खुल्न थाले संग्रहालय


काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर केही कम भएसँगै उपत्यकामा रहेका संग्रहालयहरू खुल्न थालेका छन् । गत १६ वैशाखदेखि बन्द गरिएका ती संग्रहालयहरू कोरोना संक्रमणको जोखिम कम भएकाले सर्वसाधारणका लागि खुला गरिन थालिएका हुन् । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञासमेत खुकुलो पारिएपछि व्यवस्थापन समितिले उपत्यकामा रहेका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्र्रहालय खुला गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएसँगै अवलोकनकर्ताको भीड लागेको छ ।

नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मंगलबार भने आधा दिन खुला गरिने गरेको संग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिएका छन् । त्यस्तै, हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ ।

शुल्क विवाद
काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ । पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रूपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब १ असोजदेखि सार्क मुलुक र तेस्रो देशका नागरिकले संग्रहालय प्रवेशका लागि अतिरिक्त तीन सय रूपैयाँ तिर्नुपर्ने भएको छ ।

सम्झौता अनुसार महानगरपालिकाले प्रत्येक विदेशीलाई हनुमानढोका दरबार क्षेत्र र संग्रहालयमा प्रवेशको लागिसार्क मुलुकका नागरिकलाई १५० रूपैयाँ र सार्क बाहिरका विदेशीलाई ७५० रूपैयाँ उठाउने निर्णय भएको थियो । जसमध्ये सार्क मुलुकका नागरिकको जनही ५० रूपैयाँ र बाहिरका पर्यटकबाट उठेको रकमको जनही २५० रूपैयाँ संग्रहालयलाई दिने सहमति भएको पुरातत्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालले जानकारी दिए । पछि सार्क बाहेकका मुलुकबाट आउने पर्यटकबाट महानगरले एक हजार रूपैयाँ उठाउन थालेको थियो ।

महानगरपालिकाले पर्यटक सेवा शुल्क शीर्षकमा ११ चैत ०७६ मा लकडाउन हुनुअघि नै साढे ३ करोड रूपैयाँ तिर्न बाँकी रहेको भनेर पत्र पठाए पनि महानगरपालिकाले पैसा तिर्न अटेरी गरेको आरोप हनुमानढोका दरबार संग्रहालयले लगाएको छ । संग्रहालयको वार्षिक १० करोड आम्दानी मध्ये यो शीर्षकमा मात्रै वार्षिक पाँच करोड आम्दानी हुन्छ । यसरी बजेटको मुख्य स्रोत नै अनियमित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा बसेको समितिको बैठकले महानगरसँगको सम्झौता रद्द गर्दै आफैँले शुल्क उठाउने निर्णय गरेको खनालले बताए ।

काठमाडौं महानगरपालिकाले हनुमान ढोका संग्रहालय विकास समितिले एकलौटी निर्णय गरेर आफैँ शुल्क उठाउने निर्णय गर्नु दुःखद रहेको बताएको छ । महानगरको हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले महानगरले दिन बाँकी पैसा लकडाउनका कारण आर्थिक स्रोत कमजोर भएकोले दिन नसकेको स्पष्ट पारे । उनले संग्रहालयलाई पैसा दिने विषयमा कुराकानी भइरहेको बेलामा यसरी एकलौटी निर्णय गर्नु दुःखद रहेको बताए ।

Published On: Time : 3:30:02  

तपाईको प्रतिक्रिया