कतार प्रहरी सेवामा भर्ना प्रक्रिया स्थगित


काठमाडौं– कतारले नेपालीलाई त्यहाँको प्रहरी गर्ने भनेको भर्ना प्रक्रिया स्थगित भएको छ । नेपाल र कतारी अधिकारीबीच सहमति जुट्न नसकेपछि १० हजार नेपालीलाई भर्ना गर्ने भनिएको यो प्रक्रिया स्थगित गरिएको हो ।

भर्ना प्रक्रियाको विषयमा नेपालले राखेको अडान स्पष्ट नभएको कतारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार कहिले जिटुजी (सरकार–सरकार) त बीच सम्झौता गरौँ भन्ने पस्ताव आएको तथा कहिले बिटुबी (बिजनेस टु बिजनेस) को पस्ताब आएको छ । जसका कारण अहिलेलाई भर्ना प्रक्रिया स्थगित गरिएको ती अधिकारीले बताएका छन् ।

कतारले सन् २००५ मै दुई देशबीच श्रम सम्झौता भइसकेको हुँदा त्यही आधारमा प्रहरी सेवामा पनि भर्ना हुनुपर्ने अडान राखेको छ । यो दीर्घकालीन रोजगार भएको भन्दै खाली विश्वकपको आयोजनाका लागि मात्रै यो प्रक्रिया सुरु नगरिएको कतारले जनाएको छ । कतारले नेपालीसहित अफ्रिकी राष्ट्रबाट समेत सुरक्षा सेवामा श्रमिक ल्याउने तयारी गरिरहेको बताइएको छ ।

कतारका अधिकारीका अनुसार सरकारी कार्यालयदेखि भिआइपीहरूको सुरक्षाका लागि उक्त कामदार लैजान लागिएको हो । यो निजी कम्पनीको जस्तो नभई सरकारी सेवाकै सुरक्षाकर्मी रहेको बताइएको छ । यता नेपाल भने सुरक्षाकर्मीका लागि छुट्टै श्रम सम्झौता हुनुपर्नेमा पक्षमा देखिएको छ । ‘सुरक्षा गार्डको काममा सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाउने प्रयास गरिरहेका रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बताएका थिए । कतारमा आयोजना हुने विश्वकपका लागि सरकारी तवरबाट नै सुरक्षा गार्ड पठाउन खोजिएको मन्त्री चौधरीले २३ फागुनमा वैदेशिक रोजगार बोर्डद्वारा आयोजित कार्यक्रममा बताएका थिए ।

हतियारधारी सुरक्षाकर्मी नभएको हुँदा विशेष सम्झौता आवश्यक नपर्ने कतारको भनाइ छ । गत घ मंसिरमा सय जनालाई लैजानका लागि अन्तर्वार्ता गरिएको थियो । त्यसअघि गत वर्षको फागुनमा १ सय ७९ जनालाई लगिएको थियो । उनीहरू प्रहरी सेवामा हाल दोहामा कार्यरत छन् । यता वैदेशिक रोजगार विभागले सोमबार विज्ञप्ति निकाल्दै कतार प्रहरीको भर्ना प्रक्रियामा चलखेल भइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको थियो । कतार प्रहरीको रूपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाली युवाहरुलाई प्रलोभनमा पारी राहदानीलगायत कागजात संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्नेजस्ता अवैधानिक कार्यहरू भइरहेको गुनासो प्राप्त भइरहेको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कतार प्रहरीका लागि हाल कतारस्थित नेपाली दुताबासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र विभागबाट पनि हाल कुनै पनि पूर्वस्विकृति प्रदान गर्ने कार्य नभएको हुदा कतार प्रहरीको नाममा हुन सक्ने सम्भावित ठगीबाट बच्न विभागले अनुरोध गरेको छ । कतारको प्रहरी सेवामा भर्ति हुन २५–३६ उमेर र उचाइँ ५.८ फिट तोकिएको छ । करार अवधि भने पछि नवीकरण हुने गरी ५ वर्ष तोकिएको छ । भर्ना हुनेले तालिमको समयमा ३ हजार रियाल र तालिम सकेपछि भने ६ हजार रियाल पाउने बताइएको छ ।

Published On: Time : 6:42:25  

तपाईको प्रतिक्रिया