कतार प्रहरीमा माग छैनः विभाग


काठमाडौं– पछिल्लो समय कतार प्रहरीमा नेपाली युवाहरूको लागि माग आएको विज्ञापन सामाजिक सञ्जालदेखि सञ्चारका माध्यममा समेत देखिएका छन् । आकर्षक तलब दिइने भनी गरिएको विज्ञापनमा कुनै सत्यता नभएको सरकारी निकायले प्रष्ट पारेको छ ।

वैदेशिक रोजगार विभागले हालसम्म कतार प्रहरीका लागि कुनै पनि किसिमको माग (डिमान्ड) नआएको प्रष्ट पारेको हो । विभागले सोमबार एक सूचना जारी गर्दै कतार प्रहरीका लागि कुनै पनि किसिमको मागपत्र नआएको भन्दै ठगिनबाट बच्न आग्रह गरेको हो ।

विभागले कतार प्रहरीमा पठाइदिने भनेर पैसा माग्न खोज्ने व्यवसायी तथा एजेण्टबाट बच्नसमेत आग्रह गरेको छ । पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट संकलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्नेलगायतका अवैधानिक कार्यहरू गरिरहेको भन्दै विभागमा गुनासो आएको र त्यसबाट बच्न विभागले सबैलाई अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको गन्तव्य देश कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको तर कतार प्रहरीको लागि नै भनेर कुनै पनि माग नआएको विभागले जानकारी गराएको हो । कतारमा रहेको नेपाली दूताबासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भई नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।

विभागको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रूपमा जारीरहेको भएता पनि कतार प्रहरीका लागि हाल कतारस्थित नेपाली राजदूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्वस्विकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने संभावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।’ यस्तै, कुन–कुन गन्तव्य देशमा के–कस्तो कामको लागि कति संख्यामा कामदारको माग आएको तथा कुन म्यानपावरले पठाउनेलगायत सम्पूर्ण जानकारीको लागि विभागको वेबसाइटमार्फत् यकिन गरेर सम्भावित ठगीबाट बच्न पनि विभागले आग्रह गरेको छ ।

Published On: Time : 6:45:54  

तपाईको प्रतिक्रिया