अलपत्र नेपालीलाई बासस्थान छाड्न दबाब

दोहा– कोभिड–१९ का कारण ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २८ नेपाली श्रमिकहरूलाई उनीहरू बसेको बिल्डिङका मालिकले दुई दिनभित्र कोठा खाली गर्न दबाब दिएका छन् ।

कम्पनीले उपलब्ध गराएको कोठामा बिल्डिङका मालिक विगत चार पाँच दिनदेखि कोठा छाड्न भनिरहेको र सोमबार आएर दुई दिनभित्र कोठा खाली नगरे प्रहरी लगाउने धम्की दिएको अलपत्र परेकामध्ये रोल्पाका प्रकाश मगरले प्रभाव दैनिकलाई जानकारी दिए ।

‘यसअघि हामी अलपत्र परेका ३३ जना नेपाली थियौँ, जसमध्ये ५ जना साथीहरूले कम्पनी छाडेर भागिसके, अहिले हामी २८ जना नेपाली अझै उद्धारको पर्खाइमा छौँ,’ उनले भने । कम्पनीले पारिश्रमिक नदिएपछि उनीहरूले यसअघि कुवेतस्थित लेबर कोर्टमा उजुरी गरेका थिए ।

सोही उजुरी अनुसार कोर्ट कम्पनीका मालिक, कुवेतस्थित नेपालका प्रतिनिधि र पीडित श्रमिकहरूलाई बोलाएर छलफल गरेको थियो ।

छलफलमा कम्पनीको मालिकले पासपोर्ट तत्काल दिएको र सोमबारभित्रमा सके ३ महिनासम्म काम गरेको पूरै नसके डेढ महिना वा दुई महिनाको पारिश्रमिकसहित हवाइ टिकट उपलब्ध गराउने समजदारी भएको थियो ।

तर, सोमबार उनीहरूले नेपाली दूताबासमा सम्पर्क गर्दा केस अदालत गएको भन्दै अझै समय लाग्ने र अदालतले फैसला गर्न बाँकी रहेको दूताबासले हामीलाई जानकारी गराएको पीडितहरूले बताएका छन् ।

पीडितहरूका अनुसार त्यो ३ महिनाको पारिश्रमिक पनि चाहिँदैन, हामीलाई स्वदेश फर्किनका लागि हवाइ टिकट मात्र भए पनि दिलाइदिन पटक–पटक दूताबासलाई आग्रह गरेको भए पनि दूताबासले बेवास्ता गरेको उनीहरूले आरोप लगाएका छन् ।

पछिल्लो समय पानीको समस्या झेल्दै आएका उनीहरूले अझ बिल्डिङका मालिक आएर कोठा खाली नगरे प्रहरी लगाउने धम्की दिएको कारण आफूहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ ।

कोठा खाली नगरे मालिकले प्रहरी लगाउनेबारे दूताबासलाई जानकारी गराएको तथा दूताबासले कुनै पनि हालतमा कोठा नछाड्न र केहि समस्या भए हामीलाई खबर गर्न भनेको उनीहरूले बताए ।

८ महिनादेखि विभिन्न संघसंस्थाहरूको सहारामा बसिरहेको बताउँदै उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

यता, यसबारे नेपाली दूताबाससँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेन ।

Published On: Time : 6:08:52  

तपाईको प्रतिक्रिया