विश्वकप छनोटः पेरुमाथि ब्राजिलको शानदार जित


पेरु– विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिलले पेरुविरुद्ध जित हात पारेको छ ।

बुधबार स्टेडिओ नासिओनल डी लिमामा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४–२ गोल अन्तरले जित निकालेको हो ।

ब्राजिलको जितमा नेइमारले ह्याट्रिक पुरा गर्दा रिचार्लीसनले १ गोल गरे ।

खेलमा अग्रता भने पेरुले बनाएको थियो। खेलको छैटौं मिनेटमा एन्ड्री क्यारिल्लोले पेरुलाई अग्रता दिलाएका थिए ।

उता ब्राजिलका लागि २८ औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा खेल १–१ को बराबरीमा रोकियो ।

दोस्रो हाफमा पनि अग्रता पेरुले नै बनाएको थियो ।

५९ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए। तर त्यसको पाँच मिनेट भित्रै ब्राजिलका रिचार्लिसनले खेल बराबरीमा ल्याए ।

त्यस्तै ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए ।

पेरुका कार्लोस कासेडा र कार्लोस जाम्ब्रानो क्रमशः ८६ र ८९ मिनेटमा रातोकार्ड खाँदै बाहिरिए ।

त्यसपछि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

ह्याट्रिकसँगै नेइमार ब्राजिलका लागि धेरै गोलगर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

उनले रोनाल्डोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

रोनाल्डोले आफ्नो करियरमा ६२ गोल गरेका थिए भने नेइमारले ६४ गोल पु¥याएका छन् ।

त्यस्तै ब्राजिलका सर्वाधिक गोलकर्ता पेलेले ७७ गोल गरेका छन् ।

लगातार दोस्रो जित निकालेको ब्राजिल अंकतालिकाको शीर्षस्थानमा छ ।

Published On: Time : 5:12:15  

तपाईको प्रतिक्रिया