एनआरएनएद्वारा सुपरिवेक्षण समिति गठन


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपाली श्रमिकको उद्दार तथा राहत कार्यमा भएको खर्चको पारदर्शिताका लागि ३ सदस्यीय सुपरिवेक्षण समिति गठन गरेको छ ।

सामाजिक सञ्जालमार्फत श्रमिकको उद्दार तथा राहत सम्बन्धमा विभिन्न टीकाटिप्पणी चलेपछि एनआरएनएका सचिव आरके शर्मा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र महिला संयोजक भोमादेवी लिम्बू सम्मिलित समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

एनआरएनका अनुसार गठन भएको समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषद्मा एक उपसमितिमार्फत अनुगमनको तयारी तीव्र बनाएको छ । साथै संघले यस कार्यक्रमको समग्ररूपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको एनआरएनएले जनाएको छ ।

विदेशमा रहेका नेपाली श्रमिकको राहत तथा उद्दार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरूको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा सञ्चार माध्यम र टीकाटिप्णीहरूप्रति संवेदनशील रहेको पनि एनआरएनएले जनाएको छ । समितिले अनुगमनका क्रममा राहत तथा उद्दारका नाममा आर्थिक हिनामिना गरेको त्रुटि फेला पारेर पुष्टि भएको खण्डमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने एनआरएनएले जनाएको छ ।

कोभिड– १९ को महामारीपछि हालसम्म पनि उद्दार र सहयोगको काम जारी रहेको अवस्थामा विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको एनआरएनएले जनाएको छ । एनआरएनएका अुनसार हालसम्म मध्यपूर्वका विभिन्न देशबाट १ सय ६५ जनालाई हवाइ टिकट सेवा उपलब्ध गराइएको छ ।

यसैगरी २ सय ४५ जनाको पिसिआर परीक्षण, ४ सय ५३ जनालाई कानुनी परामर्श सेवा, २ हजार ७ सय १३ जनालाई गन्तब्य मुलुकहरूमा खाना तथा बासको ब्यवस्था, २ सय ४९ जनालाई पुनः रोजगारीमा फर्काउन सहयोग, ३ हजार ४ सय ७९ जनालाई दूतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरूमा समन्वयात्मक सहयोग पुर्याइएको एनआरएनएले जनाएको छ ।

विदेशबाट फर्केपछि पनि समस्यामा परेका ९ सय ५७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूको घरसम्म जानका लागि यातायात खर्चसमेत सहयोग प्रदान गरिएको एनआरएनएले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरूका कोरोना क्वारेन्टिन सेन्टरहरूका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरू समेत प्रदान गरिएको एनआरएनएले जनाएको छ ।

१० अर्ब लगानी भित्र्याईदै-

यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) पहिलोपटक विदेशीबाट १० अर्ब रकम नेपालमा भित्र्याएर समृद्ध नेपालको विकासमा योगदान पुर्याइउने भएको छ । बिहीबार एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएसँगै उक्त कामको शुभारम्भ भएको छ ।

बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी र चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन् । यस कम्पनीमार्फत नै नेपालमा १० अर्ब लगानी भित्र्याउन सपना साकार भएको देखिएको छ ।

एनआरएनएका अनुसार १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ । संस्थापक अध्यक्ष महतोले देखेको सपना मात्र नभएर नेपालको विकासमा एनआरएनएले खेल्नुपर्ने भूमिका पनि छिट्टै पूरा हुन लागेको बताइएको छ ।

कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकाले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्नसक्ने एनआरएनएले जनाएको छ । नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ ।

त्यस्तै संस्थापककोतर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको एनआरएनएले जनाएको छ । साथै, अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् ।

Published On: Time : 6:07:51  

तपाईको प्रतिक्रिया