कस्ता थिए खतिवडा, कस्तो हुनुपर्छ नयाँ अर्थमन्त्री ?

युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् । तर प्रधानमन्त्री केपी ओलीले उनलाई मन्त्रालयका क्षमता अभिवृद्धिका क्रियाकलापमा संलग्न गराइराख्ने जनाएका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने प्रधानमन्त्री अझै पनि उनीमार्फत देशको अर्थतन्त्र चलाउन चाहन्छन् । पद प्राप्तीलाई सफलताको सूचक मान्ने हो भने खतिवडा आमनागरिकका सन्तानमध्ये थोरै मात्र सफल व्यक्तिमा पर्छन् । गभर्नर, योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्रीजस्ता ठूला र ग्ल्यामरयुक्त पद एउटै व्यक्तिले विरलै प्राप्त गर्छन् । अर्थमन्त्री पनि चानचुने होइन, पूरै दुईतिहाई बहुमत सरकारको अर्थमन्त्री ।

खतिवडा अर्थमन्त्री पदबाट बिदा लिँदै गर्दा उनको कार्यकाल सफल भयो या भएन भन्ने चर्चा पनि चलेको छ । स्वभाविकै रूपमा कुनै पनि बहसमा पक्ष र विपक्षमा मत भइहाल्छ । तर देशले लामो समयपछि स्थिर सरकार प्राप्त गरेको, देश संघीय शासन प्रणालीमा प्रवेश गरेको र वर्तमान सरकारका कामकारबाहीबाट आमजनताले आङ्खनो जीवनमा गुणात्मक परिवर्तन आउने आसा राखेको सन्दर्भमा उनको अर्थमन्त्रीकालमा देशले कुन दिशा लियो भन्ने बारेमा निष्पक्ष र तथ्यगत रूपमा विश्लेषण हुनु आवश्यक छ ।

के अर्थमन्त्री नै सबथोक हो ?

कुनै पनि देशको भविष्य अर्थमन्त्रीले मात्र कोर्ने होइन । सामान्यतया ती देशहरू जहाँ प्रजातन्त्रको संस्थागत विकास भएको छ र संस्थाहरूले नियमपूर्वक काम गर्छन्, त्यस्ता देशमा अर्थमन्त्रीभन्दा पनि सरकार वा प्रधानमन्त्री÷ राष्ट्रपति देश विकासका लागि बढी जिम्मेवार मानिन्छन् । अर्थमन्त्रीको काम सरकार वा सरकार प्रमुखको नीतिहरूलाई बजेट मार्फत कार्यान्वयन गर्ने हो ।

उदाहरणका लागि अमेरिकामा को अर्थमन्त्री भयो धेरै चासोको विषय हुँदैन किनभने धेरैजसो कुराहरू सिस्टमले नै निर्धारण गर्छ र बाँकी कुरा राष्ट्रपतिले निर्धारण गर्छन् । अर्थमन्त्रीको काम राष्ट्रपतिलाई आर्थिक विषयमा जानकारी गराउनु र राष्ट्रपतिको आकांक्षाअनुसार स्रोत विनियोजन गर्नु हो ।

त्यसैले अमेरिकामा, उदाहरणका लागि, रोजगारी बढ्यो वा मूल्य वृद्धि कम भयो भने त्यसको श्रेय अर्थमन्त्रीलाई नगएर राष्ट्रपतिलाई जान्छ । यस्तै सिंगापुरमा ली क्वान यूको अर्थमन्त्री को थियो ? मलेसियामा महाथिर मोहम्मदको अर्थमन्त्री को थियो, हामीलाई खासै थाहा छैन । ती देशमा राष्ट्रपति वा प्रधानमन्त्री नै सर्वेसर्वा थिए र उनीहरूको नीति नै लागू हुन्थ्यो । तर नेपालमा भने अलिकति फरक स्थिति छ । खतिवडा प्रधानमन्त्रीका निकै विश्वासिला पात्र मानिन्थे र आर्थिक नीतिहरूमा प्रधानमन्त्री पूर्णरूपमा उनीमाथि नै भर पर्थे ।

