फर्किए ४८ हजार ८ सय नेपाली श्रमिक

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट ४८ हजार ८ सय ६५ नेपाली श्रमिक फर्किएको जनाएको छ ।

शुक्रबार साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्दै १५ भदौसम्म ४३ हजार ८ सय ८७ र २१ भदौदेखि २६ सम्म ४ हजार ९ सय ७८ गरि हालसम्म ४८ हजार ८ सय ६५ नेपाली श्रमिक फर्र्किएको मन्त्रालयले जनाएको हो ।

विदेशमा कोभिड–१९ को संक्रमण बढेपछि १५ भदौसम्म १ लाख २५ हजार ९ सय ६० नेपाली श्रमिकले फर्कनका लागि निवेदन दिए पनि ४३ हजार ८ सय ८७ को मात्र उद्धार गरिएको मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताएका छन् ।

उनका अनुसार २१ भदौदेखि २५ सम्म ७ हजार ५ सय २५ श्रमिकले फर्कनका लागि निवेदन दिए पनि ४ हजार ९ सय ७८ श्रमिकको उद्धार गरिएको छ ।

फर्किएका श्रमिकमध्ये प्रायजसो सबै आफ्नै खर्चमा स्वदेश फर्किएका र केहीलाई सरकारी खर्चमा पनि उद्धार गरिएको प्रवक्ता पाण्डेले बताएका छन् । श्रमिकको आफ्नै खर्च र सरकारको खर्चमार्फत कति श्रमिक फर्किए भन्ने प्रश्नमा यकिन विवरण संकलन भइनसकेको उनले बताए । उनका अनुसार हाल विदेशमा कति नेपाली श्रमिक कार्यरत छन् भन्ने विषयमा मन्त्रालयसँग यकिन तथ्यांक छैन ।

६९ जनाले लिए नयाँ श्रम स्विकृति

नयाँ श्रम स्विकृतितर्फ अघिल्लो सातासम्म व्यक्तिगत तथा संस्थागत रूपमा कुनै निवेदन नआएको तर, यस साता ६९ जनाले विदेश जानका लागि श्रम स्विकृति लिएको मन्त्रालयले जनाएको छ । कोरियन भाषा परीक्षा ई.पी.एस.तर्फ भने कुनै श्रम स्विकृति प्रदान नगरिएको पनि मन्त्रालयले जनाएको छ ।

मृतकका परिवारलाई राहत

अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीमा मृत्यु भएका ९४ मृतकका परिवारलाई ६ करोड २४ लाख १० हजार (६२४.१ लाख) राहत रकम उपलब्ध गराइएको साप्ताहिक प्रगति विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीका सिलसिलामा अशक्त भएका १३ कामदारलाई ६७ लाख ६० हजार राहत दिइएको छ ।

यस्तै, अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीमा मृत्यु भएका १ सय २६ कामदारको शव व्यवस्थापनका लागि १८ लाख २० हजार लागेको पनि मन्त्रालयले जनाएको छ । साथै, २० जना कामदारको शव व्यवस्थापन गर्नलाई यस महिनाको अन्तिममा रकम भुक्तानी गरिने पनि मन्त्रालयले जनाएको छ ।

Published On: Time : 4:00:10  

तपाईको प्रतिक्रिया