एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बन


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले कोषाध्यक्ष विक्रमजंग कुँवरलाई निलम्बन गरेको छ । नक्कली हवाइ टिकट बेचेको आरोपमा कोषाध्यक्ष कुँवरलाई पदबाट निलम्बन गरिएको हो ।

पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालकसमेत रहेका कोषाध्यक्ष कुँवरले नक्कली हवाइ टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल आउन ११ जनाले काटेको हवाइ टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६ सय २० युरो अर्थात करिब रु ७० हजार नेपाली तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको बताइएको छ । सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले लक्ष्मी ट्राभलमा छापासमेत मारेको बताइएको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको जनाइएको छ ।

सञ्चालक कुँवरले भने अफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालोसँचीमा परेकोले समस्या आएको बताएका छन् । पोर्चुगलमा अवस्थित नेपाली संघ संगठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु निन्दनीय भएको बताएका छन् ।

Published On: Time : 6:35:20  

तपाईको प्रतिक्रिया