प्रधानमन्त्रीका केही सपनाहरू जस्तै, रेल, पानी जहाजबाहेक अन्य आर्थिक नीतिमा प्रधानमन्त्री उनीमाथि नै भर पर्ने देखिएकाले जनताले देशको आर्थिक विकास र अन्य आर्थिक समस्यामा प्रधानमन्त्रीभन्दा पनि अर्थमन्त्रीलाई नै जिम्मेवार ठान्थे । पत्रपत्रिका र सामाजिक सञ्जालमा पनि उनकै गुणगान गाउने वा उनैलाई दोष दिइन्थ्यो । अर्को अर्थमा भन्नुपर्दा, आङ्खनो कार्यकालभरि नै निवर्तमान अर्थमन्त्री यो देशको समृद्धि वा दुर्गति संवाहक थिए । यसै कारण पनि निवर्तमान अर्थमन्त्रीका बारेमा यति धेरै चासो बढेको हो ।

अर्थमन्त्री कस्तो हुनु पर्छ ?

मानिसको व्यक्तित्व र आचरणले नीति निर्माण तथा ती नीतिहरू लागू गर्ने सन्दर्भमा पार्ने असरबारे धेरै अध्ययन भएका छन् । तर अर्थमन्त्रीको व्यक्तित्व र आचरणले आर्थिक तथा वित्तीय नीतिहरूमा पार्ने प्रभावका बारेमा धेरै अध्ययन भएका छैनन् । सन् २०१२ मा युरोपियन आर्थिक अनुसन्धान केन्द्रले गरेको एक अध्ययनका अनुसार सफल अर्थमन्त्रीमा दुइटा गुण साझा देखिएको थियो– राजनीतिक पृष्ठभूमि र अनुभव । अर्थात् ती अर्थमन्त्रीहरू उद्देश्य प्राप्तिमा सफल देखिए जसको राजनीतिक पृष्ठभूमि र अनुभव थियो । र, जसको अर्थमन्त्रालयमा लामो अनुभव थियो । अर्कोतर्फ नीतिहरूको प्रभावकारितामा अर्थमन्त्रीको शैक्षिक पृष्ठभूमिको कुनै असर देखिएन ।

सामान्यतया अर्थमन्त्री हुने व्यक्तिले देशको आर्थिक अवस्थाको ज्ञान राख्ने, व्यवस्थापन क्षमता भएको र अर्थिक सिद्धान्त बुझेको हुनु पर्ने मान्यता राखिन्छ । भारतका पूर्वअर्थमन्त्री मनमोहन सिंह, ग्रिसका वर्तमान अर्थमन्त्री इआनिस वारूफाकिस, सिंगापुरमा ली क्वान यूको पहिलो मन्त्रिमण्डलका अर्थमन्त्री गो केङ स्वी या नेपालकै पूर्वअर्थमन्त्री रामशरण महत अनुभवी अर्थशास्त्री पनि हुन् । तर पनि अर्थमन्त्री हुन अर्थशास्त्री हुनै पर्छ भन्ने छैन । आधुनिक मलेसियाका निर्माता महाथिर मोहम्मद आफैँ धेरैपटक अर्थमन्त्री भए र उनी पेसाले चिकित्सक हुन् । यू मन्त्रीमण्डलमै करिब १६ वर्ष अर्थमन्त्री भएका रिचर्ड टाउ र करिब १३ वर्ष अर्थमन्त्री भएका होन सेनले विज्ञान विषय पढेका थिए ।

