इजरायल भाषा परीक्षाः ६ सय ९२ जना अनुपस्थित


काठमाडौं– वैदेशिक रोजगार विभागले सञ्चालन गरेको इजरायल भाषा परीक्षामा ६ सय ९२ जना अनुपस्थित भएका छन् । सोमबार सञ्चालन गरिएको परीक्षामा उनीहरु अनुपस्थित रहेको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए ।

आवेदन दिएका ९ हजार ६ सय ९९ जनाको आवेदन परेको, त्यसमध्ये ७ हजार ९ जनाको आवेदन स्वीकृत भएको र सोमबारको परीक्षामा ६ सय ९२ जना परीक्षार्थी अनुपस्थित रहेको विभागले जनाएको छ । आवेदन स्वीकृत भएकामध्ये प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ जना महिला रहेको निर्देशक सुनुवारले बताएका छन् । सोमबारको भाषा परीक्षा तीन तहको सुरक्षा घेरामा सम्पन्न गरिएको र उत्तरपुस्तिका चिकित्सा शिक्षा आयोग सानोठिमीको जिम्मा लगाएको निर्देशक सुनुवारले बताए ।

सोमबार सम्पन्न परीक्षाको नजिता २ देखि ५ दिनभित्र प्रकाशन गरिने विभागले जनाएको छ । लिखित परीक्षाको नतिजा प्रकाशन गरेपछि अन्तर्वार्ता लिई असोजको दोस्रो सातासम्म त्यसको पनि नतिजा सार्वजनिक गरिने बताइएको छ । सबै प्रक्रिया पूरा गरेर एक हजार ४ सय जनाको अन्तिम नामावाली सार्वजनिक गरिने निर्देशक सुनुवारले बताए । अन्तिम सूचीमा परेका ४ सय जना भने इजरायल जान नपाउने विभागले यसअघि नै बताइसकेको छ । लिखित परीक्षामा भने १ हजार ६ सय ८० जना उत्तीर्ण हुने बताइएको छ ।

भाषा परीक्षामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रोजगारीका लागि जान पाउने विभागले जनाएको छ । जसअनुसार ७ सय महिला र ३ सय जना पुरुष इजरायल जान पाउने बताइएको छ । ४ सय जना भने नाम निकाले पनि इजरायल जानबाट वञ्चित हुने विभागले जनाएको छ ।

Published On: Time : 3:24:39  

तपाईको प्रतिक्रिया