बेइजिङ सम्मेलनः महिला समानता र सम्मानको आधार


नेपाली जनताको एकीकृत आन्दोलनको फलस्वरुप ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । ०४९ सालको अन्त्यमा मैले पुनः काठमाडौं आउने मौका पाएँ । संयुक्त राष्ट्र संघको स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा चौँथो विश्व सम्मेलन चीनको राजधानी बेइजिङमा सन् १९९५ को सेप्टेम्बर ४ देखि १५ (०५२ भदौ १९ देखि ३०) सम्म आयोजना हुँदै गरेको जानकारी पाएँ ।
चौँथो विश्व महिला सम्मेलन (बेइजिङ सम्मेलन) भव्यताका साथ सम्पन्न गर्न विश्वभरी चलिरहेको तयारीमा नेपाल अछूतो रहने कुरै भएन । नेपालमा ०५० साल पुसमा पाँच सदस्यीय अन्जना शाक्यको संयोजकत्वमा (सुशीला श्रेष्ठ, निर्मला शिवाकोटी, सकुन्तला उप्रेती, इन्दु तुलाधर) ‘गैरसरकारी राष्ट्रिय तदर्थ समिति’ इन्हुरेड इन्टरनेसनलको पहलमा बन्यो । मैले पनि त्यस कमिटीको सदस्य बन्ने मौका पाएँ ।
चौँथो विश्व महिला सम्मेलनको तयारीमा महिलाहरुलाई सशक्त बनाउन १२ वटा सवालमा सशक्त बन्नु पर्छ भन्ने कुराले मेरो ध्यान आकर्षण ग¥यो । हामी ती सवालहरुलाई लिएर नेपालको पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा गयौँ । उक्त कमिटीमार्फत यी सवालहरु नेपाली महिलाहरुको बीचमा जानकारी गराउने काममा हामी सक्रिय रहेका थियौँ । यसै बीचमा महिला सुरक्षा दबाब समूहले पनि अर्को समूह बनाउने चर्चा चल्यो । महिला सुरक्षा दबाब समूहको म पनि कार्यसमितिको सदस्य थिएँ । त्यस नाताले पनि म दुई फरक समूह बनाउने पक्षमा थिइनँ । अन्ततः एउटै सम्मेलनको तयारीमा फरक–फरक रुपमा अगाडि बढ्नु नेपाली महिला आन्दोलनका लागि हितकर नहुने हामी सबैको ठहर रह्यो । त्यसैले अन्जना शाक्यको संयोजकत्वमा बनेको ‘गैरसरकारी राष्ट्रिय तदर्थ समिति’ पनि सहभागी भई एउटै प्रतिवेदन बनाउने गरी सन् १९९५ जनवरी १६ (०५१ माघ २ गते) नेपाल ल क्याम्पसको हलमा एउटा भेलाको आयोजना भयो । उक्त भेलाले महिला सुरक्षा दबाब समूहको अध्यक्ष साहना प्रधानको संयोजकत्वमा, गैरसरकारी संस्थाहरूको समिति, ‘नेपाल नेसनल प्रिप्रेटरी कमिटी’ (राष्ट्रिय तयारी समिति, नेपाल ) गठन गरियो । अन्जना शाक्यले नेतृत्व गरेको संस्था ०५० मा नै बने पनि प्रतिवेदन संयुक्त लाने र काम आ–आफ्नो तरिकाबाट पनि गर्न सकिने समझदारी अनुसार काम गरियो ।
चौँथो विश्व महिला सम्मेलनमा भाग लिन नेपालबाट चिनियाँँ सरकारले सहुलियत दरमा मिलाएको चार्टर विमानबाट तिब्बतको राजधानी ल्हासा हुँदै सेक्टेम्बर २ मा बेइजिङ पुग्यौँ । हामीमध्ये धेरैले पहिलोपटक विदेशी भूमि टेक्न पाएका थियौँ । उक्त सम्मेलनमा नेपालबाट धेरै महिलाहरुले भाग लिन सक्ने अवसर सरकार तथा संघसंस्थाहरुले जुटाइदिएका थिए । आज पनि उनीहरुलाई धन्यवाद दिन चाहन्छु । सरकारी र गैरसरकारी छुट्टाछुट्टै दुई ठाउँमा सम्मेलनको कार्यक्रम भएको थियो । चौँथो विश्व महिला सम्मेलनमा सहभागी हुन जाने हामीले पाएको सहयोगलाई एउटै डालोमा राखेर बाँड्ने र एक जनाले पाएको रकम