७५ प्रतिशतले घट्यो संस्थागत ठगी

काठमाडौं– आर्थिक वर्ष २०७६÷७७ को अर्धवार्षिक अवधिसँग २०७७÷७८ को अर्धवार्षिक अवधि तुलना गर्दा संस्थागत ठगीको उजुरी ७५ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको यस वर्षको अर्धवार्षिक तथ्यांकअनुसार अघिल्लो वर्षको अर्धवार्षिक अवधिभन्दा ७५ दशमलब ३२ प्रतिशत अर्थात् १ सय ८७ वटा संस्थागत ठगीको उजुरी परेको छ ।

अघिल्लो आ.व. को अर्धवार्षिक अर्थात् छ महिनामा ७ सय ५८ संस्थागततर्फ ठगी उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ । विभागको यस वर्षको अर्धवार्षिक तथ्यांकअनुसार संस्थागततर्फ दाबी रकममा ७६ दशमलब ५० प्रतिशत र विभागीय निर्णयबाट भएको जरिवानातर्फ १४ दशमलब ५६ प्रतिशतले घटेको छ ।
दुई आर्थिक वर्षको छ महिनाको तुलना गर्दा अघिल्लो वर्षको अर्धवार्षिक दाबी रकम २३ करोड ९१ लख ५ हजार १ सय ९३ रहँदा यस वर्षको अर्धवार्षिक दाबी रकम ५ करोड ६१ लख ६९ हजार ९ सय ४६ रहेको छ । जुन ७६ दशमलब ३२ प्रतिशले कम हो ।

त्यस्तै, विभागीय निर्णयतर्फ अघिल्लो वर्षको अर्धवार्षिक अवधिमा ५१ लख ५० हजार र यस वर्षको अर्धवार्षिक अवधिमा ४४ लाख जरिवाना भएको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो वर्षको अर्धवार्षिक अवधिभन्दा १४ दशमलब ५६ प्रतिशतले कम हो । यसैगरी बिगो÷फरफाराकतर्फ अघिल्लो वर्षको अर्धवार्षिक अवधिमा ४ करोड २ लाख ७८ हजार ५ सय र यस वर्षको अर्धवार्षिक अवधितर्फ ६ करोड ६८ लाख ५३ हजार ४ सय ७३ दशमलब २६ रुपैयाँ तिराइएको छ । जुन अघिल्लो अर्धवार्षिक अवधिभन्दा ६५ दशमलब ९७ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

संस्थागत ठगीतर्फ नै आ.व. ०७५÷७६ मा १ हजार २ सय ६३ र आ.व. २७६÷७७ मा ९ सय १४ वटा उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार दाबी रकमतर्फ आ.व. ०७५÷७६ मा २९ करोड ६३ लाख २० हजार ४ सय ३४ र आ.व. २७६÷७७ मा ३४ करोड ६७ लाख ६९ हजार ५ सय ६६ रुपैयाँ रहेको छ ।

संस्थागत ठगीतर्फ नै ०७५÷७६ मा विभागबाट निर्णय भई ८७ लाख ५० हजार र ०७६÷७७ मा ६८ लाख ५० हजार जरिवाना गरिएको विभागको तथ्यांकमा देखिन्छ । यस्तै, बिगो÷फरफाराकतर्फ ०७५÷७६ मा ९ करोड ५९ लाख ३३ हजार २ सय ४९ र ०७६÷७७ मा ४ करोड ९२ लाख ७० हजार ५ सय रुपैयाँ संस्थागत ठगीतर्फ तिराइएको छ ।

आ.व. ०७६÷७७ मा २ हजार १ सय ८८ इजाजतप्राप्त वैदेशिक रोजगार संस्था (म्यानपावर कम्पनी) हरुमा अनुगमन गरिएको तथ्यांकमा देखिन्छ भने ०७५÷७६ मा ४ सय ३२ संस्थामा मात्र अनुगमन गरिएको तथ्यांकमा उल्लेख छ । व्यक्तिगत ठगीतर्फ आ.व.०७६÷७७ मा ८ सय ५५ र यस वर्षको हालसम्म ३ सय ४१ उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, व्यक्तिगत ठगीतर्फको दाबी रकममा गत वर्ष ५६ करोड ११ लाख २९ हजार १ सय ८४ र यस वर्षको हालसम्म २४ करोड २२ लाख ३३ हजार ७ सय ६ रुपैयाँ रहेको जनाइएको छ ।

अघिल्लो वर्ष व्यक्तिगत ठगीतर्फ २ सय ९ र यस वर्षको हालसम्म २ सय १ मुद्धा अदालतमा दायर गरिएको तथ्यांकमा उल्लेख छ । यस्तै, अदालतमा बिगो दाबी गरिएको रकमतर्फ गत वर्ष २२ करोड ५६ लाख ९३ हजार ३ सय ७१ र यस वर्षको हालसम्म २० करोड ५८ लाख ६५ हजार ४ सय ९५ रुपैयाँ रहेको छ । २३ माघ ०७६ मा विभागको २०औँ महानिर्देशकका रुपमा आएका महानिर्देशक दाहालले पछिल्लो समय वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कडा कदम चालिरहेका छन् । उपत्यका र उपत्यकाबाहिर म्यानपावर कम्पनीमा अनुगमनका विभागका टोली खटिरहेका छन् । वैदेशिक क्षेत्रको शुद्धीकरणतर्फ महानिर्देशकविरुद्ध व्यवसायीहरु उत्रिए पनि महानिर्देशक दाहालले कानुनभन्दा माथि कोही पनि नरहेको बताउँदै आफ्नो काममा अघि बढिरहेका छन् ।

 

Published On: Time : 5:52:13  

तपाईको प्रतिक्रिया