रुग्ण आयोजनाबाट हर्जना नलिन निर्देशन


काठमाडौं– विद्युत् नियमन आयोगले १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।

‘विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो ।

आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न समेत भनेको छ ।

आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिए ।

यस्तै, प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

कूल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् ।

उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

यसैबीच नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि केही समय यता राजधानीका विभिन्न स्थानमा विद्युत् काट्दै आएको छ ।

यसैक्रममा मंगलबार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटेको थियो ।

Published On: Time : 6:22:52  

तपाईको प्रतिक्रिया