दुईजनाले बाँडेर चलाउने दुवै खाले काम ग¥यौँ । मैले र बिना प्रसाईंले एउटा सहयोग बाँडेका थियौँ । कतिपय साथी व्यक्तिगत खर्च जुटाएर पनि सहभागी भएका थिए । चीन सरकारले आमरुपमा विदेशी नागरिकका लागि चिनियाँ भूमि खुला गरेको थियो । त्यसैले बन्द रहेको चिनियाँ भूमि टेक्ने र चिनियाँ समाजलाई बुझ्ने चाहना हामीमा बढी थियो । चौँथो विश्व महिला सम्मेलनमा नेपालबाट सहभागस् हुन व्यवस्थापनको धेरै पक्षको काममा अन्जना शाक्यको योगदान रहेका थियो ।
चिनियाँ सरकारले त्यत्रो महिलाहरुलाई खाने, बस्ने र सुरक्षालगायत सम्पूर्ण सुबिधाको राम्रो व्यवस्था गरेको थियो । भाषाको भने निकै समस्या महसुस ग¥यौँ । भाषाका केही आवश्यक शब्दहरु प्रकाशन गरी डायरी वितरण गरिएको थियो । भाषा नजान्नाले गर्दा केहि समस्या भए पनि सांकेतिक भाषाले पनि काम चलाइयो । चिनियाँ सरकारले प्रशस्तै स्वयं सेवकहरुको व्यवस्था गरेको थियो । हामीले समस्या राखेपछि धबष्त ब mयmभलत भन्दै अंगे्रजी बुझ्ने स्वयंसेवकलाई लिएर आउँथे र हाम्रो समस्या समाधान गर्ने प्रयत्न गर्थे । नेपालबाट सरकारी र गैरसरकारी संस्थाबाट गरी २०१ जना महिलाहरु र दुई जना पुरुष गरेर कुल २०३ जना चौँथो विश्व महिला सम्मेलनमा सहभागी बन्न पुगेका थियौँ ।
मलाई जापान, अमेरिका, जर्मनी आदि विकसित देशहरुमा महिला समस्या छैन होला भन्ने लाग्थ्यो । तर विश्वभरिका १८० देशका ४० हजारभन्दा पनि बढी विविध भाषा, भेषभूषा र संस्कृतिका महिलाहरु आ–आफ्ना समस्या लिएर आ–आफ्ना भाषाबाट कार्यक्रममा सहभागी भएको देख्दा जुनसुकै भूगोलमा रहे पनि महिलाहरु समस्याबाट मुक्त नभएको पुष्टि हुन्थ्यो । बेइजिङ सम्मेलनको उद्घाटनमा ‘महिला अधिकार मानव अधिकार’ भन्दै हिलारी क्लिन्टनले उद्घोष गरेकी थिइन् । हामी सबैले बेलुन उडाएर ताली बजाउँदै खुसीयाली मनायौँ । त्यति धेरै महिलाहरुले बेलुन उडाउँदा आकाश नै छपक्क ढाकेको थियो । उद्घाटनको मैदानमा आकर्षक सांकृतिक झाँकीहरु प्रदर्शन गरेको थियो । कुनै दिन प्याजी (महिला) रंग त कुनै दिन कालो रंगको लुगा लगाएर प्रदर्शन ग¥यौँ । विश्वका महिलाहरुबीच हातमा हात, साथमा साथ भन्दै एकबद्धता कामय ग¥यौँ । हामी विभिन्न समानान्तर कार्यक्रमहरुमा सहभागी भयौँ । नेपालबाट बालिकाको तर्फबाट आस्था तुलाधरले बोल्ने अवसर पाएकी थिइन् । यसलाई हामी नेपालीहरुले गौरवको रुपमा लिएका थियौँ ।
हामीलाई चीनको विकास प्रगतिका साथै विश्वका आश्चर्यहरुमध्ये ग्रेटवाल पनि अवलोकन गराइएको थियो । विश्वभरीका महिलाहरुको समस्यालाई समाधान गर्न बेइजिङ घोषणा पत्र तथा कार्यनीतिलाई लिएर ‘विश्वलाई महिलाको आँखाले हेरौँ, समानताको सुरुवात घरबाटै गरौँ’ भन्ने अठोटलाई गाउँगाउँसम्म पु¥याउने उत्साहका साथ हामी १९९५ सेक्टेम्बर १८ मा नेपाल फर्किएका थियौँ ।
