नेपाल टेलिकमको चाडबाडको अफर

काठमाडौं – नेपाल टेलिकमले सेवामा चाडबाडको अवसर पारेर थप नयाँ अफरहरु सार्वजनिक गरेको छ ।

मोबाइल सेवा विस्तारका क्रममा चाडबाडलाई लक्षित गरी चाडबाड र अन्य अफरहरुका प्याकेजलाई थप परिमार्जन गरी आकर्षक रुपमा उपलब्ध गराएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो ।

विभिन्न परिमार्जित प्याकेजहरुमध्ये २९ असोज ०७७ देखि ९० दिनम्म मौसमी छुट, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ‘दसैँ अफर’ र काग तिहारदेखि छठसम्म ‘तिहार अफर’लाई चाडबाड अफरका रुपमा लागू हुने टेलिकमले जनाएको छ ।

मौसमी अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक खरिद गरेपश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको समेत खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

उक्त अफरअन्तर्गत दसैँ–तिहार र छठमा जिएसएम, सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराएको र अन्य अफरहरु १ कात्तिक ०७७ बाट नेपाल टेलिकम एप पहिलोपटक डाउनलोड गर्दा ५ सय एमबी डाटा एकपटकका लागि निःशुल्क हुने जानकारी दिइएको छ ।

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुने र सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने व्यवस्था हटाइएको र नेपाल टेलिकम एप र वेबसाइटबाट सम्बन्धित जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।

महामारीको कारणले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गर्नुपर्ने विषम परिस्थितिमा ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको मौसमी तथा चाडबाड अफर आकर्षक हुने विश्वास रहेको कम्पनीको जिकिर छ ।

पहिलेदेखि नै उपलब्ध भएका केही प्याकहरु भने यथावत् रहनुका साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ ।

Published On: Time : 5:39:05  

तपाईको प्रतिक्रिया