कोरोना छ, त्रास छैन


काठमाडौं– करिब नौ महिनाअघि चीनको वुहानबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को जोखिम कायमै छ । तर, सर्वसाधारणमा कोभिड–१९ को त्रास छैन । करिब ६ महिने कडा लकडाउन भोगेका सर्वसाधारमा कोरोना त्रास हटेको बजारमा देखिएको भीडभाडले प्रष्ट देखाउँछ ।
काठमाडौंको मुख्य व्यापारिक बजार न्युरोड, असन, दरबारमार्गलगायत सार्वजनिक स्थानमा मानिसको भीड लाग्न थालेको छ । सरकारले लकडाउन तथा निषेधाज्ञा खुकुलो गरेसँगै बढेको चहलपहल अहिले सामान्य अवस्था जस्तै देखिन्छ । मुख्य बजारमा भीडभाड बढेको छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गर्न छाडिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा समेत बिनामाक्स मानिसहरू हिँड्डुल गर्न थालेका छन् । जसले गर्दा पुनः नेपालमा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिसो मौसममा कोरोना संक्रमणले भयावह अवस्था लिन सक्ने भन्दै पटक–पटक चेतावनी दिँदै आएको छ । तर, न नागरिकले सरकारको मापदण्ड पालना गरेका छन्, न त सरकार डब्लुएचओ चेतावनीप्रति नै सजग छ ।
कोरोना संक्रमण बढ्ने भन्दै काठमाडौं उपत्यकामा मेयरहरूले दसैँ र तिहारलगत्तै उपत्यकामा लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । तर, गृहमन्त्रालयले अहिलेको अवस्थामा लकडाउन गर्नु आवश्यक नरहेको जनाएको छ । तर, पछिल्लो समय जुन अवस्थामा संक्रमित थपिँदै छन्, तिनले नेपालमा कोरोनाको त्रास कायममै छ भन्ने दर्शाउँछ ।
बुधबार मात्रै काठमाडौं उपत्यकामा मात्रै ७२३ जना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, बुधबार देशभर १४ सय ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरै थपिएका १४ सय ९० जनासहित नेपालमा संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने १६ हजार ५४७ कोरोनाका सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार बुधबार १५ सय ६७ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । बुधबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ । यस्तै, ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाकारी दिएको छ ।
यसरी दिनदिनै संक्रमित बढिरहे पनि नागरिकस्तरमा स्वास्थ्य मापदण्ड पालना गर्न छाडिएको छ । सरकारले समेत कोरोना संक्रमणबारे चेतना जगाउने कुरालाई महत्व दिएको पाइँदैन । चिसो मौसममा कोरोना भाइरस बढी सक्रिय हुने भन्नै बेलायत, कोरिया, फ्रान्सजस्ता विकसित मुलुकहरूले समेत सचेत हुँदै लकडाउन जारी गरेका छन् ।

 

Published On: Time : 5:07:55  

तपाईको प्रतिक्रिया