सञ्चारकर्मीहरुको समस्या समाधान तत्पर छुः मन्त्री गुरुङ


काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारका समस्या समाधानका लागि आफू सधैँ तत्पर रहेको बताएका छन् । पछिल्लो समय कोभिड–१९ का कारण आमसञ्चारकर्मी र सञ्चार क्षेत्र चरम संकटमा परिरहेको सन्दर्भमा केन्द्रित भई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिअन्तर्गत रहेको साना लगानी मिडिया हकहित प्रबद्र्वन तथा सरक्षण समितिका संयोजक गोविन्दप्रसाद चौलागाईंसहितले पेस गरेको १३ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
सो ध्यानाकर्षण पत्र बझाउने क्रममा समितिका संयोजक चौलागाईंले कोभिडको यस्तो त्रासपूर्ण अवस्थामा श्रमजीवी पत्रकारहरुका समाधान गराउन आग्रह गर्दै साना लगानीमा सञ्चालित पत्रपत्रिकालाई राहत दिन विज्ञापनका नयाँ नीति बनाउन अनुरोध गरेका छन् ।
ध्यानाकर्षण पत्रमा आम जनताबीच क्षण क्षणमा सूचना प्रवाह गरिरहनुपर्ने निकायहरुमा प्रत्यक्ष असर पुग्दा आमजनमानसमा सूचना प्रत्याभूत गराउनसमेत सञ्चार माध्यमलाई कठिन भइरहेको मात्र होइन, सैयौँ सक्रिय सञ्चारकर्मी संक्रमित भई (कोभिड–१९) सँग जुधेर स्वास्थ्यलाभ गरिरहेको उल्लेख गरिएको छ । यस क्रममा हालसम्म ४२१ जना सञ्चारकर्मीहरु संक्रमित भएका छन् भने ४ जनाले ज्यान गुमाउनुपरेको सन्दर्भ जानकारी गराउँदै त्यसरी उच्च जोखिम मोलेर सूचना प्रवाहमा जुटेका सञ्चारकर्मीहरुलाई पारिश्रमिक नदिने र कामबाट निष्कासनसमेत गर्ने गरेका भन्दै त्यस्ता सञ्चारकर्मीहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने पत्रमा उल्लेख छ ।
त्यसैगरी स्वरोजगारमूलक सञ्चार माध्यमहरुले समेत कोभिड नियन्त्रण रोकथाममा सघाउ पुग्ने गरी निरन्तर सूचना तथा समाचारहरु प्रवाह गरिरहेकाले त्यस्ता सञ्चार माध्यमहरुलाई समेत सरकारले उचित सम्बोधन गनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा कोभिडको कारण समयमा सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरेबापत बिल ढिला हुन गएका देशभरका सबै किसिमका (दैनिक, अर्ध–साप्ताहिक साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक) पत्रिकाहरुको विल बुझ्ने र भुक्तानी दिने व्यवस्था यथाशिघ्र गराइदिनुहुन आग्रह गरिएको छ । त्यस्तै, कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै फोकस गरी निःशुल्क सेवा पाउने गरी चिकित्सक परामर्श सेवा उपलब्ध गराउन हटलाइनको व्यवस्था गराइदिनुहुन माग गरिएको छ ।
कोभिड–१९ को त्रासपूर्ण अवस्थामा अग्रभागमा रहेर जोखिम मोल्दै दुर्गम क्षेत्रमा सूचना सम्प्रेषण क्षेत्रमा दिनरात खटिने पत्रकारहरु काठमाडौ धाउनुपर्ने समस्याहरुलाई मध्यनजर राख्दै सूचना तथा प्रविधि मन्त्रालय मातहतको जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाई देशभरका पत्रकार परिचयपत्र प्रदान र नवीकरण गर्नका साथै अनलाइन दर्ता र नवीकरण दर्तासम्मको व्यवस्था गराई संघीयताको मर्म अनुरुप विकेन्द्रित अधिकार दिई पत्रकारहरुलाई राहतको महसुस गराइदिनुहुन पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
त्यस्तै, महासंघले माग गरेबमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागू हुन नसकेको भन्दै समानुपातिक विज्ञापन लागू नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरणको लागि मन्त्रालय तहबाट परिपत्र गराउने काममा सहयोग पु¥याइदिन माग गरिएको छ ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक नदिई यस्तो त्रासको बेला निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कतलाई रोक्दै साँच्चै कोभिडका कारण मर्कामा परेका मिडियाहरुलाई अनुदानको व्यवस्था गर्दै मर्का परेका सञ्चारकर्मीहरुलाई तत्काल पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण बनाउन यथाशिघ्र पहल गरिदिनुहुन पनि माग गरिएको छ भने सञ्चारकर्मीहरुले खरिद गर्ने सञ्चार सामग्रीहरुमा अनुदान उपलब्ध गराइदिनु हुनका साथै सञ्चारगृहरुका लागि सवारीसाधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि पहलकदमी लिइदिनुहुन पनि सञ्चारमन्त्रीमार्फत माग गरिएको छ ।
त्यस्तै, ध्यानाकर्षण पत्रमा अनलाइन सञ्चारमाध्यमको मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउने व्यवस्था गरिदिनुहुन माग गर्दै प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यक्रम यथाशिघ्र पहल गरिदिनुहुन र उमेरले ६० वर्ष माथिका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका ज्याष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहतको घोषणा गरिदिनुहुन माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, केन्द्रीय सदस्य सुरेश यादव, नेपाल टेलिभिजनका बोर्ड सदस्य बालकृष्ण बस्नेत, मनहरि थापालगायत वरिष्ठ पत्रकारहरुको उपस्थित रहेको थियो । त्यस्तै, कार्यक्रममा पत्रकार महासङ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, ललितपुर उपाध्यक्ष सिर्जना तिमल्सिना, उपत्यका प्रदेशका सचिव बिष्णु आचार्यलगायत काठमाडौका वरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

Published On: Time : 12:42:11  

तपाईको प्रतिक्रिया