विश्व वल्लभलाई स्रष्टा सम्मान


काठमाडौं– गीतकार संघ नेपालले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ यो वर्ष असोजमा हुने भएको छ । कार्यक्रम कोभिडका कारण गत वर्ष हुन नसके पनि यो वर्ष आगामी असोजको पहिलो साता गर्ने तय गरिएको हो ।
संघद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष नवौँ ‘अमर भावना राष्ट्रिय सम्मान,’ वर्ष गीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार, डायस्पोरा गीतकार सम्मान’ र यस वर्षबाट प्रदान गर्न लागेको ‘विष्णु–मनसरा घले मातृभाषा गीतकार सम्मान’ वितरण गरिने छ । संघले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान ०७७’ बाट विशिष्ट गीतकार विश्व वल्लभलाई रु. एक लाख ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गर्ने छ ।
त्यस्तै हरेक वर्ष प्रदान गरिदै आएको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार हरि उप्रेतीलाई प्रदान गरिने छ । यस वर्षबाट प्रदान गरिने ‘विष्णु–मनसरा घले मातृभाषा गीतकार सम्मान ०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई दिइने छ ।
संस्थामा आवद्ध सदस्यहरूले ०७७ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रूपमा दर्ता भएको गीतहरू मध्येबाट ‘वर्ष गीत पुरस्कार ०७७’ मा १० गीत छनोटमा परेका छन् । जसमा ‘चुडी जाने’ (राजु थापा) ‘आफैँ हिँड्ने’ (रमेश दाहाल), ‘सोच्दैछु’ (सुरेश आले), ‘तस्विर’ (रविन्द्र आशिष शैली), ‘तिमिलाई’ (ध्रुब अमगाई), ‘गन्जी मैलो’ (रमेश अधिकारी), ‘यही देशमा’ (एचके धिताल), ‘यो कस्तो कहर’ (प्रवल बिष्ट), ‘बाँचुन्जेल हाँसो’ (बिबी थापा) र ‘एकान्तमा’ (अगम बिकराल) रहेका छन् ।
वर्ष गीततर्फ यो वर्ष ‘मनको आकाश’ (गणेश श्रेष्ठ), ‘अपेक्षा,’ ‘फूलको मुस्कान’ (घन बहादुर थापा मगर), ‘नथाक्ने मान्छे’ (जेबी थुलुङ) रहेका छन् । छानिएका उत्कृष्ट १० गीतहरू र तीन पुस्तक मध्येबाट विशेष समितिले चयन गर्ने एक÷एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रमस्थलमै घोषण गरी प्रत्येकलाई रु. ५७ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष शुभ मुकारुङले जानकारी दिए ।

Published On: Time : 3:03:56  

तपाईको प्रतिक्रिया