नेपालमै पनि चारपटक अर्थमन्त्री भइसकेका, ‘आङ्खनो गाउँ आफैं बनाऊँ’ कार्यक्रमका सूत्रधार, आमजनताले निकै रूचाएका अर्थमन्त्री भरतमोहन अधिकारी अनुभवी अर्थशास्त्री भने थिएनन् । अर्थमन्त्री अर्थशास्त्री वा व्यवस्थापन क्षेत्रको ज्ञाता हुँदा राम्रो हुन्छ तर यो हुनै पर्छ भन्ने छैन भन्दाभन्दै पनि अर्थमन्त्रीको आचरण, बानी व्यहोरा, र ऊ कुन सिद्धान्त र दर्शनबाट प्रेरित छ भन्ने कुराले फरक पार्छ । सामान्यतयाः कुनै अर्थमन्त्रीले प्रतिस्पर्धात्मक बजार प्रणालीमा विश्वास गर्छ वा राज्य नियन्त्रित अर्थव्यवस्थामा विश्वास गर्छ भन्ने कुराले फरक पार्छ नै । यसबाहेक नीति निर्माणमा ऊ कस्तो प्रक्रिया अबलम्बन गर्न चाहन्छ, आफूभन्दा तलका सहयोगीको सहयोग कस्तो प्रकारले लिन चाहन्छ, अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये कुनै एक वा दुई क्षेत्रप्रति उसको पूर्वाग्राही धारणा छ कि छैन, वित्तीय सुशासनप्रति उसको धारणा के हो जस्ता कुराले पनि अर्थतन्त्रमा अर्थमन्त्रीको प्रभाव निर्धारण गर्छ ।

निवर्तमान अर्थमन्त्रीको कार्यकालः के भयो, के भएन ?

खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा देशलाई समृद्धिको मार्गमा लैजान इतिहासमै सबभन्दा अनुकूल समय पाएका थिए । नेपालको विकास द्रूत गतिमा हुन नसक्नुमा यहाँको अस्थिर राजनीति प्रमुख कारण मानियो । यस अर्थमा खतिवडालाई अनुकूल समय प्राप्त भयो भन्न सकिन्छ । यसबाहेक देशमा लामो समयसम्म जारी माओवादी समस्यालगायत अन्य समस्या नयाँ संविधानमार्फत समाधान गरिएको थियो । सहज र स्थिर राजनीतिक अवस्था तथा आमनागरिकको आर्थिक क्रान्तिप्रतिको चाहना भएका बेलामा चमकदार छवि भएका खतिवडा अर्थमन्त्री हुँदा उनीप्रति आकर्षण र विश्वास भयो । देशलाई द्रूत आर्थिक प्रगतिको मार्गमा लैजान उनलाई अनुकूलता प्राप्त भएको थियो ।

तर कार्यभार सम्हालेलगत्तै उनले जारी गरेको स्वेतपत्र उनका लागि पहिलो गाँसमै झिँगा सावित भइदियो । स्वेतपत्र जारी गर्नु आफैँमा गलत थिएन । उनीअघिका अर्थमन्त्रीले पनि नयाँ कार्यभार सम्हालेपछि स्वेत–पत्र जारी गरेका थिए । तर खतिवडाको स्वेतपत्रमा अर्थतन्त्रलाई निकै नकारात्मक रूपमा प्रस्तुत गरिएको थियो । अर्थतन्त्रमा केही नकारात्मक सूचकांक पक्कै थिए । तर सकारात्मक सूचकांक पनि नभएका होइनन् । स्वेत–पत्रले वास्तविकता देखाउनु पर्नेमा विगतका सरकारले केही पनि गरेनन् वा भनौं गलत काम मात्र गरे भन्ने आसयको स्वेत–पत्र भएकाले विवादित भयो ।

खतिवडाको अर्को छवि करप्रेमीको बन्यो । स्वभाविकै रूपमा कर लगाउनु राज्यको जिम्मेवारी र कर तिर्नु नागरिकको दायित्व हो । तर कर लगाउँदा विभिन्न कुरा ख्याल गरिनु पर्छ । करको लोच कस्तो छ, यसको भार कसलाई पर्छ, दायरा र दरमा कुन चाहिँ बढाउने, कर संकलनमा कति खर्च लाग्छ र आमनागरिकले कर तिरे अनुरूप सुविधा पाए वा पाएनन् भन्ने कुरा ख्याल गरिनु पर्छ ।

तर, अरू कुरा ख्याल नगरी करको दर बढाउने मात्र काम गरियो । यसबाहेक स्थानीय निकायले लगाएका करको दोष पनि उनीमाथि नै पर्न गयो । उनले आर्थिक वर्षको मध्यमा समेत कर दर बढाएर सबैलाई चकित पारिदिए । चकलेट र विद्युतीय सवारीसाधनमा गरिएको कर दर परिवर्तनले उनको इमान्दारिताको छविमा पनि दाग लाग्यो । पुस्तकमा लगाइएको करले उपभोक्तामा भार पार्दैन भन्ने उनको भनाइले के उनलाई सार्वजनिक वित्तबारे जानकारी त छ भन्ने प्रश्न पनि उठायो ।

