पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु


काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरूको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरू सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरू तथा सडक एवं पुलहरूको कार्य हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरू सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । यसका साथै, सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माण सम्बन्धी कार्यहरू पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्याम किशोर सिंहले उक्त बाँकी कार्यहरू सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरू पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरू सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरूको पुनर्निर्माण सम्बन्धी कार्यहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरूमा हस्तान्तरण गरिएको छ ।
यी बाँकी रहेका कार्यहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कूल संरचनाहरूमध्ये मूलभूत रूपमा प्रायः सम्पूर्ण कार्यहरू सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माण सम्बन्धी मार्गचित्र सहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरू हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । साथै, लेखा परीक्षणका अतिरिक्त हस्तान्तरण गर्ने कामहरूको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरू पनि सम्पादन गर्नेछ ।

Published On: Time : 3:36:37  

तपाईको प्रतिक्रिया