जिटुजीको औचित्य छैनः सचिव गौतम


काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव सूर्यप्रसाद गौतलमले जिटुजीको जरुरी नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वैदेशिक रोजगार पत्रकार समाजको १२औँ साधारण सभामा बोल्दै सचिव गौतमले व्यवसायीलाई करोडौँ धरौटी राख्न लगाएर काम गर्न लगाइएकाले जिटुजी आवश्यक नरहेको बताएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीहरूसँग करोडौँ रकम धरौटी राखेर अविश्वास गर्नु चिन्ताको विषय भएको भन्दै सचिव गौतमले त्यसका लागि विश्वासको वातावरण बनाएर काम गर्नु पर्ने बताएका छन् । व्यवसायीलाई नै श्रमिक पठाउने जिम्मेवारी दिएर सरकारले सहजीकरण गर्नु पर्ने उनले बताए ।

अहिले नेपालबाट रोजगारीका लागि कोरिया र इजरायलमा जिटुजी प्रणालीबाट श्रमिक पठाउने काम भइरहेको छ । अन्य मुलकमा भने वैदेशिक रोजगार व्यवसायीहरूले पठाउने गरेको बताइएको छ ।
सबै काम सरकारले गर्नेभन्दा पनि व्यवस्थित कसरी बनाउने भन्ने कुरामा ध्यान दिनु पर्ने उनले बताएका छन् । व्यवसाय गर्ने जिम्मा व्यवसायीलाई दिएर सरकारले श्रम सम्झौता गर्ने र वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ सरकारले ध्यान दिनु पर्ने उनको धारणा थियो ।

यसैबीच, सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम स्थानीय तहबाट नै गर्ने व्यवस्था मिलाउनेतर्फ लागिरहेको सचिव गौतमले बताएका छन् । स्थानीय तहबाट नै यो कार्य गर्न सकेको खण्डमा काठमाडौं नै आउनु पर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

एक अर्को सन्दर्भमा वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित बनाउनेतर्फ पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यसतर्फ लाग्न सचिव गौतमले आग्रह गरेका छन् । कोरोनाको महामारीको समयमा पनि ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको भन्दै अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने यो क्षेत्रलाई सम्मानित बनाउनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । साथै के गर्न हुने के गर्न नहुने भन्ने विषयमा वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवालाबीच आचारसंहित निर्माण गर्नु पर्ने आवश्यक देखिएको पनि सचिव गौतमको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले श्रमिकलाई सुरक्षित बनाउनेतर्फ लाग्नु पर्ने बताएका छन् । विदेशमा कसरी सुरक्षित हुने, समस्या पर्दा के कसरी समाधान गर्ने भन्ने विषयमा सबै लाग्नु पर्ने उनले बताए । श्रमिकका मानव अधिकार हनन्का विषयमा मानव अधिकार आयोगले काम गरिरहेको भन्दै नियमहरू बनेका र त्यसको नियमन गरिने पनि अध्यक्ष मगरले बताए । विदेशमा रहेका नेपालीको सुरक्षाबारे सबै पक्षले ध्यान दिन जरुरी रहेको अध्यक्ष मगरले आग्रह गरे । श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीका बारेमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुसूचित गराउन सकियो भने आधा समस्या हल हुनेसमेत बताएका छन् ।

वैदेशिक रोजगार बाध्यता : महासचिव श्रेष्ठ
कार्यक्रममा बोल्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बाध्यताबश वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था रहेको बताएका छन् । नेपालमा रोजगारी पाउन नसक्ने अवस्थामा नेपाली युवा बाध्यताले विदेश जानु परेको उनले बताए । वार्षिक करिब ५ लाख युवा श्रम बजारमा आउने भन्दै उनीहरूमध्ये नेपालमा एक लाखको हाराहारीले मात्रै रोजगारी प्राप्त गर्न सक्ने र अन्य युवाहरू विदेशिनु पर्ने बाध्ता रहेको उनले बताए । वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने नभएको भन्दै विदेशबाट फर्केकाहरूसमेत नेपालमा नै बस्ने वातावरण नरहेको उनले बताए ।

विदेशबाट फर्केर केही गर्न खोज्दा पनि समस्या भएपछि पुनः विदेश नै जानु पर्ने बाध्यता रहेको महासचिव श्रेष्ठले बताएका छन् । विदेशमा नेपालीले श्रम नभएर सीप बिक्री गरेको उनले दाबी गरे । पत्रकारहरूले वैदेशिक रोजगारमा देखिएका सकारात्मक र नकारात्मक दुवै पक्षको उजागर गर्नु पर्ने उनले बताए । वैदेशिक रोजगारले समाजमा पु¥याएको योगदानको विषयमा पनि कलम चलाउन उनले आग्रह गरेका छन् । वैदेशिक रोजगारी अहिले बाध्यात्मक भएको भन्दै यसलाई स्वेच्छिक बनाउनेतर्फ सबैले ध्यान दिनु पर्ने उनले बताए । श्रमिकको हक र हितका लाग काम गर्न स्थापना गरिएको वैदेशिक रोजगार बोर्ड काम गर्न नसकेको भन्दै त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनको तर्क थियो । धेरै श्रमिक पठाउनेभन्दा पनि दक्ष जनशक्ति पठाउनेतर्फ ध्यान दिनु पर्ने र यसबाट राज्यलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

यता नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारसँग जोडिएकाहरू सुरक्षित हुन नसकेको भन्दै चुनौतीका बीचबाट काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । यो क्षेत्रमा संलग्नहरूलाई सुरक्षित बनाउनु पर्ने उनले बताए । नेपालमा भएका राम्रा नीति नियमहरूको प्रचारप्रसार गर्न नसकिएको भन्दै त्यसतर्फ पनि ध्यान दिन उनले वैदेशिक रोजगार पत्रकार समाजलाई अनुरोध गरे ।

समाजको अध्यक्षमा भट्टराई
यसैबीच, वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभाबाट भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्ष इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भुल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर सर्वसम्मत रूपमा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अरिष्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईँ चयन भएका छन् । सो अवसरमा समाजद्वारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन’ समेत विमोचन गरिएको थियो ।

Published On: Time : 3:32:24  

तपाईको प्रतिक्रिया