अवैध नेपालीलाई बहिर्गमन भिसा उपलब्ध

दोहा– साउदी अरेबियामा अवैध रूपमा कार्यरत अकामा नवीकरण नगरेका अहिलेसम्म ९ सय ४८ जना नेपालीका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ ।

साउदीस्थित नेपाली दूताबासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररूपमा प्रदान गर्ने व्यवस्थाका लागि दूताबासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रक्रिया सुरू गरेको दूताबासले जनाएको छ ।

साथै, विभिन्न व्यक्तिहरूले झुठा विवरण दिई दूताबास समक्ष बहिर्गमन भिसाका लागि राहदानी तथा आकामा पेस गरेअनुरूप दूताबासको सिफारिसमा एक्जिट भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने दूताबासले जनाएको छ ।

बहिर्गमन भिसा पाउने करिब ३ सय नेपाली स्वदेश फर्किसकेको दूताबासले जनाएको छ । बहिर्गमन भिसा पाउनेले भिसा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छाडिसक्नुपर्ने छ ।

बहिर्गमन भिसा जारी भएकाहरूले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरूबाट नेपाल जाने तयारी गर्नसमेत दूताबासले अनुरोध छ ।

साउदी अरबमा कानुनी रूपमा करिब ३ लाख १५ हजार नेपाली कार्यरत छन् ।

Published On: Time : 4:35:02  

तपाईको प्रतिक्रिया