमै बस, हामी जे गर्नुपर्ने हो गर्छौ भनेर किन भन्न नसकेको भन्दै उनले आक्रोश पोखेकी छन् । अभिनेत्री मल्लले सिंहदरबार र बालुवाटारभन्दा पनि बाहिर नेपाल रहेको कुरा प्रधानमन्त्रीलाई सम्झाएकी छन् ।

उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, यो देश तपाइँको घर हो । हामी जनता तपाइँका परिवार हौँ । यो कुरालाई आत्मसाथ गर्नुहोस् । आज जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरूको जीवन रक्षा गर्ने कर्तव्य तपाइँकै हो ।’

Published On: Time : 7:20:50  

तपाईको प्रतिक्रिया