क्रान्तिकारी माओवादीद्वारा घर्तीमाथि भौतिक कारबाही


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी) ले रुकुम पूर्व पुथ्था उत्तरगंगा गाउँपालिका वडा नं. ७ निबासी रणबहादुर घर्तीलाई भौतिक कारबाही गरेको दाबी गरेको छ ।
घर्तीले असामाजिक कार्य गरेकाले चेतावनी स्वरुप २९ कात्तिक बेलुका उनीमाथि भौतिक कारबाही गरिएको भन्दै सो पार्टीले ३० कात्तिकमा प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।
सो पार्टीको पश्चिम ब्युरोका विधुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा घर्ती (उपप्रधान) हाल नेपाली कांग्रेसका समर्थक सदस्यसमेतलाई ने.क.पा.माओवादी क्रान्तिकारीले निजलाई समाजमा असमाजिक कार्य गरेका हुनाले चेतावनीका लागि कारबाही गरेको उल्लेख छ ।
कारबाहीमा घाइते बनेका घर्ती पञ्चायतकालका (उपप्रधानपञ्च) र बहुदलपछि नेपाली कांग्रेस बनेको विज्ञप्तिमा जनाइएको छ । माओवादी जनयुद्धका सहिद केशरबहादुर पुन मगर (घाते) की श्रीमतीलाई अघोषित रखैल बनाएर पति÷पतिबीच सम्बन्धविच्छेद गर्न पनि लगाएको आरोप सो पार्टीले घर्तीमाथि लगाएको छ ।
साविक रूकुम जिल्ला प्वाङ गाविस किडा गाउँ निबासी तल्कालीन एमालेका नेता खेममान खड्कासँग मिली प्रहरीको साथबाट साविक राङ्सी र कोल गाविस बीचमा उनको हत्या गराएको पनि विज्ञप्तिमा जनाइएको छ । माओवादी द्वन्द्वकालमा तत्काल रूकुम जिल्ला जाङ गाविस वडा नं.३, ४, ५ हाल पुथ्था गापा–८ निवासी माओवादी कार्यकर्ताहरू हतलाल रोका मगर, कुमारजंग मल्ल, खलबहादुर मल्ल, अर्जुन मल्ल, धरमबहादुर मल्ल र पूर्णबहादुर मल्लसमेत गरी ६ जनालाई तत्कालीन शाही नेपाली सेनाको सहयोग लिई हत्या गराएको पनि घर्तीमाथि आरोप लगाइएको छ ।
हाल पनि सोही बमोजिम गलत काम घर्तीले दोहोर्‍याइरहेको भन्दै यसबाट पार्टी र संगठनप्रतिको ठूलो क्षति पु¥याउने अवस्था निरन्तर देखाएकाले उनलाई चेतावनी स्वरुप सामान्य भौतिक कारबाही पार्टीले गरेको विज्ञप्तिमा उल्लेख छ । समाजप्रति बफादार बनेको हेर्ने पार्टीको मूल नीति रहेको भन्दै आगामी दिनमा यस्ता गलत काम गरेको पाइएमा थप कारबाही गरिने विज्ञप्तिमा भनिएको छ ।

Published On: Time : 5:34:54  

तपाईको प्रतिक्रिया