सरकारी निर्देशन उल्लंघन भएको आरोप

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालीलाई फिर्ता ल्याउँदा सरकारी निर्देशनको पालना नभएको आरोप लगाएको छ ।

विदेशमा पिसिआआर परीक्षण गराएर नै ल्याइने मापदण्ड भए तापनि नियम उल्लंघन भएको भन्दै संघले यसको विरोध गरेको हो ।

संघले स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरुरी रहेको पनि जनाएको छ । कोभिड–१९ का ले रोजगार गुमाई वा अन्य विविध कारणले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न पनि एनआरएनएले अनुरोध गरेको छ ।

त्यस्ते, एनआरएनएले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण यस साता विदेशमा ४३ जना नेपाली निधन भएको जनाएको छ । कोभिड– १९ को संक्रमणले विदेशमा नेपाली मृतकको संख्यामा केही कमी आए पनि मृत्यु हुने क्रम नरोकिएको र शनिबारसम्म विदेशमा विभिन्न मितिमा ४३ जना नेपालीको निधन भएको एनआरएनएले जनाएको हो ।

एनआरएनएका अनुसार शनिबारसम्म कोभिड–१९ का कारण विभिन्न १६ देशमा गरी २ सय ४३ जना नेपालीको निधन भएको छ । कोभिड–१९ संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको पनि एनआरएनए अन्तर्गत रहेको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार संक्रमितमध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको पनि एनआरएनएले जनाएको छ ।

हालसम्म साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतले केही दिनअघिको ‘भर्चुअल’ कार्यक्रममा बताएका छन् । यद्यपि, गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

कोभिड–१९ का कारण यस साता कतारमा थप २ जना नेपालीको निधन भएको एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायत देशमा कोरोना संक्रमणदर वृद्धि भएको छ । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन् ।

साथै, हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको पनि एनआरएनएले जनाएको छ । यता, नेपालमा आइतबारसम्म ५४ हजार १ सय ५९ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३८ हजार ६ सय ९७ कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० दशमलब ६ प्रतिशत रहेको एनआरएनएले जनाएको छ । हालसम्म नेपालमा ३ सय ४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कोभिड–१९ संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार विदेशस्थित दूतावास तथा नियोग, एनआरएनए र विभिन्न सहयोग हातहरूको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

कोभिड–१९ संक्रमण जुनसुकै बेला पनि हुन सक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउँन पनि एनआरएनएले जनाएको छ । साथै, स्वदेश फर्कन चाहनेलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पिसिआर परीक्षण समयमै गर्न पनि एनआरएनएले जनाएको छ ।

Published On: Time : 6:05:08  

तपाईको प्रतिक्रिया