‘गुगल मिट’ एक घन्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

क्यालिफोर्निया–सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।

गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो । शुरुमा सबै निःशुल्क सेवा दिएको भए पनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।

गुगलका एक प्रवक्ताले भनेको छ, विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।

उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पारेको छ ।

उनका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ ।

यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ । अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिट जस्तै जुम पनि लोकप्रिय रहेको छ ।

Published On: Time : 6:23:33  

तपाईको प्रतिक्रिया