एमाले सुप इन्चार्ज : डा.रावल कि भट्ट ?


काठमाडौं– नेकपा एमालेमा तेस्रो पक्षसँग भएको १० बुँदे सहमति कार्यान्वयनको विषयमा मतभेद् कायम छ । पार्टी विभाजनमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिई एमालेमै बसेको तेस्रो धारका नेताहरूले उक्त सहमति अक्षरसः पालना हुनुपर्ने मत राखिरहेका छन् । तर, संस्थापन पक्षले भने उक्त सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताइरहेको छ । यस्तैबेला एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज डा.भीम रावल कि लेखराज भट्ट हुन् भन्ने विवाद सतहमा आएको छ ।

१० बुँदेमा एमालेको सांगठानिक संरचना २ जेठ ०७५ अघिको अवस्थामा लैजाने उल्लेख थियो । तर, पार्टीभित्र आन्तरिक संघर्ष चर्किरहेका बेला संस्थापन पक्षले आफ्नो ढंगले संगठन विस्तार र जिम्मेवारी बाँडफाँट गरेको थियो । तर, अब सांगठानिक संरचना पुरानै अवस्थामा फर्कँदा कतिपय ठाउँमा विवाद देखिएको छ । मूलतः अध्यक्ष केपी ओलीलाई नेकपा माओवादी केन्द्रबाट आएका नेताहरूलाई दिएको जिम्मेवारी खोस्न अप्ठ्यारो परिरहेको छ । विवादका बेला ओलीले वाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी रामबहादुर थापा र सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएका थिए । तर, १० बुँदे सहमति कार्यान्वयन गर्दा वाग्मतीमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिममा डा. रावल इन्चार्ज हुनेछन् । उक्त दुई प्रदेशको इन्चार्ज फेर्ने विषयमा भने ओली अनिच्छुक रहेको बताइन्छ । वाग्मतीकी साविक इन्चार्ज शाक्य हाल मुख्यमन्त्री रहेकाले खासै असन्तुष्टी व्यक्त नगरिहाले पनि सुदूरपश्चिमका रावलले भने सहमति कार्यान्वयनमा जोड दिइरहेका छन् ।

केही दिनअघि अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा डा.रावल, भट्टसहित अन्य शीर्ष नेताहरूलाई बोलाएर सुदूरपश्चिमको इन्चार्ज भट्ट नै कायम रहने भन्दै डा.रावललाई उपाध्यक्षको हैसियतमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । तर, सोही बैठकमा रावलले असहमति प्रकट गर्दै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । ‘अध्यक्ष कमरेड म माथि अन्याय हुँदै छ, अन्य सबै ठाउँमा सहमति कार्यान्वयन हुँदा मेरो हकमा मात्र लागू नहुनु पर्ने कारण के हो ?’ उनले ओलीसँग प्रश्न गरेका थिए । जवाफमा ओलीले हिजोका साथीहरूलाई पनि जिम्मेवारीविहीन बनाउने कुरा न्यायोचित नहुने बताए । बैठकपछि असन्तुष्ट बनेका उपाध्यक्ष डा.रावलले आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । अध्यक्ष ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका तेस्रो धारका नेताहरू पछिल्लो समय असन्तुष्ट बन्दै गएका छन् । यद्यपि सार्वजनिक रूपमा अधिकाशंले अहिलेसम्म मुख खोलिसकेका छैनन् ।

इन्चार्ज मै हुँ : भट्ट
एमाले स्थायी कमिटी सदस्य भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको बताएका छन् । पार्टी उपाध्यक्ष भिम रावलसँग आफ्नो कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे । प्रेस चौतारी कञ्चनपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमाले अध्यक्ष ओलीले आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको उल्लेख गरे । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्षले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा डा.रावलले सहजीकरण कार्यदलको नेतृत्व गर्न भन्नु भएको हो,’ भट्टले भने, ‘हामीले त पार्टी अध्यक्ष र कमिटीले गरेको निर्णय मान्ने हो ।’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै भट्टले एमालेमा २ जेठ हुबहु लागू हुन नसक्नेसमेत दाबी गरे । ‘जेठ २ हुबहु हुनुपर्छ भन्ने उहाँको माग थियो, तर एकीकरणको भावना समेटेर लैजानु पर्छ, जेठ २ हुबहु हुन सक्दैन भन्ने अध्यक्षको भनाइ छ । अहिले कार्य विभाजनको प्रश्न हो,’ भट्टले भने ।

उनले उपाध्यक्ष डा.रावल र आफूबीचमा कुनै मतभेद अथवा भिन्न मत नभएको भन्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । सद्भावपूर्ण व्यवहारका साथ र एक–अर्कालाई बुझेर सहकार्य गरेर जाने उनको भनाइ छ । एमाले सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला भट्टले सो प्रष्टोक्ति दिएका हुन् ।

त्याग गर्न तयार छुः रावल
उपाध्यक्ष डा. रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार धनगढी एमालेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले रक्षाका लागि आफू पछि हट्न पनि तयार भएको बताएका हुन् । ‘मलाई नेकपा एमालेको रक्षाका लागि कसैले पछि हट्दिनुहोस् भने जुनसुकै त्याग गर्न पनि तयार छु,’ उनले भने ‘एमाले बचाउनका लागि म मात्र हैन, सबै कार्यकर्ताले त्याग गर्न तयार हुनु पर्दछ ।’

‘१० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ, सबै पार्टी कमिटी २ जेठमा फर्किनु पर्छ,’ उनले भने ‘एकता प्रक्रियामा माओवादीबाट आउनु भएकाहरूलाई सम्मानजनक स्थान लिने कुरामा दुईमत छैन ।’
भट्ट र डा.रावलको पछिल्लो अभिव्यक्तिले एमालेमा १० बुँदेको हुबहु कार्यान्वयन नहुने प्रष्ट भएको छ । उपाध्यक्ष रावलले आफूले सुदुरपश्चिमको इन्चार्ज पद नपाउने लगभग बुझेका छन् । यद्यपि ओलीको यो निर्णयमा उनको चित्त दुखाइ भने प्रष्ट भएको छ । पछिल्लो समय पार्टीमा भूमिकाविहीन बनाइएका नेताहरूले फेरि एमालेबाट विद्रोह गर्न सक्ने संभावना रहेको पनि जानकारहरूको भनाइ छ ।

पाण्डे र भट्टले एस रोज्न पाउने
सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो । पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी ८ भदौमा निर्वाचन आयोगमा निवदेन दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न÷नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।

Published On: Time : 3:41:57  

तपाईको प्रतिक्रिया