इजरायल भाषा परीक्षाः २ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण


काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि सञ्चालन गरेको परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । सोमबार सम्पन्न परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको र १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष उत्तीर्ण भएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो ।

इजरायलको रोजगारीका लागि आवेदन दिएका ९ हजार ६ सयस ९९ जनामध्ये ७ हजार ९ जनाको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । उनीहरूमध्ये सोमबारको परीक्षामा ६ हजार ३ सय १७ जना परीक्षार्थी सहभागि भएको विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञावालीले बताएका छन् । परीक्षामा सहभागीमध्ये ४ हजार २ सय ७९ जना अनुत्तीर्ण भएको विभागले जनाएको छ । आकर्षक गन्तव्यका रूपमा हेरिएको इजरायलका लागि मागभन्दा धेरैले आवेदन आएको विभागले जनाएको छ ।

भाषा परीषा पास गरेकामध्ये १ हजार जना मात्रै रोजगारीका लागि इजरायल जान पाउने विभागले यस अघि नै जानकारी गराइसकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएकामध्ये मौखिक परीक्षाबाट १ हजार ४ सय जनाको नाम इजरायल पठाइने सूचना अधिकारी ज्ञावालीले बताएका छन् । त्यसमध्ये १ हजार जनाले मात्रै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लाग जान पाउने उनले बताए ।

मंगलबार लिखित परीक्षामा पास भएकाहरूको १ असोजदेखि उचाइँ र तौल परीक्षण तथा अन्तर्वार्ता गरिने बताइएको छ । उचाइँ र तौल तथा मौखिक परीक्षा भैँसेपाटीमा रहेको व्यवसायिक सीप विकास प्रतिष्ठानमा सञ्चालन गरिने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूले उचाइँ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन आउँदा दरखास्त फाराम पेस गर्दा अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घन्टाअघि नै उपस्थित हुनु पर्ने विभागले जारी गरेको सूचनामा भनिएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको उचाइँ र तौल मापदण्डअनुसार नभएको खण्डमा अन्तर्वार्तामा सहभागी हुन नपाउने विभागले जनाएको छ । यसैगरी, तोकिएको शैक्षिक योग्यता, तालिमको प्रमाण पत्र एवं अनलाइन दरखास्तका साथ पेस गरिएका कागजातहरू प्रमाणित नभएमा लिखित परीक्षामा उत्तीर्ण भएको भए पनि उसको दरखास्त हुने सूचनामा भनिएको छ । विभागका अनुसार असोज १, २ र ३ गते उचाइँ र तौल परीक्षण हुने र ४ र ९ असोजसम्म अन्तर्वार्ताको मिति तोकिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

Published On: Time : 3:44:39  

तपाईको प्रतिक्रिया