जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी

काठमाडौ– कतारमा काम पठाउन जिटुजी प्रणाली अपनाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले बताएका छन् । आइतबार वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ पाठ्यक्रमअनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई सरकारी तवरबाटै विदेश पठाउने विषयमा छलफल भइरहेको बताएका छन् । मन्त्री चौधरीले कतारमा आउँदो विश्वकपका लागि सरकारी तबरबाटै नेपाली श्रमिक पठाउने गरी छलफल अघि बढेको जानकारी गराए । ‘मैले कतारी राजदूतसँग छलफल गरेको छु, विश्वकपका लागि उनीहरुलाई पनि श्रमिक चाहिएको छ, त्यसैले बरु पुरानो श्रम समझदारीको संशोधन गर्दै सरकारी तबरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोली बसेर छलफल गर्छौँ,’ मन्त्री चौधरीले भने ।

सोही कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वैदेशिक रोजगार व्यवसायीलाई गलत तरिकाले रकम नलिन आग्रहसमेत गरेका छन् । मन्त्री चौधरीले कुनै पनि म्यानपावर कम्पनीले सर्वसाधारण युवालाई ठगेमा मन्त्रालय र विभाग कारबाही गर्न पछि नपर्ने भन्दै सही तरिकाले काम गर्न र कसैलाई पनि नठगी काम गर्न निर्देशन दिएका छन् । लाखौँ रकम लिने र रसिद १० हजार दिने चलनले कारबाही गुर्नु पर्ने चुनौती थपिएको भन्दै गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई कुनै पनि हालतमा नछाड्ने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले गलत काम गर्ने म्यानपावर व्यवसायीलाई कडाइका साथ कारबाही गर्न विभाग र बोर्डलाई निर्देशनसमेत दिए ।
यस्तै, जापानमा श्रमिक पठाउनका लागि पनि कार्यविधि तयार गर्न लागिपरेको र इजरायलका सन्दर्भमा पनि अब छिट्टै काम सकिने उनको भनाइ छ । मन्त्री चौधरीले नयाँ परिमार्जन गरिएको पाठ्यक्रमले श्रमिकलाई फाइदा हुने बताउँदै अभिमुखीकरण तालिम थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कतिपय सन्दर्भमा प्रमाणपत्र दिने तर अभिमुखीकरण तालिम चाहिँ नलिइएको पाइएको भन्दै मन्त्री चौधरीले अब मन्त्रालय आफैँले अनुगमन गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नयाँ पाठ्यक्रमलाई कडाइका साथ लागू गरिने र अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन् । उनले ०७० देखि नै अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाउनु पर्ने आवाज उठिरहेको भन्दै बोर्डले झन्डै साढे एक वर्षको समयावधि लगाएर पाठ्यक्रम परिमार्जन, देशगत म्यानुअललगायत तयार पारेको जानकारी दिए । अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक पाठ्य सामग्रीहरु उपलव्ध गराउनेलगायत सहयोग गर्ने भन्दै तालिमलाई अझ गुणस्तरीय बनाउन पनि उनले आग्रह गरे । कार्यक्रममा बोल्दै अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले नयाँ पाठ्यक्रमले वर्तमान माग सम्बोधन गरेको र समयानुकूल बनाइएको भए पनि दुई दिनको तालिममा शुल्कको विषयमा आफूहरु सन्तुष्ट नरहेको बताए । न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै उनले अभिमुखीकरण प्रदान गर्ने संस्थाहरुको समस्या पनि सम्वोधन गरिनुपर्ने धारण व्यक्त गरे ।

Published On: Time : 7:34:37  

तपाईको प्रतिक्रिया