हत्याको आरोपी निरीक्षकसहित तीन प्रहरी फरार


रौतहट– प्रहरी हिरासतमा चरम यातना दिई दलित युवकको हत्याका आरोपी निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर नवीनकुमार सिंहसहित तीन जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पूर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवक विजय रामलाई यातना दिएर मारेको आरोपमा उनीहरू निलम्बनमा परेका थिए ।
गत ३१ साउन राति गरुडा नगरपालिका–८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेका अभियुुक्त १९ वर्षीय विजय रामलाई प्रहरी हिरासतमा चरम यातना दिएर हत्या गरेको आरोप प्रहरीहरूमाथि रहेको छ ।
प्रहरीद्वारा चरम यातना पाएका रामको १० भदौमा नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनाको छानबिन माग गर्दै दलित अगुवाहरूले चरणबद्ध आन्दोलन गरेपश्चात छानबिन थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रारम्भिक अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक सिंह, प्रहरी हवल्दारद्वउ हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहको संग्लनता देखिएको भन्दै तीनै जनालाई निलम्बनमा गरेको थियो ।
सो घटनापश्चात रौतहटका तत्कालीन एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका थिए भने इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय सरुवा भएका थिए । मृतक युवकका परिवारले ३ जना प्रहरीविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएका थिए । घटनामा दोषी देखिएका इन्स्पेक्टरसहित ३ प्रहरीमाथि प्रहरी नियमावली, ०७१ को (नियम ११५) ४ बमोजिम थप अनुसन्धान तथा जाँचबुझ हुन्जेलसम्मका लागि निलम्बन गरिएको जनाइएको छ ।
आरोपित प्रहरी निरीक्षकसहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि १७ मंसिरमा उनीहरूको स्थायी ठेगानामा पक्राउ पूर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । फरार प्रहरीहरू भारतमा लुकेर बसेको हुन सक्ने रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताएका छन् । उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी कानुनी कठघरामा उभ्याउने एसपी शाहले बताएका छन् ।

Published On: Time : 2:43:18  

तपाईको प्रतिक्रिया