एपिएफ दुई खेलअगावै लिग च्याम्पियन


काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को टोली एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ ।

बुधबारको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल मैदानमा भएको बुधबारको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपिएफले उपाधि सुनिश्चित गरेको हो । यद्यपि बुधबारको अर्को खेलमा एपिएफले विराटनगरलाई १–० ले पराजित गर्दा जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

राष्ट्रिय महिला लिगको उपाधि उचालेको एपिएफको सुखद नतिजालाई निरन्तरता दिन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो ।
यसअघि पहिलो खेलमा आर्मीकी पुनम जर्गा मगरले १७औं मिनेटमा आत्मघाती गोल गरे पछि पुलिसले खेलमा सुरुआती अग्रता पाएको थियो । अमृता जैशीले हेड गरेको बललाई पुनम रोक्ने प्रयास गर्दा गोल भएको थियो ।

पहिलो हाफमा अग्रता पाएको पुलिसल दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन । ५५औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि आर्मीले स्पष्ट जितका लागि आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेनन् र दुबै टोलीले अंक बाँडे । बराबरीसँगै आर्मीको उपाधि यात्रा समाप्त हुँदा एपिएफले उपाधि उचाल्न सफल भएको थियो ।

लिग विजेता एपिएफले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो र तेस्रो र चौथो हुने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।
लिगमा बिहीबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

Published On: Time : 7:05:29  

तपाईको प्रतिक्रिया