कुवेतमा रातको समयमा कर्फ्यू


काठमाडौ– कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न कुवेत सरकारले एक महिनाका लागि रातिको समयमा कर्फ्यू लगाउने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कुवेत सरकाले आइतबार अर्थात ७ मार्चदेखि ८ अप्रिलसम्मको लागि कर्फ्यू लगाउने भएको हो ।

कुवेतको न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको त्यहाँको मन्त्रिपरिषद्को बैठकले कर्फ्यू लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय सययअनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लाग्ने भएको हो । यस्तै ८ अप्रिलसम्म सबै पार्कहरु पनि बन्द गरिनेछन् । तर प्रार्थनाका लागि नजिकका मस्जिदसम्म जान भने कुनै रोक नलगाइने पनि जनाइएको छ ।

कर्फ्यू लागू भएसँगै गैरकुवेतीलाई कुवेत प्रवेशमा रोकसमेत लगाइएको छ । तर कुवेती नागरिक तथा उनका आफन्त, घरेलु कामदार र कूटनीतिज्ञहरुलाई भने कुवेत प्रवेशमा कुनै अवरोध नहुने बताइएको छ । कुवेत प्रवेशपछि अनिवार्य रुपमा १४ दिनको क्वरेन्टिनमा भने बस्नुपर्ने मन्त्रिपरिषद्को निर्णयलाई उद्धृत गर्दै समाचार एजेन्सी कुनाले लेखेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म त्यहाँ १२ हजार ७१ जना कोरोना संक्रमित कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएकामध्ये एक सय ६७ जनाको आइसियूमा उपचार भइरहेको जनाइएको छ ।

Published On: Time : 7:55:16  

तपाईको प्रतिक्रिया