एकैदिन ४ सय ५४ जनाले लिए श्रम स्विकृति

काठमाडौं– वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि न्यौपानेले बुधबार एकैदिन ४ सय ५४ जनाले श्रम स्विकृति लिएको बताएका छन् ।

बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा कोभिड–१९ को महामारीका बीचमा पनि श्रम तथा रोजगार कार्यालय, काठमाडौंलगायत कार्यालयहरूबाट एकैदिन ४ सय २५ पुरुष र २९ महिला गरी ४ सय ५४ जनाले श्रम स्विकृति लिएको उनले बताए ।

सूचना अधिकारी न्यौपानेका अनुसार बुधबार सबैभन्दा बढी साउदी अरबका लागि १ सय ६६ जनाले श्रम स्विकृति लिएका छन् । श्रम स्विकृति लिनेमध्ये सबै जना पुरुष रहेका छन् ।

साउद अरबपछि कतारका लागि १ सय २६ जनाले श्रम स्विकृति लिएको उनले बताए ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार कतारपछि युएईका लागि ९० जनाले श्रम स्विकृति लिएको सूचना अधिकारी न्यौपानले बताएका छन् ।

जसअन्तर्गत ८० जना पुरुष र १० जना महिला रहेका छन् ।

यसैगरी युएईपछि क्रोएसियाका लागि १ पुरुष र ९ महिला गरी १० जनाले, कुवेतका लागि ९ जना पुरुषले, माल्दिभ्सका लागि ६ जना पुरुष र ३ जना महिला गरी ९ जनाले, युक्रेनका लागि ७ जना पुरुषले र बहराइनका लागि ७ जना पुरुषले श्रम स्विकृति लिएको उनले बताए ।

जापानका लागि ४ जना पुरुष र १ जना महिला, ओमानका लागि ५ जना पुरुष, रोमानियाका लागि ५ जना पुरुष, टर्कीका लागि ३ जना महिला र १ जना पुरुषले लिएका छन् ।

यस्तै, नेदरल्यान्ड्सका लागि २ जना पुरुष र १ जना महिला, पोल्यान्डका लागि २ जना पुरुष, अस्ट्रेलियाका लागि १ जना पुरुष, मलेसियाका लागि १ जना पुरुष, श्रीलंकाका लागि १ जना पुरुष, ताजिकिस्तानका लागि १ जना पुरुष र जाम्बियाका लागि १ जना पुरुषले श्रम स्विकृति लिएको उनले बताए ।

२६ असोज सोमबारका दिन पनि एकैदिन ४ सय ७७ जनाले श्रम स्विकृति लिएको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।

सोमबार ४ सय ६० पुरुष र १७ जना महिलाले श्रम स्विकृति लिएको उनले बताए ।

दैनिक रूपमा श्रम स्विकृति लिनेको विवरण सार्वजनिक गर्नुपर्ने भनिए पनि विभिन्न समस्याका कारण उक्त कार्य गर्न नसकिएको पनि उनले बताएका छन् । उनले भने, ‘केही समयसम्म हामीले दैनिक रूपमै श्रम स्विकृति लिनेहरूको विवरण सार्वजनिक गर्दै आएका थियौँ तर, अहिले विविध कारणवश त्यो गर्न सकिरहेका छैनौँ ।’

साथै, कोभिड–१९ पनि हालसम्म कति जनाले नयाँ, पुनः तथा वैधानिकीकरणतर्फ श्रम स्विकृति लिए भन्ने विषयमा विवरण संकलन गरिएको तर, सार्वजनिक नगरिएको पनि बताएका छन् । केही दिनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत समग्र श्रम स्विकृति लिनेहरूको विवरण सार्वजनिक गरिने पनि उनले बताए ।

उता, मन्त्रालयको साप्ताहिक प्रगति विवरणअनुसार हालसम्म ८ हजार ७ सय ९९ जनाले श्रम स्विकृति लिएको देखिन्छ । जसअन्तर्गत पुनः श्रम स्विकृतितर्फ ७ हजार ८ सय ३९, नयाँ श्रम स्विकृतितर्फ ५ सय १४ र वैधानिकीकरणतर्फ ४ सय ४६ जनाले श्रम स्विकृति लिएका छन् ।

Published On: Time : 4:44:42  

तपाईको प्रतिक्रिया