कालिकोटमा विप्लवको ‘समानान्तर सत्ता’


सेनाकोे बटालियन घोषणा तयारी
कालिकोट– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ । जिल्लाको ९ वटै स्थानीय तहमा विप्लवले ‘जनसरकार’ घोषणा गरेको हो ।
तीन नगरपालिका र ६ गाउँपालिकामा रहेको जिल्लामा नेकपा कालिकोटका सेक्रेटरी मनिलाल ऐडी ‘रणदीप’ले सरकारले स्थानीय निर्वाचन गठन गरेको स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको दावी गरेका छन् । सरकारद्वारा प्रतिबन्धित गरिएपछि विप्लव नेतृत्वले पहिलोपटक जनसरकार गठन गरेको हो ।
रणदीपका अनुसार जिल्लाको नरहरीनाथ गाउँपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाता गाउँपालिकामा अनरूप विक, खाँडाचक्र नगरपालिकामा अविरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महावै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिएको छ ।
जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधामहावै गाउँपालिकासँग जोडिएको छ । विप्लवले जिल्ला समन्वय समितिको समेत समानान्तर निकायका रूपमा जिल्ला जनसरकार गठन गरेको जनाएको छ, जसमा अर्जुन विकलाई जिम्मेवारी दिइएको जनाएको छ ।
‘हामीले स्थानीय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानीयतहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय पनि गरेका छौँ’ जिल्ला सेक्रेटरी रणदीपले बताएका छन् । स्थानीयतहका जनप्रतिनिधिले पार्टीको जनसरकारले मागेअनुसार कर तिरेर बजेटमा भाग दिएमात्र गाउँमा बस्न पाउने चेतावनीसमेत दिइएको छ ।
यस्तै, पार्टीले जिल्ला अदालतको समानान्तर अदालत जिल्ला (जनअदालत) समेत गठन गरेको छ । जसमा न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको बताइएको छ । स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारका योजनामा अनियमितता भए, गाउँमा जनतालाई अन्याय भए जनअदालतमा उजुरी दिन पाइने यो पार्टीले जनाएको छ । उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने, त्यसपछि जनमुक्ति सेनाले गिरफ्तार गरेर जनअदालतमा हाजिर गराउने र दोषी भए जनकारबाही गर्ने समूहले जनाएको छ ।
विप्लव नेतृत्वले जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गरेको छ । जसअन्तर्गत जिल्लामा रहेका ८ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना तयार पारेको उनले बताएको छ । विप्लव समूहका अनुसार एक प्लाटनमा २५ देखि ३५ जनासम्म जनमुक्ति सेनाभर्ती गरिएको छ । एरिया कमाण्डरका अनुसार आगामी १ फागुनमा जनमुक्ति सेनाकोे बटालियन घोषणा गर्ने तयारी गरिएको छ ।
विप्लव नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीले गाउँमा स्थानीय सरकारले गरेका भ्रष्टाचारविरुद्ध नागरिकलाई जनसरकार र जनअदालतमा उजुरी दिन अपिल गरिएको बताएका छन् । जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्न र भ्रष्टाचार, सामाजिक विकृतिलाई रोक्न पार्टीले जनसरकार र जनअदालतको पनि व्यवस्था गरेको उनको दाबी छ ।

Published On: Time : 3:35:41  

तपाईको प्रतिक्रिया