आँधी तुफान २ फ्लोरमा


काठमाडौं– कोरोना महामारीको कारण बन्द भएको चलचित्र क्षेत्र कहिलेदेखि खुल्छ भन्ने अन्योल कायम छ । अन्य क्षेत्र विस्तारै सहज हुँदै जाँदा पनि चलचित्र क्षेत्र खुलाउने विषयमा कुनै तयारी छैन । त्यस्तै हलहरू खुलाउँदा पनि दर्शक हलसम्म नआउने समस्याले चलचित्रकर्मीहरूलाई पिरोलिरहेको छ । गत वर्ष कोरोना महामारीका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । लकडाउन अन्त्यपछि भने थुप्रै फिल्म निर्माण भए । केही नयाँ फिल्म प्रदर्शनमा पनि आए । तर, कोरोनाले थिलथिलो भएको फिल्म क्षेत्र जुर्म‘राउन नपाउँदै फेरि कोरोनाको दोस्रो महामारीले थला परेको छ । विगत तीन महिनादेखि
फिल्म निर्माण र प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड हुने विभिन्न क्षेत्र खुलेका छन् । तर, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन सरकारले कुनै चासो देखाएको छैन । अब निर्माताहरू सरकारको निर्णय बेवास्ता गर्दै निषेधाज्ञाका कारण अधुरैमा रोकिएको फिल्मको छायांकन सुरु गर्न कस्सिएका छन् । केही निर्माताले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु पनि गरिसकेका छन् ।
निषेधाज्ञाभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, संक्रमण बढेको भन्दै काठमाडौंमा निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन रोकियो । निषेधाज्ञा खुकुलो भएसँगै फिल्मको छायांकन सुरु भएको छ । आइतबार काठमाडौंको एक स्टुडियोमा इन्डोर छायांकन गरिएको फिल्मको सोमबारदेखि धुलिखेलमा छायांकन भइरहेको छ ।
फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेको जानकारी दिएका छन् । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि छायांकन सुरु गरिएको उनको भनाई छ । भदौ पहिलो साताभित्र फिल्मको छायांकन सक्ने योजनामा निर्माण टिम छ । मदन घिमिरेले फिल्मको निर्देशन गरिरहेका छन् ।
फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्र‘व कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ ।

Published On: Time : 3:18:01  

तपाईको प्रतिक्रिया