जापान प्रवेशमा रोक


काठमाडौं– नयाँ प्रकारको कोरोना भाइरस संक्रमण देखा पर्न थालेपछि जापानले आफ्नो देश प्रवेशमा रोक लगाएको छ । जापानमा ७ जनामा कोरोना भाइरस संक्रमणको नयाँ रुप देखिएपछि सोमबारदेखि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने जनाइएको हो ।
बेलायतमा भेटिएको नयाँ खालको कोरोना भाइरस अचानक जापानमा सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमबारबाट लागू हुने गरी केही समयका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ । बेलायत र खाडी मुलकहरुले केही दिन अघि नै नयाँ खाले कोरोना भाइरसको संक्रमण देखिएसँगै एक हप्ताका लागि भनेर प्रवेशमा रोक लगाइसकेका छन् ।
जापानले यसअघि चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय नयाँ प्रबृत्तिको कोरोना देखिएपछि जनवरीको अन्त्यसम्मका लागि प्रवेशमा रोक लगाउने जापान सरकारले निर्णय गरेको छ ।
जापान प्रवेशमा अन्य देशका नागकिरलाई रोक लगाइएपनि थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध नलगाइने त्यहाँको सरकारले निर्णय गरेको छ । साथै, नेपालमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकाले यहाँबाट जापान प्रवेशमा रोक लगाइएको पनि जनाइएको छ ।

Published On: Time : 4:50:47  

तपाईको प्रतिक्रिया