इपिएसमार्फत श्रमिकलाई छिट्टै कोरिया लगिने

काठमाडौं– कोभिड–१९ महामारीका कारण बन्द गरिएको रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सन् २०२० का लागि नेपाली श्रमिक लगिने कार्य छिट्टै गरिने भएको छ । बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग गरेको छलफल कार्यक्रममा कोरोनाका कारण सन् २०२० का लागि कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिक ल्याउने कार्यक्रम छिट्टै सुरु गर्ने भनिएको छ ।
कोभिड–१९ महामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याइने र सन् २०२० का लागि कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेहरुको सन्दर्भमा उनीहरुको दुईवर्षे रोस्टरको समयावधिलाई पुनः ६ महिना थप्ने निर्णय पनि भएको जनाइएको छ ।
छलफलका क्रममा कोरिया जानेहरुको दुईवर्षे रोष्टर अवधिलाई पुनः ६ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियुले जनाएको हो । एमटियुका अनुसार छलफलमा कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्ध गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायतको सन्दर्भलाई स्थान दिइएको थियो ।
कोभिड–१९ महामारीका कारण गत मार्चदेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा केही समयदेखि कम्बोडियाबाट भने श्रमिक ल्याउन सुरु गरिएको छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले बताएका छन् । साथै, महामारीलाई मध्यनजर गर्दै नेपालबाट पनि अब छिट्टै श्रमिक ल्याइने वातावरण बनाइने छलफलमा अधिकारीहरुले बताए ।
सन् २०२० का लागि उद्योग र कृषितर्फ गरी कूल ५६ हजार कोटामध्ये ३३ हजार १ सय (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेको जनाइएको छ ।

Published On: Time : 5:13:06  

तपाईको प्रतिक्रिया