आचार्य बन्धुदत्तको मूर्ति युक्तिसंगत नभएपछि…


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरूपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य बन्धुदत्तको शालिक काठमाडौंको भूगोलपार्कमा राख्ने विषयले विवादको रूप लिएको छ ।
विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकलायुक्त नभएको र आचार्यपदलाई बज्राचार्यको रूपमा अपव्याख्या गरिएको भन्नेमा रहेको छ ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने बुँङ्गद्योलाई गोरख सम्प्रदायको नाथ र वैष्णव सम्प्रदायको मच्छेन्द्र अवतारको समास गर्दा हुन गएको रातो मच्छिन्द्रनाथलाई बौद्धहरूले चार लोकेश्वरमध्ये एक मान्छन् भने शैवहरूले शिव, नागा, शाक्त, सौर्य सम्प्रदायले सूर्यको नाउँमा उपासना गर्दछन् । यसरी प्राकृतिक, शैव, बौद्ध, नाथ, नागा, शाक्त, गणपद आदि सम्प्रदायको साझा देवतालाई ल्याउन तन्त्रोक्त साधना गरी अतुलनीय योगदान पु¥याउनेमध्ये एक आचार्य बन्धुदत्तलाई बज्राचार्यको पञ्चबुद्ध अंकित मुकुट पहि¥याइदिएको प्रतिमा निर्माणपछि विवादले उग्र रूप लिएको हो ।
निर्माणाधीन मूर्तिमाथि प्रतिक्रिया दिँदै मान्छेहरू विचार पोख्छन्, काठमाडौं महानगरपालिकाले वडा–२२ न्युरोडस्थित भूगोलपार्कमा राखिने भनिएको आचार्य बन्धुदत्तलाई बिनाप्रमाण खाइलाग्दो मोटो कदको पञ्चबुद्ध मुकुटसहित बज्राचार्य भनी अपव्याख्या गर्नु हुँदैन थियो । मूर्तिकारले मूर्ति निर्माण गर्दा विज्ञहरूको सल्लाह, प्राचीन ग्रन्थ पुरातात्विक वास्तुकलाहरूको अध्ययन नगरी भएको निर्माणले विवाद निम्त्याएको हो । हुन पनि मूर्तिकारले मूर्ति बनाउँदा प्राचीन पुरातात्विक वास्तुकलाहरूको अध्ययन अनुसन्धान गरी तथ्यले भनेका आधारमा बनाउनुपर्दछ । आचार्य बन्धुदत्तको नाउँमा बज्राचार्य राख्दा प्राचीन अभिलेखहरूको लिद्यसाँ लिइनुपर्दछ । प्राचीन तथ्यहरू खोज्दै जाने हो भने नेपालको सबैभन्दा पहिलो ६५० वर्षअघिको गोपालराज वंशावलीमा उल्लेखित आचार्य बन्धुदत्त, राजा नरेन्द्रदेव र रथचक्र तण्डुकार (ज्यापु) नै हो ।
त्यसैगरी सर्वप्राचीन मूर्तिको नमुना पाटन तःबहालस्थित मच्छेन्द्रनाथ मन्दिरको राजा नरेन्द्रदेव आचार्य बन्धुदत्त र रथचक्र ललित ज्यापुको संयुक्त मूर्तिको आधार लिइनुपर्दछ । जुन पुरातात्विक मूर्तिमा श्रीपेचसहितको राजा नरेन्द्रदेव परम्परागत पोसाक, दौरा सुरुवाल पटुकीमा रथचक्र ज्यापु र आचार्य बन्धुदत्तको हातमा नागपास समाएका छन् भने भूगोलपार्कमा स्थापनार्थ निर्मित बन्धुदत्त आचार्यको शिरमा पञ्चबुद्धको मुकुट पहि¥याइएको छ । नाउँ बन्धुदत्त बज्राचार्यको प्रस्तुत गरिएको छ, जुन हुनुहुँदैन भन्ने नै मुल विवाद हो । कामरूप कामाक्षा आसामबाट रातोमच्छिन्द्रनाथ लोकेश्वर ल्याउँदा रथचक्र ज्यापुले नाथको प्राण वायु हँश भमराको रूपमा कलशमा राखी ल्याइएको उल्लेख छ तर मूर्तिकारले ललितपुरका ज्यापुलाई खेतमा जान लागेको ज्यापुको प्रतिक खर्पन बोकाएर हदैसम्मको हाँस्यास्पद कलाकारिता देखाएका छन् । जुन तथ्य शास्त्रसम्मत् भएन भन्न सकिन्छ । मूर्ति विवादसँगसँगै उठेको अर्को विवाद आचार्य वन्धुदत्त शैव कि बौद्ध भन्ने पनि हो ।
लिच्छवीकालिन राज्य नेपालमा बन्धुदत्त नाउँका दुई जना पात्र जो कामरूप कामक्षासँग आख्यान जोडिएका छन् । एक पशुपतिका अष्टमातृका पिठमध्ये एक भुवनेश्वरीका पूजारी मृत्युन्जय कर्माचार्यका वंशज र अर्का तेवहाल निवासी बज्राचार्यका वंशज हुन् ।