बेइजिङ सम्मेलनले मेरो दृष्टिकोणलाई फराकिलो बनाइदियो । महिलाहरुको जीवन जिउने आधारलाई परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास बढाइदियो । महिलाहरुको समस्याको समाधान कुनै एउटा समस्यालाई मात्र समाधान गरेर हुँदैन । बेइजिङ सम्मेलनमा पास भएका बेइजिङ घोषणा पत्र तथा कार्यनीतिमा महिला र गरिबी, महिला र शिक्षा, महिला र स्वास्थ्य, महिलाविरुद्धको हिंसा, महिला र सशस्त्र द्वन्द्व, महिला र अर्थतन्त्र, शक्ति संरचना र निर्णय तहमा महिला, महिला विकासका लागि संस्थागत संरचना, महिला मानव अधिकार, महिला र संचार, महिला र वातावरण, बालिका गरी १२ वटा सवाललाई एकीकृत रुपमा अगाडि बढाउने काम गर्नु पर्छ । यी १२ वटै सवाललाई एक अर्कासँग सम्बन्धित बनाई महिला समस्यालाई सामग्रीक रुपले हल गर्न सके उपलब्धिमूलक बनाई महिलाको जीवनमा रुपान्तरण ल्याउन सकिन्छ भन्ने विश्वास जगाइदियो । जसमा सरकार र नागरिक समाजको छुट्टाछुट्टै भूमिका पनि उल्लेख गरिएको छ ।
यो चौँथो विश्व महिला सम्मेलनलाई मैले विश्व महिला आन्दोलनको कोशेढुंगाको रुपमा लिएको छु । यसलाई नेतृत्व गर्ने विश्वका महिलावादी नेताहरुप्रति आभार व्यक्त गर्दछु । बेइजिङ सम्मेलनपछि नेपालमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । यस क्रममा महिला अधिकारवादीहरु समानता र सम्मान प्राप्तिका लागि सरकारी र नागरिक समाजको तर्फबाट काम गरिरहेका छन् । केही सफलता प्राप्त भए पनि अझै व्यवहारमा धेरै परिवर्तन गर्न बाँकी छ । त्यसैले नेपालमा महिला अधिकार प्राप्तिका लागि बियोन्ड बेइजिङ कमिटी गठन गरी समानता र सम्मानको आवाज उठाउन बिपिएफएलाई जनस्तरसम्म पु¥याउन धेरै प्रशिक्षणहरु संचालन गरिएको छ । त्यसको सहयोगले पनि आज धेरै महिलाहरु नेतृत्व तहमा पुग्न सफल भएका छन् । महिलाहरुलाई सक्षम हुने आधार चौँथो विश्व महिला सम्मेलन बेइजिङले दिएको छ । यसको जगमा उभिएर संयुक्त राष्ट्र संघको सदस्य देशहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा ल्याउन थालेको पनि पाँचौँ वर्ष पूरा भइसकेको छ । दिगो विकास लक्ष्यको लक्ष्य ५ ले लैंगिक समानताको बारेमा वकालत गर्छ भने अन्य लक्ष्यहरुले विविध विषयमा वकालत गर्दछ । विश्वसँगै हामीले सबै लक्ष्यहरुमा लैंगिक मुल प्रवाहीकरण गरेर लंैगिक समानता कायम गर्न वकालत गर्दै २०३० सम्ममा ५०ः५० महिला सहभागिता पु¥याउने प्रतिबद्धता जाहेर गरेको छौँ । हामीले धेरै चुनौतीपूर्ण संघर्ष गरेर यो लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । यसबाट नेपाली महिलाहरुले केही अधिकार प्राप्त गरेका छन् । प्राप्त गरेका अधिकारहरु पूर्णरुपमा कार्यान्वयन भने हुन सकेका छैनन् । अहिलेका युवाहरुले हिजोको जस्तो संघर्ष गर्न नपरोस् र प्राप्त उपलब्धिहरुलाई सुरक्षित र संरक्षित गर्न सकून भन्ने लाग्छ । त्यसैले अनुभवहरुलाई पुस्तान्तरण गर्नु पर्ने हाम्रो जिम्मेवारी पनि रहेको छ । हामीले हरेक सवालमा अधिकारका साथै कर्तव्यलाई पनि बोध गराउनु आवश्यक छ । (बियोण्ड बेजिङ कमिटी र राइट हियर राइट नाउको सहकार्यमा)

(लेखक श्रेष्ठ बियोण्ड बेइजिङ कमिटीका अध्यक्ष हुन् ।)

Published On: Time : 4:36:36  

तपाईको प्रतिक्रिया