तोरी खायो मौरीलेप्रति आपत्ति


काठमाडौं– मौरीपालक महासंघले ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतप्रति असहमति जनाएको छ । कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा हालै सार्वजनिक भएको ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतमा प्रयोग गरिएको शब्द ‘तोरी खायो मौरीले’प्रति महासंघले आपत्ति जनाएको हो । मौरीले तोरी नखाने स्पष्ट पार्दै महासंघले उक्त शब्दले मौरीपालक किसानलाई दुखित तुल्याउनुका साथै अन्योल सिर्जना गरेको ठहर गरेको छ ।

महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उक्त गीत हटाउन माग गरेका छन् । मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ । ‘वैज्ञानिक तथ्यहरू र अरुको अधिकारप्रति पूर्ण खेलवाड गर्दै आफ्नो अधिकार उपयोग गर्ने नाममा भ्रामक साथै पागल बहुलठ्ठीपन प्रयोग गरी यस्ता गीतहरू सम्प्रेषित र प्रकाशित गर्ने कमला घिमिरेप्रति खेद व्यक्त गर्दै नेपाल सरकारले हदैसम्मको कानुनी कारबाही गर्न यसै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त गीत तत्काल बन्द गर्न महासंघले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘तोरी उत्पादनमा मौरी विचरण–चरण गर्दा ३० प्रतिशतभन्दा बढी उत्पादनमा वृद्धि भएको प्रयोगात्मक तथ्य जानकारी गराउँदै प्रेस जगतलाई यस्ता आधारहीन प्रसंग समेटी गरिने जीव समाचारहरूलाई निरत्साहित गर्न अनुरोध गर्छौँ ।’

शुभारम्भ डिजिटल म्युजिकले ल्याएको यो गीत दुई महिना अगाडि नै युट्युवमा सार्वजनिक भएको हो । अहिलेसम्म गीतले ३६ लाखभन्दा बढी भ्यूज पाएको छ भने तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । यो गीत मौरी खेतीसँग सम्बन्धित भने छैन । तर, गीतमा प्रयोग गरिएको शब्दले मौरी पालन किसानहरूको भावनामा ठेस पुगेको अध्यक्ष पौडेलले बताएका छन् ।

Published On: Time : 3:16:28  

तपाईको प्रतिक्रिया