यी सबका बाबजुद कर छली रोक्न उनले ल्याएको ‘बैंकबाट ऋण लिँदा कर कार्यालयमा बुझाएको कारोबार विवरण बुझाउनु पर्ने’ प्रावधानले भविष्यमा सकारात्मक परिणाम दिने आसा गर्न सकिन्छ । राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप र देशको आम्दानी र खर्च तथ्यांकमा खेलवाड गरेको आरोप पनि उनीमाथि लाग्यो । नेपाल सरकारको आम्दानी–खर्चको दैनिक विवरण महालेखा नियन्त्रकको कार्यालयले आङ्खनो वेबपेजमा सार्वजनिक गर्छ । गत वर्षको जुलाई ९ सम्म पुँजीगत खर्च ५७ प्रतिशत थियो । जुलाई १५ मा महालेखा नियन्त्रकको कार्यालयको वेबपेज आश्चर्यजनक रूपमा बन्द भयो ।

तर जब वेबपेज खुल्यो, जुलाई २२ मा पुँजीगत खर्च ७६ प्रतिशत पुगेको थियो । यसले पुँजीगत खर्च बढेको देखाउन तथ्यांकसँग खेलवाड गरिएको भन्ने आरोप पनि उनीमाथि लाग्यो । यी सबै सुशासन र पारदर्शीतासँग सम्बन्धित कुरा हुन् । सुशासन र पारदर्शीता डा. खतिवडाको मात्र नभएर वर्तमान सरकारकै ठूलो कमजोरीका रूपमा रहेको छ । दैनिक क्रियाकलापमा खतिवडाका केही राम्रा र केही नराम्रा काम भए होलान् । तर शक्तिशाली सरकारका शक्तिशाली र आसा गरिएका अर्थमन्त्रीका नाताले उनले गर्नै पर्ने तर गर्न नसकेका केही उल्लेखनीय क्षेत्र रहे ।

पहिलो, मितव्ययीता अवलम्बन गर्न र फजुल खर्च रोक्न नसक्नु हो । अहिले देश कोरोना महामारीले अस्तव्यस्त छ । लाखौँ मानिस खान नपाएर र रोजगारी गुमाएर छट्पटाएका छन् । यी आमनागरिकलाई राहत प्रदान गर्नु सरकारको जिम्मेवारी हो । राहत प्रदान गर्न खर्चको जोहो गर्नु पर्छ । धेरै अर्थशास्त्री र विज्ञहरूले त्यस्तो खर्च कहाँबाट जोहो गर्न सकिन्छ भनेर सुझाव पनि दिए । तर खतिवडाले ती कुरा सुनेनन् वा लागू गर्न इच्छा देखाएनन् । अर्बौँका गाडी किन्ने, भए÷ नभएका समितिमा पैसा खर्च गर्ने, व्यक्तिका नाममा भएका संस्थालाई बिनामापदण्ड करोडौँ निकासा गर्ने, भोजभतेर, खानपिनमा असिमित पैसा खर्च गर्नेजस्ता काम उनले रोक्न सक्थे । उनले चाहेको भए मितव्ययीताको एउटा राम्रो पद्धतिको सुरूआत गरेर जान सक्थे ।

दोस्रो, गेम चेन्जर परियोजनाको सुरूआत ।

देशलाई आर्थिक विकासको मार्गमा द्रूत गतिले अघि बढाउन भौतिक पूर्वाधारका ठूला परियोजनाको आवश्यकता छ । यस्तै सूचना प्रविधिमा पनि फड्को मार्नु परेको छ । तर यी कुरा सम्बोधन हुने कुनै परियोजना आउन सकेनन् । डा.रामशरण महतलाई उदारीकरणका निम्ति सम्झिइन्छ भने अधिकारीलाई सामाजिक सुरक्षाका निम्ति । तरखतिवडाले आफूलाई सम्झिने त्यस्तो कुनै उल्लेखनीय काम गर्न सकेनन् ।

