एक हप्तासम्म नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण


दोहा– एनआरएनए कतारले नेपाली श्रमिकका लागि एक हप्तासम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो ।
कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद् आगामी २२ जनवरीदेखि २८ तारिखसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १५ जना इस्पिलियस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।
उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल बाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४ः०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म संचालन उनले बताए ।
माथि उल्लेखित मिति, स्थान र समयमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनसमेत कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय सबैमा अनुरोध गरिएको छ । संघले यसघि पनि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन
यसैबीच, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ भाइरसविरुद्ध फाइजरको खोप लगाउन सकिने
समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।
संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायत भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरुद्धमा प्रभावकारी हुने देखाएको हो ।

Published On: Time : 5:07:18  

तपाईको प्रतिक्रिया