कर्माचार्य वंशजका आधारित बन्धुदत्तसँग सम्बन्धित आख्यान
दिनुहँजसो आचार्य बन्धुदत्त भुवनेश्वरी पिठको पूजा गर्न जाँदा छोरा पनि पछि पछि लागेको थाहै पाएनछन् । तर पूजापश्चात देवीले तिम्रो पछाडि आइरहेकोलाई बलि देऊ भनी वाचा गराएछन् । बन्धुदत्तले पनि पछाडि हेर्दै नहेरी वाचा स्विकारेछन् । पछाडि हेर्दा त आङ्खनै छोरो देखेर असमन्जस्यमा परेका बन्धुदत्तलाई देवीले नै सम्झाउँदै भनेछन्– कि तिमीले अप्ठ्यारो मान्नुपर्दैन, बलि दिएका छोराको लासमा कामरूपकामाक्षा आसामबाट ल्याइएको अमृतजल छर्किएमा तिम्रो छोराले पुनर्जीवन पाउनेछ । देवीको यहि सन्देश अनुरूप बन्धुदत्त आचाजुले छोराको लासलाई गोप्य आगम कोठामा थुनी आफू जल लिन आसाम पुगे ।
छोरासहित एकाएक बन्धुदत्त गायब भएपछि सधैँ पूज्ने आगम देवताको कोठा खोलेर हेर्दा छोराको लास देखेपछि बन्धुदत्त छोराको हत्या गरी भागेको लख काटी काठमाडौंबासी माइती खलक बोलाएर सदगत गरिदिएछन् । बन्धुदत्त आचाजु अमृतजल लिएर फर्कँदै गर्दा हालको बानेश्वर भनिने छक्कुवक्कु पुग्दा काठमाडौंबासी ससुराली खलकले छोराको सद्गत गरेर फर्किरहेको बताएछन् ।
यस्तो अकल्पनीय खबरले बन्धुदत्त आचाजु सोही स्थानमा ढलेछन् । र, त्यस स्थानमै बन्धुदत्तलाई सिद्धि प्राप्त भएको कथन छ ।
बन्धुदत्तलाई रिंगटा लागेर ढलेको ठाउँलाई देवपत्तनबासीहरूले छक्कुवक्कु भन,े भने सिद्ध भएको पिठलाई छक्कुबक्कु अजिमाँ भन्ने गरेको आख्यान छ । बन्धुदत्तका आधारमा प्रत्येक वर्ष भाद्र शुक्ल भलमल अष्टमीका बेला त्रिशूलजात्रा हुँदा काठमाडौंबासी माइती खलकलाई आमाचकारी गाली गर्दै जात्रा गरिन्छ । मच्छिन्द्रनाथसँग कुनै सम्बन्ध छैन । तर पाटनमा हुने मच्छिन्द्रनाथको रथारोहणअघि पशुपति जय वागेश्वरी मन्दिर अगाडिको मच्छिन्द्र गणेशको सर्वप्रथम पूजा गर्ने परम्परा भने छ ।
बज्राचार्य वंशजसँग जोडिएको बन्धुदत्त आख्यान
कामरूपकामाक्षाबाट बुङद्यो रातोमच्छिन्द्रनाथ नेपाल ल्याई प्रतिष्ठानपनपछि आचार्य बन्धुदत्त नाथको दायाँ गोडामा समाधिलिन भए । बन्धुदत्तको देहान्तपछि उनका तीन छोरीहरूमध्ये भक्तपुरकी छोरीले निःबहालको जग्गा जमिन, काठमाडौंकीले टेबहालसहितको घर सम्पत्ति र ललितपुर भिन्छे वहालकीले आचार्य मुकुट आगम देवता र दुर्लभ शास्त्रहरू अंशमा लिए ।
दुर्लभ शास्त्र लिएका प्रमाण स्वरूप मयुरवर्ण महाविहार भिन्छे बहाःकी छोरी वंशजले आज पनि रातो मच्छिन्द्रनाथको दायाँ पाउमा पिता बन्धुदत्तको नाउँमा पिण्ड पात्र चढाउने परम्परा कायमै छ ।
यी दुई आख्यानलाई विवेचना गर्दा एक मात्र छोराका पिता देवपत्तन भूवनेश्वरी निवासी कर्माचार्य बन्धुदत्त र तीन छोरीकी पिता बज्राचार्य बन्धुदत्त एकै हुन् होइनन् भन्ने तथ्य आजसम्म प्रमाणित हुन सकेको छैन । बज्राचार्य मूल रूपममा जात होइन । जुनसुकै जात, धर्म सम्प्रदायले पनि बज्राभिषेक, घण्टाभिषेकसहितको देखाः प्राप्त गरेकालाई बज्राचार्य भन्न सकिन्छ । कुन चाहिँ बन्धुदत्तले कहिलेदेखि लिए भन्ने पनि स्पष्ट छैन भने नेवार समुदायले बज्राचार्यलाई गुभाजु भनि संबोधन गर्दछन् आचाजु वा आचार्य होइन । ल एक हदबाट बन्धुदत्त बज्राचार्य नै भए पनि सर्वजातीय, सर्वधर्मीय, सर्वलिंगीय समुदायको प्रतिक रातो मच्छिन्द्रनाथका पूजारीलाई एकै मात्र सम्प्रदायमा केन्द्रित गर्न नहुने अभियानकर्ताहरूको आग्रह देखिन्छ । जुन सत्य र तथ्यमा आधारित मान्न सकिन्छ ।

Published On: Time : 5:29:48  

तपाईको प्रतिक्रिया