तेस्रो, पुँजीगत खर्च बढाउने उपाय स्थापित गर्न नसक्नु हो । कम पुँजीगत खर्च नेपालको पुरानो समस्या हो । खतिवडाको पालामा सार्वजनिक खरिद ऐन नै पनि धेरै पटक परिवर्तन भयो । तर पुँजीगत खर्च बढ्ने कुनै उपाय फेला परेन । यो समस्या यथावत नै छ । चौँथो कमजोरी उनको कार्यकाल अन्तमा आएको कोरोनाले उत्पन्न समस्याको प्रभावकारी सम्बोधन गर्न नसक्नु हो । संक्रमण त्रास र लकडाउनले ठप्प अर्थतन्त्रबीच समयमै राहत घोषणा भएन । लकडाउनबीचमै कर तिर्ने उर्दी जारी गर्नु अर्थ मन्त्रालयको चरम सीमाको असंवेदनशीलता थियो ।

यसबाहेक करिब ३० लाख मानिसको दैनिक जीविकाको समस्या सम्बोधन जिम्मा पूर्ण रूपमा अर्थ मन्त्रालयको थियो । मन्त्रालयको अगुवाइमा यी काम हुनु पर्थ्यो । हुन सकेन र आम नागरिक सडकमा बसेर दाताको निगाहमा खाना खान वाध्य छन् । खतिवडाले गरेका काम सबै नराम्रा भन्ने पनि होइन । वित्तीय संघीयतामा अझ धेरै गर्न बाँकी भए पनि गत तीन वर्षमा खतिवडाको नेतृत्वमा वित्तीय संघीयताको राम्रो आधार बनेको छ । अनुदान सूत्रका आधारमा वितरण भएको छ र वितरणमा त्यति धेरै गुनासा पनि आएका छैनन् । अनुदान वितरण निरन्तर सुधार हुँदै जाने प्रक्रिया भएकोले यसको सुरूआत हुनु नै राम्रो हो ।

उनको नेतृत्वमा लगानी सम्मेलन भयो । यद्यपि सम्मेलनको आवश्यकता थियो वा थिएन र सम्मेलनको प्रतिफल कस्तो आयो, भविष्यले बताउला । तर नयाँ सरकारका लगानी नीतिका बारेमा जानकारी दिने त्यो राम्रो अवसर थियो । यस्तै खतिवडाले सुरू गरेका कतिपय सूचना प्रविधि मिश्रित नीतिहरू पनि राम्रा सुरूआत हुन् । राज्य सञ्चालनमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ र खतिवडाका यी कदमले भविष्यमा प्रतिफल दिने छ भन्ने आसा गर्न सकिन्छ ।

यो लेखको आसय, खतिवडाको व्यक्तिगत आलोचना र प्रशंसा गर्नु होइन, एउटा संस्थाको नेतृत्वकर्ताको मूल्यांकन गर्नु हो । अर्थमन्त्रीको जिम्मेवारी अन्य मन्त्रीहरूको जिम्मेवारीभन्दा नितान्त फरक हुन्छ । सरकारका नीति तथा कार्यक्रम सफल बनाउने, मितव्ययीताका कार्यक्रम सफल बनाउनेदेखि अनुगमन र मूल्यांकनसम्मका जिम्मेवारी अर्थमन्त्रीको हुन्छ ।

अर्थमन्त्रीका ती जिम्मेवारीमा खतिवडा धेरै सफल भएनन् । यसको सम्भावित कारण, यस लेखको सुरूआतमा उल्लेख गरिएको युरोपियन देशको अध्ययनको निचोड जस्तै, उनमा राजनीतिको पनि अनुभव भएन र अर्थमन्त्रालयको पनि लामो अनुभव भएन । शिक्षाले मात्र अर्थमन्त्री सफल हुन सक्दा रहेनछन्– यो नेपालमा पनि चरितार्थ भएको उदाहरणका रूपमा खतिवडाको कार्यकाललाई लिइनु उपयुक्त हुन्छ ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                सेतोपाटी

Published On: Time : 6:02:04  

तपाईको प्रतिक्रिया