कोरोना प्रभाव : निको हुने दर कुवेतमा धेरै


काठमाडौं– वैदेशिक रोजगारीको गन्तव्य मुलुकहरूमध्ये पछिल्लो समय कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या कुवेतमा सबैभन्दा धेरै र मलेसियामा सबैभन्दा कम रहेको देखाएको छ । विश्वभरको कोरोनाको तथ्यांक सार्वजनिक गर्ने निकाय वल्ड्रोमिटरको तथ्यांकअनुसार कुवेतमा कोरोना संक्रमणमुक्त हुने ९९.१४ प्रतिशत रहेको र मलेसियामा ८७.७२ प्रतिशत रहेको तथ्यांकले देखाएको हो ।

नेपालीको श्रम गन्तव्य मुलुकमध्येको कुवेतमा संक्रिय संक्रमितको संख्यासमेत सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । जहाँ संक्रिय संक्रमितको संख्या १ हजार ७१ जना रहेको छ । ४ लाख १० हजार ९ सय १ जनामा संक्रम पुष्टि भएको कुवेतमा ४ लाख ७ हजार ३ सय ९६ जना निको भएको तथ्यांकले देखाएको छ । कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ३४ जना रहेको बताइएको छ ।
त्यस्तै संक्रिय संक्रमितको संख्या धेरै हुने मुलुकमा मलेसियामा नै अगाडि रहेको देखिएको छ ।

हालसम्म मलेसियामा २० लाख ११ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ लाख ६४ हजार ५ सय ७६ जना निको भएका छन् भने २ लाख २५ हजार २ सय ७७ जना संक्रिय संक्रमित रहेको बताइएको छ । मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ५ सय ८७ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । अहिले पनि मलेसियामा कोरोनाका कारण नेपाली श्रमिक जान रोक लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो विषय मलेसियाले नै बन्द गरेकाले खुल्ने विषयमा अहिले नै एकिन भन्न नसकिने विभागले जनाएको छ ।

त्यस्तै नेपालीहरूको अर्को मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा भने कोरोना संक्रमण मुक्त हुनेको संख्या ९७.९९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ५ लाख ४६ हजार १ सय ६३ जना मध्ये ५ लाख ३५ हजार १ सय ९० जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । साउदीमा अहिले दैनिक मृत्यु हुनेको संख्या ५–६ जना रहेको तथ्यांकमा देखिएको छ । साउदीमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४० जना रहेको बताइएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३३ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । साउदीमा अहिले पनि मान्यता दिएको कोरोनाको खोप लगाएको व्यक्ति जान सक्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै अर्को श्रम गन्तव्य मुलुक कतारमा पनि कोरोना संक्रमणमुक्त हुनेको संख्या ९८.९५ प्रतिशत रहेको देखिएको छ । कतारमा २ लाख ३४ हजार ८ सय ९५ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख ३२ हजार ४ सय ५२ जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । अहिले कतारमा संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ६६ जना रहेको तथ्यांकले देखाएको छ । कतारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ४ जना रहेको छ । जुन नेपालीको श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा कम संख्या हो । पछिल्लो समय कोरोनाका कारण कतारमा मृत्यु हुनेको संख्या शून्य रहेको छ । कतारमा पछिल्लो समय ७ सेप्टेम्बरमा एक जनाको मृत्यु भएको थियो भने त्यसपछि कुनै पनि व्यक्तिको मृत्यु नभएको तथ्यांकले देखाएको छ ।

यता युएईमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९८.७९ प्रतिशत रहेको बताइएको छ । युएईमा संक्रमण पुष्टि भएको ७ लाख ३० हजार १ सय ३५ जनामध्ये ७ लाख २१ हजार ३ सय ६७ जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । युएईमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६६ जना रहेको छ । अहिले त्यहाँ संक्रिय संक्रमितको संख्या ६ हजार ७ सय २ जना रहेको तथ्यांकले देखाएको छ । अर्को श्रम गन्तव्य मुलुक ओमानमा संक्रमण मुक्त हुनेको संख्या ९६.७६ प्रतिशत रहेको देखिएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ३ लाख ३ हजार २ सय २३ जनामध्ये २ लाख ९३ हजार ४ सय १४ जना संक्रमण मुक्त भएको बताइएको छ । ओमानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ९० जना रहेको र संक्रिय संक्रमितिको संख्या ५ हजार ७ सय १९ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ ।

यता रोजगारीको आकर्षक गन्तव्यका रूपमा हेरिएको र सोमबार मात्रै भाषा परीक्षासमेत सञ्चालन गरिएको इजरायलमा भने कोरोनाबाट निको हुनेको संख्या ९२.२५ प्रतिशत रहेको बताइएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ११ लाख ९४ हजार ७ सय ८३ जनामध्ये ११ लाख २ हजार २ सय ६३ जना संक्रमणमुक्त भएको तथ्यांकले देखाएको छ । इजरायलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ३८ जना रहेको बताइएको छ । हाल इजरायलमा संक्रिय संक्रमितको संख्या ८५ हजार ८२ जना रहेको देखिएको छ । इजरायलको दीर्घकालीन सेवामा रोजगारीका लागि सञ्चालन गरिएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । उनीहरूमध्ये १ हजार जना रोजगारीका लागि इजरायल जान पाउने बताइएको छ ।

Published On: Time : 3:38:59  

तपाईको प्रतिक्रिया