सरकार ढल्दैन, भ्रममा नपरौँः प्रधानमन्त्री ओली

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा छ । तर, नेकपामा अध्यक्ष तथा प्रधामन्त्री केपी ओली सोमबार पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको घुन्सा पुगेर भने, ‘यो सरकार ढल्दैन । समृद्धि चाहनेहरू सरकारको विरुद्धमा लागेका छन् ।’
नेकपा कतिखेर के हुने हो ? त्यो पार्टीभित्रै नेताहरूलाई समेत थाहा छैन । झन्डै झन्डै फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री ओलीले सचिवालय बैठक नै अघोषितरूपमा बहिष्कार गरेका थिए । नेकपा यतिखेर गुटबन्दीको चरम उत्कर्षमा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीमाथि १९ पाने आरोप पत्र लेखेपछि अहिले नेकपाका विवादले अर्को रूपमा लिएको अवस्थामा प्रधानमन्त्री ओली घुन्सा पुगेका हुन् ।
दाहालको आरोप पत्रको जवाफ दिन १० दिने म्याद मागेर फुर्सदमा निस्किएका प्रधानमन्त्री ओलीले सोमबार घुन्सामा नवनिर्मित एक स्वास्थ्य चौकी उद्घादन गरेपछि भने, ‘वर्तमान सरकारको लोकप्रियता देखेर आत्तिएकाहरू सरकारविरुद्ध खनिएका छन् ।’ उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्नसमेत आग्रह गरेका छन् ।
स्मरणीय कुरा के छ भने गणतन्त्र स्थापनापछि सबैभन्दा आलोचित सरकार पनि यही नै हो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको करिब साढे दुई वर्ष बितिसक्दा पनि सकरात्मक प्रतिक्रिया पाएको कतै पाइएको छ । वर्तमान सरकारले केही राम्रा कामहरू नगरेको होइन तर, कोरोना महामारीको संकटको अवस्थामा समेत यो सरकार भ्रष्टाचारमा लिप्त भएको जनताको आरोप छ । तर, सरकारले आफ्ना जनताको आवाज सुनेको छैन । आफ्नै तारिफमा व्यस्त छ । प्रधानमन्त्री ओलीको यो पछिल्लो अभिव्यक्ति यहीको उदाहरण हो ।
सोमबार प्रधानमन्त्री ओलीले भने, ‘अहिले विभिन्न पक्षले सरकार परिवर्तन हुँदै छ भन्नेजस्ता नकारात्मक सन्देश फैलाइरहेका छन् । यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।’ उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको आरोप लगाए ।
साथै, छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको पनि उनले बताएका छन् । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको दाबी थियो ।
प्रधानमन्त्री भएपछि पहिलोपटक ताप्लेजुङ पुगेका ओलीले हालसम्म कञ्चनजंघामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने बताएर स्थानीयलाई खुसी बनाएका छन् ।
सो अवसरमा कञ्चनजंघा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्साबासी उत्साहित देखिएका थिए । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयबासी हर्षित बनेका हुन् । घुन्सा नमुना गाउँ बन्नेमा समेत उनीहरू विश्वस्त देखिए ।
विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पु¥याउनु परेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेकोजस्ता पीडा स्थानीयबासीमा ताजा छ । तर, घुन्साबासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिएकी छन् ।
प्रधानमन्त्रीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता रहेको टोली सोमबार इलाम जाने कार्यक्रम भए पनि मौसम खराबीका कारण घुन्साबाटै काठमाडौं फर्किएका छन् ।
इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो ।
प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको संगमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

Published On: Time : 3:44:34  

तपाईको प्रतिक्रिया